विश्वप्रसिद्ध वायुयान ट्र्याकिङ अनलाइन फ्लाईटरडारले आइतबार सार्वजनिक गरेको तथ्यांकले खाडीका प्रमुख वायुसेवा कम्पनीमा एकैचोटि गम्भीर संकट आइपरे पनि उनीहरु त्यसबाट क्रमशः बाहिर निस्कँदै गएको देखाएको छ ।
काठमाडौँ — मध्यपूर्वका प्रमुख वायुसेवा कम्पनीहरू एमिरेट्स, कतार एयरवेज, इतिहाद, फ्लाई दुबई र एयर अरेबियामा फेब्रुअरी अन्त्यतिर देखिएको उडान गतिविधिको असामान्य गिरावटपछि मार्च महिनाको मध्यसम्म आइपुग्दा सुधारको संकेत देखिन थालेको छ ।
विश्वप्रसिद्ध वायुयान ट्र्याकिङ अनलाइन फ्लाईटरडारले आइतबार सार्वजनिक गरेको तथ्यांकले खाडीका प्रमुख वायुसेवा कम्पनीमा एकैचोटि गम्भीर संकट आइपरे पनि उनीहरु त्यसबाट क्रमशः बाहिर निस्कँदै गएको देखाएको छ ।
फेब्रुअरी २३ देखि २७ सम्मको अवधिमा यी सबै एयरलाइन्सहरू उच्च क्षमतामा सञ्चालनमा थिए । विशेषगरी इमिरेट्स र कतार एयरवेजबीच अग्रताको प्रतिस्पर्धा देखिन्थ्यो । जहाँ कतार एयरवेज केही दिन उच्चस्तरमा पुगेको थियो भने एमिरेट्स स्थिर रूपमा ५०० भन्दा माथि दैनिक उडान सञ्चालन गरिरहेको थियो । इतिहाद र फ्लाईदुबई मध्यमस्तरमा स्थिर देखिएका थिए भने एयर अरेबिया पनि उल्लेख्य रूपमा सक्रिय थियो । यसले मध्यपूर्वलाई अन्तर्राष्ट्रिय उड्डयनको प्रमुख केन्द्रको रूपमा स्थापित गरिरहेको स्पष्ट देखिन्थ्यो ।
तर फेब्रुअरी २८ देखि स्थिति एकाएक बदलियो । इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त सैन्य आक्रमण गरेपछि खाडीका सबै प्रमुख एयरलाइन्समा एकैपटक उडान संख्या नाटकीय रूपमा घट्यो । केही कम्पनीहरू त लगभग पूर्ण रूपमा ठप्पजस्तै भए । फ्लाईटरडारको डेटाअनुसार फ्लाई दुबई शून्यमा झर्यो भने इमिरेट्स र कतारलगायत कम्पनीहरू पनि अत्यन्त न्यून संख्यामा सीमित भए । यस्तो एकैचोटि आएको गिरावटले यो समस्या कुनै एक कम्पनीको नभई सम्पूर्ण क्षेत्रलाई असर गर्ने बाह्य कारणबाट उत्पन्न भएको संकेत गरेको थियो ।
भूराजनीतिक तनाव, हवाई क्षेत्र प्रतिबन्ध वा आकस्मिक सञ्चालन अवरोधजस्ता कारण यसका प्रमुख कारक देखिए ।
मार्च ३ पछि भने विस्तारै सुधारको प्रक्रिया सुरु भयो । इमिरेट्सले सबैभन्दा छिटो लय समात्दै केही दिनमै आफ्नो उडान संख्या उल्लेख्य रूपमा बढायो। फ्लाईदुबईले पनि प्रारम्भिक चरणमा तीव्र सुधार देखायो, जसले यसको सञ्चालन लचकता देखाउँछ। इतिहादले भने केही ढिलो तर स्थिर रूपमा आफ्नो क्षमता विस्तार गरेको तथ्यांकमा देखिन्छ । एयर अरेबिया शून्यबाट उठ्दै क्रमिक रूपमा सुधारतर्फ लाग्यो, जबकि कतार एयरवेजको पुनरागमन अन्यको तुलनामा केही ढिलो देखिएको छ ।
मार्चको मध्यतिर पुग्दा स्थिति केही हदसम्म स्थिर हुन थालेको देखिन्छ। इमिरेट्स पुनः उच्चस्तरतर्फ उन्मुख देखिन्छ भने ईतिहादले पनि उल्लेखनीय वृद्धि गर्दै आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।
फ्लाईदुबई र एयर अरेबिया मध्यमस्तरमा स्थिर भइरहेका छन्। कतार एयरवेज पनि सुधारोन्मुख भए पनि पूर्णरूपमा पुरानै स्तरमा फर्किन अझ समय लाग्ने संकेत देखिन्छ।
यो समग्र घटनाक्रमले खाडीको उड्डयन क्षेत्रको संघर्ष देखाउँछ । बाह्य झट्काले केही दिनमै सम्पूर्ण सञ्चालन प्रणालीलाई प्रभावित गर्न सक्छ, तर त्यही क्षेत्रमा रहेका ठूला र सुदृढ संरचना भएका एयरलाइन्सहरूले छिटो पुनःउत्थान गर्न सक्ने क्षमता पनि देखाउँछ। साथै, यस घटनाले प्रतिस्पर्धात्मक सन्तुलनमा पनि केही परिवर्तन ल्याएको छ, जहाँ इमिरेट्सले आफ्नो अग्रता थप मजबुत बनाएको देखिन्छ भने अन्य कम्पनीहरू क्रमिक रूपमा पुनः प्रतिस्पर्धामा फर्किँदैछन्।
समग्रमा मध्यपूर्वी उड्डयन क्षेत्रले छोटो समयमै गम्भीर गिरावट र त्यसपछि सुधारको चरण पार गरिरहेको छ । आगामी दिनमा स्थायित्व कायम रहन्छ वा पुनः उतारचढाव आउँछ भन्ने कुरा भने अन्तर्राष्ट्रिय अवस्था, यात्रु माग र नीतिगत निर्णयहरूमा निर्भर रहने देखिन्छ।
नेपालमा कतार, एयर अरेबिया, फ्लाई दुबईले उडानलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । कतारले तेस्रो मुलुकका यात्रुलाई पनि १८ मार्चदेखि सेवा दिन थालेको जनाएको छ ।
