सूर्यदर्शन सहकारीले भन्यो- 'रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति जैसी मात्र होइनन्'

धनुष सहकारीको १२ करोड ५६ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा आइतबार पक्राउ परेका जैसी सूर्यदर्शन सहकारीका पीडितका रूपमा परिचित थिए ।

चैत्र १०, २०८२

दीपक परियार

Suryadarshan Cooperative said - 'Jayse is not the only person who filed a complaint against Ravi Lamichhane'

What you should know

पोखरा — धनुष बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा पक्राउ परेका कृष्णप्रसाद जैसीलाई रास्वपा सभापति रवि लामिछानेको मुद्दासँग जोडिएकोप्रति सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले ध्यानाकर्षण भएको जनाएको छ । 

पोखरास्थित सूर्यदर्शन सहकारीले मंगलबार विज्ञप्ति जारी गर्दै रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति जैसी मात्र नभएको स्पष्ट पारेको हो । 'सूर्यदर्शन सहकारीको मुद्दा प्रकरणमा पहिलो मुद्दाका जाहेरवाला र पूरक तथा थप मुद्दाका जाहेरवालाहरू फरक–फरक व्यक्तिका नाममा दर्ता गरिएको छ । हरेक मुद्दाका मिति पनि फरक-फरक छन्,' विज्ञप्तिमा भनिएको छ, 'कृष्णप्रसाद जैसीको जाहेरीमा रवि लामिछानेको मुद्दाको सुरूआत गरिएको होइन ।'

विज्ञप्तिमा जैसीको व्यक्तिगत विषयलाई संस्थाको मानमर्यादा र रवि लामिछानेविरुद्धको मुद्दासँग जोडेर प्रचार नगर्न आग्रह गरेको छ ।

धनुष सहकारीको १२ करोड ५६ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा आइतबार पक्राउ परेका जैसी सूर्यदर्शन सहकारीका पीडितका रूपमा परिचित थिए । जीबी राईसहित ७ जनाविरूद्ध सुरूआती जाहेरी उनको नामबाट परे पनि लामिछानेविरूद्धको पुरक जाहेरी भने गोविन्दप्रसाद अधिकारीको नाममा रहेको सूर्यदर्शन सहकारी सञ्चालक समिति अध्यक्ष किरण श्रेष्ठले बताए ।

श्रेष्ठ यसअघि सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक थिए । सहकारीको गत मंसिरमा भएको विशेष साधारणसभाले उनलाई अध्यक्ष चुनेको थियो ।

जैसी धनुष सहकारीको ऋण उपसमितिमा रहँदा कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ अपचलन गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा कास्की प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

तर, सूर्यदर्शन सहकारीले भने जैसी केवल एक 'पीडित बचतकर्ता' र 'सामान्य जाहेरवाला' मात्र भएको जिकिर गर्दै धनुष सहकारीको प्रकरणलाई सूर्यदर्शनसँग जोडेर विषयवस्तु मोड्न खोजिएको भन्दै आपत्ति जनाएको छ।

विज्ञप्तिमा हाल सूर्यदर्शनसँग जोडिएका मुद्दाहरू सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा समाचार सम्प्रेषण गर्दा अदालतको मानमर्यादा र सम्मानलाई समेत ध्यान दिन सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरिएको छ ।

धनुष सहकारी ठगी प्रकरणमा जैसीसहित १३ जनालाई प्रतिवादी बनाइएको छ भने अन्य ४ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Suryadarshan Cooperative said - 'Jayse is not the only person who filed a complaint against Ravi Lamichhane'

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully