राप्ती नगरपालिका, चितवनको वडा नम्बर १३ का कुनै पनि घरमा अहिलेसम्म बत्ती बलेको छैन । बिजुली बाल्नका लागि पोलहरू ठाउँ-ठाउँमा पुगेका छन् । कतै पोल ठडिएका छन् तर तार टाँग्न बाँकी छ, कतै तार पनि टाँगेको देखिन्छ ।
What you should know
चितवन — आइतबहादुर प्रजा चेपाङको घरमा अहिलेसम्म बिजुली बलेको छैन । उनले घरमा बिजुली बाल्नका लागि वायरिङसमेत गरेका छैनन् । चितवनको उत्तरी पहाडी भेग राप्ती नगरपालिका–१३ लोथरको कालीटारनजिक छ उनको घर । नगरपालिकामा पर्ने भए पनि यो ठाउँमा बिजुली नबल्ने उनको घर मात्रै छैन । राप्ती–१३ को कुनै पनि घरमा बिजुली बत्ती बल्दैन ।
जम्मा १३ वटा वडा रहेको राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ पहाडी भेगमा पर्छन् । पहाडी भेगका यी वडाहरूमध्ये अन्यमा आंशिक रूपमा नै भए पनि बिजुली बलेको छ । तर वडा नम्बर १३ का कुनै पनि घरमा अहिलेसम्म बत्ती बलेको छैन । बिजुली बाल्नका लागि पोलहरू ठाउँ-ठाउँमा पुगेका छन् । कतै पोल ठडिएका छन् तर तार टाँग्न बाँकी छ, कतै तार पनि टाँगेको देखिन्छ ।
कतै पोल पुगे पनि गाड्न बाँकी छ । बारी र कान्लामा पोल असरल्ल परेको देखिन्छ । ‘बत्ती बाल्न हामी आतुर छौं । तर खै कसको कारणले हो बाल्न पाइरहेका छैनौं । अलि पैसा हुनेले कतै कतै सोलार बालेका छन् । नभए टुकी बाल्छन् । कसैले टुकी हैन अगेनाको भुङ्ग्रोले नै निर्वाह गर्दछन्,’ आइतबहादुरले भने ।
रामकुमार चेपाङ बिजुली बल्ने आशामा तीन घण्टा पोल बोकेर गाउँ उक्लिएका थिए । ‘गाडी चल्दैन । हामी हिँड्ने बाटो साह्रै अप्ठ्यारो छ । भारी बोकेर एक जना हिँड्न मिल्ने बाटोमा दुई तीन जनाले पोल बोक्दा गाह्रो भयो । हामी माथिको गाउँकाले चार पाँच घण्टा पोल बोके । कहिले गाड्ने हो, पोल गाडेपछि तार राखेपछि बिजुली बल्ला,’ राप्ती–१३ कान्दाका ३२ वर्षीय रामकुमारले भने । उनले चुनाव पहिल्यै पोल ल्याएको बताए । बिजुली बले घरै झलमल्ल हुने आशामा बसेको उनले सुनाए ।
‘बिजुली आए धेरै काम गर्न पाइन्छ भन्छन तर अरु के काम गर्ने होला र ? उही बत्ती बाले घर रातमा पनि दिनमा झैँ झलमल होला भन्ने लाग्छ,’ रामकुमारले भने ।
राप्ती–१३ कुमीटारका हरिलाल चेपाङको घर आडमा पोल पुगेको छ तर तार टाँग्न बाँकी छ । वर्ष दिन हुँदा पनि तार नपुगेका कारण बत्ती झट्टै बल्ला भन्ने आशा उनलाई छैन । यो क्षेत्रमा बिजुली बाल्ने प्रयास सुरु भएको तीन वर्ष हुन लाग्यो ।
राप्ती–१३ को वडा कार्यालय रहेको कालीटारसम्म पोल गाडेर, तार टाँगेर ट्रान्सफर्मर राखेर एक दिन झिलिक्क बत्ती बलेको पनि थियो । ‘सांसद हरि ढकाल आएर बत्ती बालेको देखेको हो । उही त्यही वडा कार्यालय छेउको पोलमा बत्ती थियो । त्यो बत्ती एक दुई दिन कति बल्यो कुन्नि ? अहिले त पोलमा खिइएको होल्डर मात्रै छ,’ हरिलालले भने । हरि ढकालले यसरी बत्ती बालेको पनि दुई वर्ष भयो ।
नेपाल विद्युत् प्राधिकरणको रत्ननगर टाँडीमा रहेको वितरण केन्द्रका प्रमुख प्रितमराज विष्टले गएको असोजमा नै राप्ती नगरपालिकाको पहाडी भेगमा विद्युतीकरणको काम सकिनु पर्ने बताए । ‘तर ढिलासुस्ती भयो । पोल पुगे पनि तार नभएका कारण काम पूरा हुन सकेन । म मंसिरमा आएको हुँ । म आएपछि काम गर्न ताकेता गरेको छु । सबैभन्दा पहिला तारको प्रबन्ध गर्नु पर्ने छ,’ विष्टले भने ।
सो क्षेत्रका लागि झन्डै ८० किलोमिटर तार आवश्यक पर्दछ । तर निकै काम मात्र तार उपलब्ध छ । ‘थप तारको लागि माथिल्लो निकायमा भनेको छु । यता उता गरेर १० किलो मिटर जति तार निकाले भने काम अगाडि बढ्छ,’ उनले भने । तारका साथै भरपर्दो विद्युत् सेवाका लागि उपयुक्त ट्रान्सफरमर पनि व्यवस्था गर्न लागेको उनले बताए । सकेसम्म छिट्टै बिजुली बाल्ने उनको भनाइ छ ।
राप्तीको १३ नम्बर वडामा छिट्टै नै कम्तीमा वडा कार्यालय र त्यस आडको कालीटार विद्यालयमा बिजुली बाल्ने योजना बनाएको उनले बताए । राप्ती–१३ का वडाध्यक्ष अशोक प्रजा चेपाङले चुनावअघि नै बिजुली बाल्ने गरेर सम्बन्धित ठेकेदार र विद्युत् कार्यालयलाई आफूले ताकेता गरे पनि सम्भव नभएको सुनाए ।
राप्ती नगरपालिकाको पहाडी भेगमा अति सीमान्त वर्गमा पर्ने आदिवासी चेपाङ समुदायको बाक्लो बसोबास छ । वडा नम्बर १३ मा प्राय:जसो चेपाङहरू मात्रै बसोबास गर्दछन् । २०७८ सालको जनगणनाअनुसार वडा नम्बर १३ मा ६४७ घरधुरी रहेको वडाध्यक्ष अशोक चेपाङले बताए । ‘अहिलेसम्म कुनै पनि घरमा बिजुली बत्ती बल्दैन । म काम चाँडै गराउने प्रयासमा छु,’ उनले भने ।
