मौसममा फेरबदल : कतै हावाहुरी, कतै असिना पानी र चट्याङ

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो उदयपुरमा ८० किलोमिटर प्रतिघण्टासम्म हावाहुरी चलेको थियो ।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

Changes in weather: sometimes windy, sometimes hail and lightning

काठमाडौँ — पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशभरको मौसम प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि मुलुकका विभिन्न ठाउँमा हावाहुरी, मेघगर्जन, वर्षा र हिमपात भएको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा अधिकांश बादल लागेको छ । देशका बाँकी भू-भागमा साधारणतया बादल लागेको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पनि मध्यम वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । 

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भए । विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार, विशेषगरी काठमाडौं आउने रुटमा जोखिमपूर्ण बादल प्रणाली सक्रिय भएपछि धेरै विमान गन्तव्यमा अवतरण नगरी फर्काइएका वा डाइभर्ट गरिएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीले शुक्रबार धेरै माथिसम्म मेघगर्जन गराउने बादल बनेको थियो । 'शुक्रबार मेघगर्जन गराउने बादल १६ किलोमिटरसम्म आकाशको तहसम्म बनेको देखियो । त्यसैले आन्तरिक र अन्तर्राष्ट्रिय उडान समेत प्रभावित बनाउने गरी बादल बनेको देखियो । त्यसैले अस्थिर वायुमण्डल र असिनासमेत परेको हो,' अधिकारीले भने । 

बादलले आकाश ढाकिँदा बुटवल, काठमाडौंलगायतका सहर दिउँसै अँध्यारासमेत देखिएका थिए । त्यस्तै केही ठाउँमा हुरीले घरका छानासमेत उडाएको छ । नवलपरासी पूर्वको राइकोटेमा विद्यालयको छाना उडाएको छ ।

स्थानीय वायुमा पश्चिमी न्यूनचापीय प्रणाली मिसिँदा हावाहुरी र वर्षा भएको मौसमविद् अधिकारीको भनाइ छ । उनले भने, 'मनसुनमा बाहेक अरू सिजनमा उत्तरी गोलार्द्धमा पश्चिमबाट नै हावा चल्छ । मनसुनमा मात्र तल्लो वायुमण्डलमा हावा चल्ने हो । अहिले पश्चिमा वायुमा पानी पार्ने न्यूनचापीय प्रणाली सक्रिय देखियो । तापक्रम बढेकाले स्थानीय वायु हुन्छ नै । स्थानीय वायुमा पश्चिम न्यूनचापीय प्रणाली पनि मिसिँदा अलि ठूलो प्रभाव देखिएको हो ।'

न्यूनचापीय प्रणाली ठूलो किसिमको भएकाले नेपालभर नै प्रभाव पारेको देखिएको मौसमविद् अधिकारीले बताए । महाशाखाका अनुसार शुक्रबार दिउँसो उदयपुरमा ८० किलोमिटर प्रतिघण्टासम्म हावाहुरी चलेको थियो । 

प्रिमनसुन अवधिमा यस्तो हावाहुरी चल्नु सामान्य रहेको पनि मौसमविद् अधिकारीले बताए । शुक्रबार दिउँसो लुम्बिनी, बागमती, मधेश र कोशीका केही ठाउँमा हावाहुरीसहित वर्षा भएको थियो । त्यस्तै जोमसोम र लुम्लेलगायतका ठाउँमा समेत तीव्र गतिको हावा चलेको थियो । शनिबार भने वर्षाको सम्भावना कायमै रहे पनि हावाहुरी भने कम हुने उनले जानकारी दिए ।

'शनिबार राति कोशी, मधेश र लुम्बिनीमा केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ । कतैकतै असिना पनि पर्ने सम्भावना छ । राति असिना मेघगर्जन चट्याङ र भारी वर्षाको सम्भावना छ । कोशी मधेश र लुम्बिनीका तल्ला भेगमा भारी वर्षा हुन सक्छ,' उनले भने । शनिबार भने भारी वर्षाको सम्भावना कम रहेको पनि मौसमविद् अधिकारीले बताए । 

शनिबार दिउँसो कोशी, मधेश,  बागमती र गण्डकी प्रदेशका  धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको  केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।  शनिबार राति पनि देशभर बादल लाग्नेछ । कोशी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

आइतबार भने देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। आइतबार पनि केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरीका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल ढल्ने, बिजुलीका तार चुँडिने, जस्तापाताले बनाइएका छाना उडाउनेलगायतका जोखिम रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 

मौसमविद् अधिकारीले शनिबार रातिदेखि नै पश्चिमी वायु प्रणाली कम हुने भएकाले मौसममा सुधार देखिने बताए । प्रिमनसुन र स्थानीय वायुका कारण भने केही ठाउँमा आंशिक प्रभाव देखिन सक्ने उनले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully