विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले पूर्वानुमानलाई थप भरपर्दो, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले यस्तो योजना अघि बढाइएको जानकारी दिए।
What you should know
काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्म मात्र जारी गर्दै आएको मौसम पूर्वानुमानलाई विस्तार गरी निकट भविष्यमै सात दिनसम्म पुर्याउने तयारी थालेको छ।
विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले पूर्वानुमानलाई थप भरपर्दो, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले यस्तो योजना अघि बढाइएको जानकारी दिए।
उनका अनुसार मौसमजन्य विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न गुणस्तरीय तथ्यांकमा आधारित पूर्वानुमान अत्यावश्यक छ। नेपालमा प्रत्येक वर्ष भारी वर्षा, हुरीबतास, असिना र डढेलोजस्ता प्रकोपले ठूलो क्षति पुर्याइरहेका छन्। हाल विभागले भूउपग्रह, राडार, रेडियोसोन्ड र जमिनमा आधारित केन्द्रमार्फत तथ्यांक संकलन गर्दै आएको छ।
विभागले ‘न्युमेरिकल वेदर मोडलिङ’ प्रणालीमार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा सार्वजनिक गर्दै आएको छ। उक्त तथ्यांक सडक, खानी तथा भूगर्भ, कृषि लगायत विभिन्न निकायलाई पूर्वतयारी र निर्णय प्रक्रियाका लागि उपलब्ध गराइँदै आएको छ।
प्रधानाङ्गका अनुसार पर्वतारोहण, हवाई उड्डयन, कृषि र सहरी क्षेत्र लक्षित विशेष पूर्वानुमान सेवा सञ्चालनमा छन्। हवाई मौसम सेवा डिजिटाइज गरिएको छ भने २१ स्थानीय तहमा ‘प्रभावमा आधारित पूर्वानुमान’ (IBF) सुरु गरिएको छ। सन् २०१० पछि मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको उल्लेख गर्दै उनले सात दिने पूर्वानुमान प्रणाली, मोबाइल एप र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ विकास गर्ने तयारी भइरहेको बताए।
विभागले दैनिक, मासिक, मौसमी तथा वार्षिक प्रतिवेदन, अतिवृष्टि–तापक्रम निगरानी, खडेरी अनुगमन र जलवायु परिवर्तनसम्बन्धी जानकारी पनि नियमित रूपमा उपलब्ध गराउँदै आएको छ। कृषि क्षेत्रमा साप्ताहिक रूपमा वर्षा, तापक्रम र आर्द्रताको विश्लेषणसमेत सार्वजनिक गरिन्छ।
कार्यक्रममा बोल्दै वरिष्ठ डिभिजनल हाइड्रोलोजिस्ट रामविकेश रायले जलविज्ञान क्षेत्रमा उल्लेख्य प्रगति भए पनि प्रविधि र बजेटको अभाव प्रमुख चुनौती रहेको बताए। उनका अनुसार देशभर २३० जलस्तर मापन केन्द्रमध्ये २०६ स्वचालित भइसकेका छन्। विभागले राडार लेभल सेन्सर, स्टाफ गेज र डिस्चार्ज मापनमार्फत तथ्यांक संकलन गर्दै आएको छ।
विभागले जलविद्युत आयोजना, शैक्षिक अनुसन्धान र बाढीपहिरोसम्बन्धी बिमा दाबीका लागि आवश्यक तथ्यांक प्रमाणीकरण गर्ने सेवा प्रदान गर्दै आएको रायले बताए। वास्तविक समयको वर्षा, जलस्तर र माटोको चिस्यानका आधारमा विभिन्न मोडेलमार्फत बाढी पूर्वानुमान गरिन्छ, जसको सूचना बुलेटिन, सामाजिक सञ्जाल, एसएमएस, रेडियो, टेलिभिजन तथा टोल-फ्री नम्बर ११५५ मार्फत प्रवाह गरिन्छ।
उनका अनुसार नारायणी बेसिन क्षेत्रमा बाढी पूर्वानुमानको शुद्धता करिब ९० प्रतिशत पुगेको छ। छोरोल्पा र इम्जा हिमतालमा अर्ली वार्निङ प्रणाली जडान भइसकेको छ भने थप चार हिमतालमा यस्तै प्रणाली विस्तार गर्ने योजना छ।
रायले कठिन भूगोल, सीमित जनशक्ति, प्रविधिको अभाव, बजेट कटौती र अनुसन्धानमा कमजोरीजस्ता समस्या अझै विद्यमान रहेको उल्लेख गरे। जलवायु परिवर्तनका कारण बढ्दो अतिवृष्टि र अनावृष्टिले पूर्वानुमानमा अनिश्चितता थपेको उनको भनाइ छ। सूचना पहुँचबाहिर रहेका समुदायका लागि साइरन वा लाउडस्पिकरमार्फत प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।
विभागले आधुनिक उपकरण र डिजिटल प्रणालीमार्फत तथ्यांक संकलन र विश्लेषणलाई सुदृढ गर्दै पूर्वानुमान सेवा विस्तार गरिरहेको जनाएको छ। यस्ता प्रयासबाट प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
