कुवेतमा बाँकी भएका ३३ जना नेपाली पनि साउदी अरबको भिसा प्राप्त गरी उडानको प्रक्रियामा रहेको परराष्ट्रले जनाएको छ ।
काठमाडौँ — परराष्ट्र मन्त्रालयले खाडीमा ट्रान्जिटमा फसेको सबै नेपालीको उद्धार भइसकेको जनाएको छ । कुवेतमा बाँकी भएका ३३ जना नेपाली पनि साउदी अरबको भिसा प्राप्त गरी उडानको प्रक्रियामा रहेको परराष्ट्रले जनाएको छ ।
‘कतार, कुवेत, यूएई र जेद्दा ट्रान्जिटमा कोही यात्रु अलपत्र वा रोकिएको छैन,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने,‘जेद्दामा रोकिएका सबै हज यात्रु पनि नेपाल फर्किसकेका छन् ।
प्रवक्ता क्षेत्रीका अनुसार असुरक्षित भनेर अनलाइनमा आफ्नो विवरण भर्ने नेपालीहरू घटिरहेको छ । खाडीमा रहेका ८२ हजार नेपालीले आफ्नो विवरण अनलाइन फारममाफर्त भरेका छन् । जसमध्ये ६ हजार जनाले असुरक्षित भनेर जानकारी दिएका थिए ।
