पश्चिम एसियामा रहेका ८२ हजारभन्दा बढी नेपालीले विवरण दर्ता गराइसकेका छन् : परराष्ट्र

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त जानकारी दिएका हुन् ।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

More than 82,000 Nepalis living in West Asia have registered their details: Ministry of Foreign Affairs

काठमाडौं — परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म पश्चिम एसियामा रहेका ८२ हजार १ सय नेपालीले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त जानकारी दिएका हुन् । उनकाअनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले सुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए । तर, पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उनको दाबी छ । 

इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच पश्चिम एसियाका विभिन्न देशहरूबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गरे । उनले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिए । 

उनले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिए । ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिए । 

जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उनको भनाइ छ । उनले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्दारको लागि समेत तयार रहेको जानकारी दिए । 

कान्तिपुर

Link copied successfully