अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउदसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल बिमल साउद तथा आरजे २४ न्युज एवं नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल भन्ने रामबहादुर लम्सालविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
काठमाडौँ — सरकारी रकम अनियमितता गरेको आरोपमा अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउदसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल बिमल साउद तथा आरजे २४ न्युज एवं नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल भन्ने रामबहादुर लम्सालविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध १२ लाख ७७ हजार २ सय २५ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र हिनामिना भएको रकम असुलउपरको मागदाबी गरेको छ । फाउन्डेसनका अध्यक्ष लम्सालविरुद्ध मतियारका रूपमा त्यति नै बिगो कायम गरी सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
पालिकाका अध्यक्षसहितका पदाधिकारी तथा कर्मचारीको मिलेमतोमा चलचित्र बनाउने भन्दै रकम अनियमितता गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो । सार्वजनिक खरिदसम्बन्धी कानुनविपरीत पालिकाको बजेट दुरुपयोग गरी १५ लाख ५ हजार रुपैयाँको लगानीमा ‘अन्धपथ’ चलचित्र निर्माण गर्न १८ भदौ २०८१ मा सम्झौता गरेको अख्तियारको अनुसन्धानमा पाइएको थियो ।
‘प्रचलित कानुनबमोजिम खरिद आवश्यकताको पहिचान, लागत अनुमान निर्माणलगायतको खरिद कारबाहीको तयारी नगरी नगराई चलचित्र निर्माणका लागि सम्झौता गरे गराएको’ अभियोगपत्रमा उल्लेख छ । कानुनविपरीतको बदनियतपूर्ण कार्यलाई ढाकछोप गर्न ६ कात्तिक २०८१ मा कार्यपालिकाको बैठकबाट सम्झौतालाई अनुमोदन गरे/गराएको पनि भेटिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
एउटा कम्पनीसँग सम्झौता गरेर रकमको भुक्तानी नव इन्द्रेणी फाउन्डेसनलाई गरेको विषयलाई पनि अख्तियारले भ्रष्टाचारजन्य कसुरका रूपमा राखेको छ । चलचित्र निर्माणका लागि खरको घर तथा अन्य विविध खर्च भनी पेस गरेका बिलहरू हेर्दा सत्यता पुष्टि हुने आधार नै नदेखिएको अख्तियारले जनाएको छ ।
