उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

हिमपातका कारण जनजीवन प्रभावित हुनाका साथै कतिपय स्थानमा राजमार्गहरू पनि अवरुद्ध भएका छन् ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Snowfall in high mountainous areas, affecting normal life

काठमाडौँ — शुक्रबारदेखि परेको झरीपछि उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित हुनाका साथै कतिपय स्थानमा राजमार्गहरू पनि अवरुद्ध भएका छन् । ढोरपाटन क्षेत्रमा बेंसी झरेका स्थानीय र गाईभैंसीसहित उपत्यका पुगेका गोठाला हिमपातले प्रभावित भएका छन् । अहिले अधिकांश व्यक्ति घरभित्रै रोकिएका छन् भने गाईबस्तुलाई समेत घाँस अभाव भएको छ । 

अधिकांशले यसअघि गोठभित्र राखेको सुक्खा घाँस (बातो) खुवाइरहेको ढोरपाटनकी स्थानीय नरमती पुनले बताइन् । जाडोका कारण मानिस घरभित्रै आगो तापेर बसेका छन् । ढोरपाटनका स्यालपाखे, नवी, छेन्तुङ, निसेलढोर, देउरालीलगायत क्षेत्रमा बाक्लो हिउँ जमेको छ भने उपत्यका पनि सेताम्मे देखिएको छ । 

झरी र हिमपातका कारण मध्यपहाडी लोकमार्गको पातीहाल्ने खण्ड पनि अवरुद्ध भएको छ । रुकुम र बागलुङतर्फको झन्डै १० किमि खण्डमा हिमपातले यातायातका साधन चल्न नसक्ने अवस्था आएको हो । हिमपात हटाएर सडक खुलाउने प्रयास भने स्थानीय र प्रहरीले गरिरहेको प्रहरी उपरीक्षक तिलक भारतीले बताए । निरन्तर झरी र हिमपातले काम गर्न अप्ठ्यारो भएको उनले बताए । झरी रोकिएपछि मात्र सुरक्षित रूपमा सवारी छुटाउने गरी प्रहरीले तयारी गरेको छ । सुदूरपश्चिमको बाजुरामा पनि लगातारको वर्षासँगै उच्च लेकाली भेगमा बाक्लो हिमपात भएको छ । हिमपात र चिसोका कारण स्थानीय प्रभावित भएका छन् भने कृषकका लागि भने वर्षाले राहत दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

हिमपातपछि यहाँका बडीमालिका, बुढीगंगा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरूमा हिमपात भएको छ । हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहलगायतका स्थानीय बढी प्रभावित बनेका छन् । लेकाली भेगमा हिमपात र भारी वर्षा भइरहेको जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । 

रुकुम पूर्वमा भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि निरन्तर हिमपातले भूमे गाउँपालिका–१ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौं सवारीसाधनसहित यात्रुहरू अलपत्र परेका छन् ।

कान्तिपुर

Link copied successfully