गृहमन्त्री अर्यालसहित परराष्ट्रमन्त्री बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा गौतम र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले संसद् भवनका विभिन्न संरचना अवलोकन गरी जानकारी लिएका हुन् ।
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालसहित विभिन्न मन्त्रीहरुले सिंहदरबार परिसरमा निर्माणधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गरेका छन् ।
गृहमन्त्री अर्यालसहित परराष्ट्रमन्त्री बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा गौतम र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले संसद् भवनका विभिन्न संरचना अवलोकन गरी जानकारी लिएका हुन् । उनीहरुले संसद् बैठक बस्नका लागि तयार गरिएको नयाँ ‘मल्टिपर्पोज हल’, निर्माणधीन प्रतिनिधसभा र राष्ट्रिय सभा हलको अवलोकन गरेका थिए ।
अनुगमनका क्रममा गृहमन्त्री अर्यालले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको सपथका लागि बैठक कक्षको सबै तयारी अवस्थामा रहेको जानकारी दिँदैँआवश्यक परेको खण्डमा प्रतिनिधिसभाको बैठक पनि बस्न सकिने गरी व्यवस्थापन गरिएको निर्माएण पक्षले जानकारी गराएको बताए ।
भवनभित्रको सिट योजना (सिट प्लानिङ) र फर्निचर व्यवस्थापन सन्तोषजनक रहेको उल्लेख गर्दै उनले माइक तथा स्क्रिन जडानसमेत द्रुतगतिमा भइरहेको जानकारी दिए । अस्थायी व्यवस्थापन भए पनि फर्निचर र प्रविधि प्रयोग गुणस्तरीय रहेको र कामले गति लिएको उनको भनाइ थियो ।
संसद् भवनको निर्माण अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । करिब १५६ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको संसद् भवन तयार भएपछि संघीय संसद्का सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् । भवन निर्माण गरिरहेको टुण्डी–सेक जेभी परियोजनाका प्रमुख प्रमेन्द्रकृष्ण श्रेष्ठका अनुसार संघीय संसद् भवन, प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अतिविशिष्ट कक्ष, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् ।
संसद् भवन परिसरमा वृक्षारोपण
सिंहदरबार परिसरमा निर्माणधीन संघीय संसद् भवन परिसरमा मन्त्रीहरुले वृक्षारोपण गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं, परराष्ट्रमन्त्री बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा गौतम र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले वृक्षारोपण गरेका हुन् । रुद्राक्ष, कपुर, धुँपी र समिका विरुवाहरु रोपिएको हो ।
