आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको हो ।
काठमाडौँ — ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित बागमती पुल क्षेत्रबाट तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको हो ।
सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका–९ का वडा सदस्य नवराज अधिकारी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारीसहित सफाइ अभियानकर्मीको उपस्थिति रहेको अभियाकर्मी किशोरसिंह शाहीले बताए ।
२०७० जेठ ५ देखि सुरु भएको बागमती सफाइ महाअभियानको आज ६७१औँ शृङ्खला हो । महाअभियान सुरु भएदेखि प्रत्येक शनिबार बिहान करिब दुई घण्टा बागमती नदीमा सफाइ हुने गरेको छ ।
सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौँमा यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड र राजधानी बाहिरका नदी क्षेत्रमा सफाइ अभियान सुरु भएको छ । सफाइ अभियानका क्रममा पछिल्लो समय कुहिने फोहरबाट कम्पोष्ट मल बनाएर नकुहिने फोहर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् ।
