छुटेका किशोरीलाई ‘एचपीभी’ खोप कहिले ?

डोल्पा, हुम्ला, जुम्ला र मनाङमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको हो ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

When will the missed teenage girls be vaccinated against HPV?

काठमाडौँ — डोल्पा, हुम्ला, जुम्ला र मनाङमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको छ । गत माघमा हिउँ परेका र विद्यालय सञ्चालन हुन नसकेका त्यहाँका किशोरी खोपबाट छुटेका थिए ।

सरकारले चैत दोस्रो सातादेखि यी चार जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको हो । 

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार अभियानको आवश्यक तयारी गर्न ती जिल्लामा निर्देशन र स्वास्थ्यकर्मीलाई पनि तालिम दिइसकिएको छ । 

गत माघ २५ देखि फागुन १५ सम्म कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाइएको थियो । यसैगरी, कक्षा ७ देखि १० सम्मका तथा ११ देखि १४ वर्षका विद्यालय नजाने किशोरीलाई पनि खोप लगाइएको थियो ।

खोप शाखा प्रमुख डा गौतमले अभियानका क्रममा ७३ जिल्लाका ३ लाख २३ जना किशोरीलाई एचपीभी खोप लगाइएको बताए । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले सरकारले त्यसविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरेको छ ।

कान्तिपुर

Link copied successfully