लुम्बिनीमा ६ वर्षदेखि रोकिएको विश्वशान्ति धाम निर्माण सुरु

५ अर्ब लागतमा ६६ रोपनी क्षेत्रफलमा ४४ मिटर अग्लो चार तले ध्यान भवन निर्माण हुने

चैत्र १०, २०८२

घनश्याम गौतम

Construction of World Peace Temple in Lumbini, which has been stalled for 6 years, begins

What you should know

बुटवल — बुद्ध जन्मस्थल लुम्बिनीमा ११ वर्षअघि निर्माण सुरु भएर ६ वर्षदेखि अलपत्र परेको विश्वशान्ति धाम निर्माणको काम अघि बढेको छ । बौद्ध धर्मगुरु श्याल्पा तेञ्जिङ रिन्पोछेले ५ अर्ब बढी लागतमा सक्ने गरी सुरु गरेको धाम निर्माणको काम जग्गा विवाद, कोरोनालगायतका कारण सन् २०२० देखि पूर्णरुपमा रोकिएको थियो । 

कमलको फूल आकारमा ४४ मिटर उचाइको चार तले भवन निर्माण हुने भएको हो । भवनको पहिलो तलाको ढलान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, धर्मगुरु रिन्पोछेलगायतले आइतबार पहिलो तला ढलानको सुरुवात गरेका हुन् । 

विश्वशान्ति धाम निर्माणका लागि सरकारले ६६ रोपनी जग्गा उपलब्ध गराएको छ । धाम निर्माण पूरा गर्ने धर्म गुरु रिन्पोछेले नेपालमा हरेक व्यक्तिले एक रूपैयाँ र विदेशमा प्रतिव्यक्ति एक डलर, एक पाउन्डका दरले सहयोग संकलन भइरहेको बताए । ‘हामीले ५ अर्ब विश्वभरीबाट यसै गरी संकलन गरेर धाम निर्माण गर्ने छौं,’ उनले भने, ‘विभिन्न समस्याले रोकिएको काम अब निरन्तर अघि बढ्ने विश्वास छ ।’ 

विश्व शान्ति धाम निर्माणका लागि सहयोग जुटाउन नेपालसहित विभिन्न मुलुकमा शान्ति महोत्सव, सांगीतिक कार्यक्रमहरु पनि गर्न सक्ने उनले बताए । विश्वभरका मानिसले खोजिरहेको शान्ति लुम्बिनीमा पाइने भएकाले विश्व शान्ति धाम बनाउने कार्यमा पनि विश्वभरका व्यक्तिहरूको सहयोग हुने र त्यसकै लागि शान्ति धाम निर्माणको काम सुरु गरिएको पनि उनले बताए ।

‘विश्व शान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरू एक साथ आउन सक्ने र शान्तिको सन्देश विश्वभर फैलाउँदै मानव कल्याण र हितको लागि काम गर्न सक्ने खुला मञ्च हुनेछ,’ उनले भने, ‘विश्वव्यापी रुपमा बढ्दो युद्ध, जलवायु परिवर्तन र मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न विश्व शान्ति धामले संसारभरका नागरिकलाई शान्तिको मार्गमा लाग्न प्रेरित गर्नेछ ।’

विश्व शान्ति धाम निर्माणले लुम्बिनी क्षेत्रको मात्र नभई नेपालको प्रचार–प्रसार विश्वभर हुने र यहाँको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउने धर्मगुरु रिम्पोछेले बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुग्ने बताए । यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतीक बन्ने उनको भनाइ छ ।

लुम्बिनीको ८ नम्बर गेटनजिक निर्माण हुन लागेको धामको हरेक तला ३४ सय वर्गमिटर क्षेत्रफलका हुने र त्यहाँ १५ सय जना अट्ने शान्ति वार्ता हल, शान्ति संग्रहालय, शान्ति पुस्तकालय, प्रवचन कक्ष, ध्यान कक्ष, युनिभर्सल पिस इन्ष्टिच्युट, रिट्रिट सेन्टरलगायतका संरचना निर्माण हुनेछन् । 

धामको सन् २०१४ मा नेपालका लागि तत्कालिन भारतीय राजदुत रञ्जित रेसहितले शिलान्यास गरेका थिए । भवन ८ रेक्टर स्केलको भूकम्प सहन सक्ने क्षमतासहितको पूर्वाधारमा निर्माण भइरहेको छ । 

सरकारले विश्व शान्ति धाम निर्माणका लागि उपलब्ध गराएको जग्गामा पूर्वपर्यटन मन्त्री सुदन किराती र लुम्बिनी विकास कोषका तत्कालीन सदस्य सचिव सानुराजा शाक्यले धाम निर्माण नजिकैको जग्गा अर्कै संस्थालाई दिएकाले उक्त जग्गा फिर्ता गर्न पनि रिम्पोछेले माग गरेका छन् ।

उक्त जग्गा फिर्ता भएपछि शान्ति धामसँगै समानान्तर रुपमा अन्य सहायक स्थलहरुको निर्माणको काम सुरु गर्ने पनि रिम्पोछेले जनाएका छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully