मन्त्रालयबाट बिदा लिँदै गृहमन्त्री अर्यालले भने - 'निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि' 

नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारीका बीच उनले पदबाट बिदा लिएका हुन् ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Home Minister Aryal, while taking leave from the ministry, said - 'Concluding the elections is the main achievement'

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदा भएका छन् । 

नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारीका बीच उनले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा  योजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको स्मरण गरे । उनले आफ्नो कार्यकालमा शान्ति सुरक्षाको सामान्यीकरण, सुशासनको सुदृढीकरण र स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गर्नु नै मुख्य उपलब्धि रहेको बताए ।

'निर्वाचन हुने वा नहुने भन्ने आशंकाबीच हामीले प्रशासनिक समन्वय र सुरक्षा तयारीमार्फत निर्धारित समयमै रक्तपातविहीन निर्वाचन सम्पन्न गर्यौं,' मन्त्री अर्यालले भने, 'यसबाट संविधान सही बाटोमा आएको छ र यसको सम्पूर्ण श्रेय आम नागरिक, सुरक्षाकर्मी र कर्मचारीको सामूहिक प्रयासलाई जान्छ ।' 

उनले आफ्नो कार्यकालमा भएका मुख्य कार्यहरूलाई मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले जेन–जी आन्दोलनका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको, घाइतेहरूको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको र आन्दोलनमा क्षतिग्रस्त भएका ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सुचारु गरिएको जानकारी दिए ।

समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले मन्त्री अर्यालको नेतृत्वमा मन्त्रालयले छोटो अवधिमा २ दर्जनभन्दा बढी कानुन तर्जुमा तथा परिमार्जन गर्न सफल भएको र सुरक्षा निकायको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको कार्यशैलीको प्रशंसा गरे । 

मन्त्री अर्याल २०८२ भाद्र ३० गते गृहमन्त्री नियुक्त भएका थिए । 

कान्तिपुर

Link copied successfully