छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगायतका मुलुकका नागरिकसमेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् ।
What you should know
काठमाडौँ — एक वर्षमा ४ लाखभन्दा बढी आँखाका बिरामीको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आबद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको हो ।
संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले संघद्वारा नेपाल सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क उपचार गरिएको जानकारी दिए । उनका अनुसार सन् २०२५ मा संघको सञ्जालमार्फत ३३ लाख ७८ हजार ४२ जना आँखाका बिरामीको आँखा परीक्षण गरी २ लाख ६६ हजार ४०१ जनाको शल्यक्रिया गरिएको छ ।
'सन् २०२५ मा संघद्वारा सञ्चालित आँखा अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत २५ हजार ५ सय ६५ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको छ,' मिश्रले भने ।
संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघ अन्तर्गतका अस्पतालले प्रवाह गर्ने सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगायतका मुलुकका नागरिकसमेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् । सन् २०२५ मा मात्र संघको सञ्जालमार्फत ९ लाख ११ हजार ९८० जना अन्य देशका नागरिकको आँखा उपचार गरिएको उनले बताए । 'त्यसमा १ लाख ५३ हजार ८६ बिरामीहरुको शल्यक्रिया गरिएको छ । यसमा अधिकांश भारतीय नागरिकहरु छन्,' उनले भने ।
नेपालमा उपलब्ध उच्चस्तरीय आँखा उपचार सेवाका कारण विदेशी नागरिकहरू समेत उपचारका लागि नेपाल आउने क्रम निरन्तर बढिरहेको उनको भनाइ छ ।
संघका अध्यक्ष प्राडा चेजराज पन्तले नेपालमा आँखा उपचारका क्षेत्रमा धेरै विकास भए तापनि अझै पनि धेरै नेपाली आँखा उपचारसम्बन्धी जनचेतनाको अभावमा उपचारबाट वञ्चित रहेको बताए । उनका अनुसार नेपालका ७ वटै प्रदेशलाई समेट्ने गरी सन् २०२१ मा गरिएको आरएएबी सर्वेले समेत आँखा उपचारसम्बन्धी जनचेतनाका अभावमा सबैभन्दा बढी नागरिकहरु आँखा उपचार सेवाबाट वञ्चित रहेको देखाएको छ ।
