तीव्र हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन गृह मन्त्रालयको आग्रह

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सम्भावित दुर्घटनाबाट बच्न सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Home Ministry urges caution as strong winds and rain likely

What you should know

काठमाडौँ — शुक्रबार र शनिबार देशका विभिन्न भागमा मौसम बदलीसँगै तीव्र हावाहुरी, वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले सचेत गराएको छ ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने जनाएको हो । त्यसैगरी, दाङ र नेपालगन्जसहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा तीव्र हावाहुरीको सम्भावन छ ।

शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (करिब ११९ किमि प्रतिघण्टा) चल्ने सम्भावना रहेको विपद् प्रतिकार्य शाखाका उपसचिव रामबहादुर केसीद्वारा जारी सूचनामा उल्लेख छ। 

हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने भएकाले सचेत रहन प्राधिकरणले आग्रह गरेको छ । पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको उल्लेख गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, हावाहुरीका बेला घरका झ्यालढोका बन्द गर्न, आगोका स्रोतहरू सुरक्षित राख्न र सवारीसाधन चलाउँदा सावधानी अपनाउन सुझाव दिइएको छ। त्यस्तै, जोखिमपूर्ण स्थानबाट टाढा रहन र सम्भावित दुर्घटनाबाट बच्न सुरक्षित ठाउँमा बस्न अनुरोध गरिएको छ।

Home Ministry urges caution as strong winds and rain likely

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागद्वारा जारी सूचनामा पनि शुक्रबार कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको उल्लेख छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।

शनिबार कोशी र बागमती प्रदेशको लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

कान्तिपुर

Link copied successfully