वसन्त ऋतुको आगमनसँगै भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, मलेसिया र इन्डोनेसियाबाट नेपाल आउन थाले चरा
What you should know
लुम्बिनी — वसन्त ऋतुका फूल र पालुवामा नलोभिने को होला ? जाडो हटेर गर्मी यामको सुरुवातमा गाउँघर र वनपाखा जताततै हरियाली, रंगीन फूल र पालुवा देखिन्छन् । यस्तो मनमोहक वातावरणमा कोइली चरीले संगीत भर्छ । तराई होस् या पहाड, बगान होस् या वन, कोइलीको कुहुँ–कुहुँले मन चोर्छ । वसन्त ऋतुको सुरुवातसँगै मानवलाई मोहित तुल्याउने तीन प्रजातिका आगन्तुक कोइली चरा अहिले बस्ती र आसपास आवाज दिइरहेका छन् । झट्ट हेर्दा आकर्षक नलागे पनि यिनको कोकिलकण्ठे आवाजले वातावरणलाई मनोरम र आल्हादित तुल्याउने गरेको छ ।
चराविद्का अनुसार यी बचेरा हुर्काउन यतिबेला नेपाल आएका हुन् । अझै धेरै चरा आउने क्रम जारी छ । नेपालमा पाइने कोइलीका २० मध्ये १६ प्रजाति गर्मीयामका पाहुना चरा हुन् । सबैभन्दा पहिले फेब्रुअरी अन्त्यतिर कटुसटाउके मुरली चरा नेपाल भित्रिएको चराविद् हेमसागर बरालले बताए । उनका अनुसार नेपाल आएर चितवन निकुञ्जमा मुरलीचरा रमाउँदै गर्दा पूर्वी नवलपरासीको कावासोतीस्थित सामुदायिक वनमा स्वर्गचरी आइपुगेको उनले बताए । थाइल्यान्डबाट आएका निलपुच्छ्रे मुरलीचरा लुम्बिनी उपवनमा रमाउन थालेका छन् । कटुसटाउके र निलपुच्छ्रे मुरलीचरा म्यान्मार र बंगलादेशको सीमा हुँदै बंगालको खाडीबाट धरान भएर नेपाल भित्रिएका हुन् ।
अहिलेसम्म ५० प्रजातिका ग्रीष्मकालीन पाहुना चरा आइसकेका छन् । गाँजले सुनचरी, सुन्तले चाँचर, राजचरी, जलकुखुरा र चित्रक पिट्टा आइसकेका छन् । गाजले पिट्टा, लालचुच्चे ठेउवा, रानी चरी, ठिमाहा फ्यालफ्याले, कस्तुरा चाँचर र कागठुँडे चिबे पनि पुगिसकेका छन् । ‘प्रायः सबै बचेरा कोरलेर हुर्काउन आउँछन्,’ बरालले भने, ‘ग्रीष्मकालीन पाहुना चरा आएर सबैभन्दा पहिले यहाँको वातावरण बुझ्छन् । त्यसपछि सुरक्षाको जोखिम बुझ्दै गुँड लगाउने ठाउँ, खानपान र आहार–विहार लगायतका कुरा हेरेर बच्चा हुर्काउने स्थान रोज्छन् ।’ रुख, नदी–खोलाका किनार र खेतवारीमा गुँड लगाउँछन् । वसन्त ऋतुको आगमनसँगै भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, मलेसिया र इन्डोनेसियासम्मबाट चरा आउने गरेको उनले बताए ।
बरालका अनुसार यी चरा ४/५ दिनदेखि साता–दस दिनसम्म उडान भरेर आउने गरेका छन् । बच्चा हुर्काएपछि जहाँबाट आएका हुन्, उतै फर्किन्छन् । कोइली प्रजाति र लालचुच्चे ठेउवा दक्षिण–पूर्वी एसियाका मुलुकबाट आउने गरेका हुन् । ‘नेपाल आएर चराले गुँडका लागि ठाउँ खोज्न थालिसके,’ चराविद् हठन चौधरीले भने, ‘छनोट गरेको ठाउँमा खरपात, घुरपात राख्ने चाँजोपाँजो मिलाउँदै छन् । जंगलमा नयाँ पालुवा र प्रशस्त चराका चिरबिर सुरु भइसकेका छन् ।’ चराको चिरबिराहटले वनपाखामा रोमाञ्चकता थपिएको चराबिद बताउँछन् । गाँजले सुनचरी, सुन्तले चाँचर र राजचरीले चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी वन क्षेत्रमा गुँड लगाउन थालेको चौधरीले बताए ।
