प्रधानमन्त्री कार्की भोलि (१३ चैतमा) बिदा हुँदैछिन् ।
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले असहज अवस्थालाई सामान्यकरण गर्दै निर्वाचन सम्पन्न गर्नु आफू नेतृत्वको सरकारको सफलता भएको बताएकी छन् ।
बिहीबार साँझ राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै आफू केही सन्तुष्टि र धेरै आशाका साथ बिदा हुन लागेको बताइन् ।
युवा नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेन-जी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएको उनको भनाइ छ । उनले यसका लागि सरकारको पूर्ण सफलताको कामना समेत गरेकी छन् ।
‘६ महिने अवधि रहेको चुनावी सरकारले जेन-जी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन । तर, हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ । जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायहरूलाई पूर्ण व्यवसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गर्यौँ । परिणामस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका प्रकरणहरूमा मुद्दा अघि बढाएका छन् । ठेका लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्ने जस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रुपमा कठोर कदम चालेको छ,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्की भोलि (१३ चैतमा) बिदा हुँदै छिन् । भोलि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिनेछन् ।
