राष्ट्रिय सभामा अर्यालको सिफारिस विचाराधीन : राष्ट्रपति कार्यालय

नयाँ सरकार आउने निश्चित प्रक्रिया, अदालतमा परेको रिट र संवैधानिक प्रावधानअनुरुप सिफारिस विचाराधीन रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

Aryal's recommendation to the National Assembly is under consideration: President's Office

काठमाडौँ — राष्ट्रपति कार्यालयले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्ति गर्ने सरकारको सिफारिस विचाराधीन रहेको प्रस्टोक्ति दिएको छ ।

नयाँ सरकार आउने निश्चित प्रक्रिया, अदालतमा परेको रिट र संवैधानिक प्रावधानअनुरुप राष्ट्रिय सभामा अर्यालको सिफारिस विचाराधीन अवस्थामा रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

तर, राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नी छोरी अवज्ञा पौडेलको नाम सिफारिस नभएपछि अर्यालको नियुक्ति रोकिएको समाचार सार्वजनिक भएका छन् ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा धन्यवाद दिन शनिबार बालुवाटार गएका संविधानविदहरुसँग प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिले छोरीलाई नियुक्ति गर्न नाम खाली राखेर पठाउन भनेको कुरा बताएकी थिइन् । ‘राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यका लागि मुख्य सचिवले टिप्पणी उठाएर ल्याउनु, नामचाहिँ खाली राखेर पठाइदिनु, म आफै नाम थपेर सिफारिस अनुमोदन गर्छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक वरिष्ठ अधिवक्ताले भनेका थिए । तर यसमा सत्यता नरहेको सल्लाहकार पोखरेलले बताए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले त्यस्तो असत्य कुरा बोल्नुभयो भनेर विश्वास लागेको छैन । छोरीको नाम राख्न खोजेको र नाम खाली राखेर पठाउनु भन्ने कुरा असत्य र झुटो हो,’ पोखरेलले भने, ‘जनअभिमत प्राप्त सरकार बन्दै गरेको अवस्था, संवैधानिक प्रावधान र अदालतमा परेको रिट लगायतका परिस्थितिलाई ख्याल गरेर सिफारिस विचाराधीन रहेको छ । त्यसभन्दा बाहेक केही पनि होइन ।’

कान्तिपुर

Link copied successfully