चरालाई गुँड बनाउन ३ साता जति लाग्छ । एक महिना जति ओथारो बसेर बच्चा कोरल्छन् । दुई–ढाई महिनामा हुर्काएर भाद्र अन्तिमदेखि असोजसम्म उडाएर लैजान्छन् । चराबिदका अनुसार हिउँदमा उत्तरबाट नेपाल आएका चरा उतै फर्केपछि गृष्ममा दक्षिणबाट चरा आउने गर्छन् । नेपालमा पाइने २० प्रजातिका कोइलीमध्ये १६ प्रजातिले गुँड नबनाई अरूका गुँडमा फुल पारेर बच्चा हुर्काउने काम समेत अरूलाई नै सुम्पने गर्छन् ।
अन्य चराले आफ्नासँगै कोइलीका बचेरा पनि हुर्काइदिने गरेको चराविद् डीबी चौधरीले बताए । कोइली प्रजातिका हरित मालकौवा, न्याउरी मालकौवा र ढोडे गोकुल र सानो गोकुलले मात्र आफैँले गुँड बनाउँछन् । यीमध्ये सानो गोकुल चाहिँ बाहिरबाट आउने चरा हो । अरूका गुँडमा फुल पार्ने १६ प्रजातिका कोइलीमध्ये गोल मिसल नेपालको रैथाने हो भने अरू सबै बाहिरबाट आउने गरेको चौधरीले बताए ।
ग्रीष्मकालीन पाहुनामध्ये करिब १० प्रजाति चरा आउन बाँकी छन् । त्यसमा सबैभन्दा ढिलो करिब ६ हजार माइलभन्दा बढी आकाशीय दूरी पार गरेर दक्षिण अफ्रिकाको सब–सहारनबाट आउने जुरे कोइली अझै आइनपुगेको चराविद् चौधरीले बताए । प्रि–मनसुन सुरु हुने बेला मे अन्तिमसम्म अरेबियन सागरमा उठ्ने हावाको बहावसँगै उक्त चरा नेपाल आइपुग्ने उनले बताए । सबैभन्दा टाढा अष्ट्रेलियाबाट आउने सेतोकण्ठे गौथली अझै आएको छैन । सेतोकण्ठेबाहेक अरू पंक्षी बच्चा कोरल्नै आउने गर्छन् । ठूलो पानी गौथली पनि आउन बाँकी छ ।
‘वैशाख तेस्रो सातासम्म धेरै चराले गुँड लगाइसक्छन्,’ चराविद् दिनेश गिरीले भने, ‘साउन तेस्रो सातासम्म बचेरा हुर्काइसक्छन् ।’ बच्चा हुर्काउन सानाले कम र ठूलाले बढी समय लिने चराविद् राम शाहीले बताए । विदेशमा अहिले दिन र रात बराबरी हुने तर नेपालमा अहिले रातभन्दा दिन लामो हुने भएकाले बढी समय आहार–विहार गर्न पाउने हुँदा चरा यता आकर्षित भएका उनले बताए । बच्चा कोरल्न, हुर्काउन र विहार गर्न सुरक्षित ठाउँ रोजीरोजी पाउने हुँदा यहाँ आकर्षित भइरहेको उनले बताए ।
यहाँका चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा चरा बच्चा कोरल्न आएका छन् । त्यस्तै कोशी टप्पु, शिवपुरी जंगल र अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि बच्चा कोरल्न चरा आएका हुन् । उनीहरू जहाँबाट आउँछन् त्यहाँभन्दा बच्चा कोरल्न र खाना खोज्न सहज छ । आहारका लागि प्रतिस्पर्धा छैन । अधिकांश तराई, केहीले मध्य–पहाड तथा न्यून प्रजाति हिमाली भेग नजिकमा गुँड लगाउन पुग्छन् । उनीहरू असोजतिर फर्कन्छन् । नेपालमा ९ सय ३ प्रजातिका चरा पाइएका अभिलेख छन् ।
