निर्वाचन प्रणाली फेर्न हुने गरेका मागलाई सम्बोधन गर्ने गरी अब बस्ने संसद्को अधिवेशनबाटै निर्वाचन कानुन बनाउन उनले माग गरे ।
काठमाडौँ — निर्वाचन हुनैपर्छ भन्ने आयोगको अठोटका कारण निर्वाचन गर्न सम्भव भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।
आयोगले आज केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचनको अघिल्लो दिन फागुन २० गते आयोगको मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि अझै निर्वाचन हुन्छ र भन्ने प्रश्नको सामना गरेको उनले स्मरण गरे ।
'विदेशमा बस्ने नेपालीले मतदान गर्न पाउनुपर्छ, मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर रहेकाले मतदान गर्न पाउनुपर्छ जस्ता मागका बीच निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल थियो, अध्यादेशबाट मतदाता नामावली सङ्कलन गरेर करिब १० लाख युवा मतदाता थप भए, युवा मतदाताले पनि यस पटक उत्साहपूर्ण रुपमा मतदान गरे,' उनले भने ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकै कारण कसैलाई पनि कडाइका साथ कारबाही गर्नु नपरेको पनि आयोगले जनाएको छ ।
नवनिर्वाचित सांसदहरुलाई निर्वाचन प्रणाली फेर्न हुने गरेका मागलाई सम्बोधन गर्ने गरी अब बस्ने संसद्को अधिवेशनबाटै निर्वाचन कानुन बनाउन उनले माग गरे । आयोगले अढाई वर्षअघि मस्यौदा गरेर पठाएको निर्वाचन कानुन गृह मन्त्रालयमा अलपत्र अवस्थामा रहेकाले अब बस्ने संसद्को अधिवेशनबाटै त्यसलाई पारित गर्ने गरी काम गर्न पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले नवनिर्वाचित सांसदहरुको ध्यानाकर्षण गराए ।
नवनिर्वाचित सांसदबाट नागरिकले धेरै आशा गरेकाले त्यो विश्वासलाई विश्वासघात नगर्ने गरी काम गर्न पनि उनले सुझाव दिृ ।
समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी, कांग्रेसबाट २०, एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट ४/४ सांसद निर्वाचित भएको आयोगले चैत २ गते सोमबार नै घोषणा गरिसकेको थियो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३, राप्रपा र स्वतन्त्र १/१ स्थानमा निर्वाचित भएका छन् ।
