पोखराको नयाँबजारमा कार्यालय रहेको धनुष बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले कृष्णप्रसाद जैसीलाई नियन्त्रणमा लिएको हो ।
What you should know
पोखरा — सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने र ‘पीडित’का रूपमा आन्दोलनको नेतृत्व गर्ने कृष्णप्रसाद जैसी आफैं सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । पोखराको नयाँबजारमा कार्यालय रहेको धनुष बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई नियन्त्रणमा लिएको हो ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनका आधारमा जैसीसहितका व्यक्तिविरुद्ध अनुसन्धानका लागि आइतबार प्रहरीमा जाहेरी दिएको थियो । उक्त प्रतिवेदनका अनुसार धनुष सहकारीमा कुल १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ । जैसी उक्त सहकारीको ऋण उपसमितिमा रहँदा कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ अपचलन गरेको तथ्य खुलेपछि उनलाई पक्राउ गरिएको हो ।
जैसी यसअघि सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा निकै चर्चामा थिए । गत निर्वाचनको प्रचारप्रसारका क्रममा कास्की क्षेत्र नम्बर ३ की उम्मेदवार बिना गुरुङलाई उनले छोराको विद्यालयको शुल्क तिर्न नसकेको भन्दै बिल थमाएका थिए । सूर्यदर्शनमा आफ्नो पैसा डुबेका कारण छोराको ‘फि’ तिर्न नसकेको दाबी गर्दै उनले रास्वपा सभापति लामिछाने र जीबी राईविरुद्ध आन्दोलनको नेतृत्व समेत गरेका थिए । उनकै जाहेरीका आधारमा लामिछाने पक्राउ परी ८४ दिन हिरासतमा बसेर ६५ लाख धरौटीमा छुटेका थिए ।
धनुष सहकारीको वित्तीय विश्लेषण प्रतिवेदनले संस्थाको कुल हिनामिना १९ करोड १८ लाख रुपैयाँ पुगेको देखाए पनि हाल १२ करोड ५६ लाख रुपैयाँ शोधभर्ना हुन बाँकी रहेको उल्लेख गरेको छ । साबिकको साइनो र धनुष सहकारी मर्ज भएर बनेको यस संस्थामा जैसीबाहेक अन्य १३ जनालाई पनि प्रतिवादी बनाइएको छ । प्रहरीले जैसीलाई पक्राउ गरेको पुष्टि गरे पनि अन्य ४ जना फरार रहेकाले उनीहरूको खोजी भइरहेको जनाएको छ ।
प्रतिवेदन अनुसार साइनोतर्फका तत्कालीन अध्यक्ष गमरेजसिंह गुरुङ, उनकी पत्नी काशीमाया र छोरी सिर्जना गुरुङ तथा तदर्थ समिति अध्यक्ष असिम बरालको मुख्य योजनामा ३ करोड रुपैयाँ हिनामिना भएको छ । त्यस्तै, व्यवस्थापकहरू विराज सुवेदीले २ करोड २५ लाख र जगत पौडेलले १ करोड २५ लाख रुपैयाँ अपचलन गरेको देखिएको छ ।
