राजनीतिक नियुक्ति के गर्ने भन्ने बारे पार्टीमा छलफल नै भएको छैन : रास्वपा सह-महामन्त्री आचार्य 

कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै रास्वपा सह-महामन्त्री विपिन आचार्यले सरकारले गर्ने नियुक्तिहरू मेरिटका आधारमा गर्ने व्यवस्थाका लागि राम्रो तयारी गर्नुपर्ने तर्क राखेका छन् ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

There has been no discussion in the party about what to do with political appointments: RSP Joint General Secretary Acharya

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपाका)का सह-महामन्त्री विपिन आचार्यले अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्तिका सम्बन्धमा के गर्ने भनेर पार्टीमा अहिलेसम्म छलफल नै नभएको बताएका छन् ।

रास्वपाका नेताहरूले यसअघि विभिन्न निकायमा राजनीतिक नियुक्ति लिएकाहरूलाई 'फिर्ता हुन र मार्ग प्रशस्त गर्न' विभिन्न माध्यमबाट दिएको सन्देश तथा प्रचारमा आएका विषयमा आचार्यले अनविज्ञता प्रकट गरेका छन् ।

आचार्यले यो संवेदनशील र जटिल विषय भएकाले गहन छलफल र फ्रेमवर्क निर्माण नगरी त्यस्ता नियुक्तिका विषयमा निर्णय गर्न नहुने बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै आचार्यले सरकारले गर्ने नियुक्तिहरु मेरिटका आधारमा गर्ने व्यवस्थाका लागि राम्रो तयारी गर्नुपर्ने तर्क राखेका छन् । उनले भने, 'हामीले पनि राजनीतिक नियुक्ति गर्नुपर्ने हुन सक्छ । तर, राजनीतिक नियुक्ति भनेकै बार्गेनिङ र मोलमोलाईकै आधारमा हुन्छ भन्ने भाष्य तयार पारिएकाे छ ।'

आचार्यले नियुक्तिहरूमा मेरिटको आधार, पारदर्शिता र सही समयमा सही स्थानमा सही व्यक्ति पुग्ने फ्रेमवर्क तयार गर्नुपर्ने औंल्याएका छन् । 'यी ३ एलिमेन्टमा काम गर्नु पर्ने छ । यो दुई दिनमै प्रतिक्रियात्मक ढंगमा काम गर्नु हुँदैन, ' आचार्यले थपे, 'पार्टीमा यसका विषयमा गहन छलफल नभई र आगामी बाटोका बारेमा ठोस विधि तय नगरी टिप्पणी गर्नु गलत हुन्छ ।' 

बालेन्द्र शाह नेतृत्वको सरकार, मन्त्रिपरिषद्को आकार र त्यसका प्राथमिकतालगायतका विषयमा आचार्यसँग गरिएको अन्तर्वार्ता आज सोमबार राति ९ बजे 'फायरसाइड'मा प्रसारण हुनेछ । कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।

कान्तिपुर

Link copied successfully