पाल्पाको माथागढी किल्ला आसापास १ हजार १ सय १० मिटर उचाइँ र अर्घाखाँचीको शीतगंगा नगरपालिका रजियानजिकै ९ सय ३४ मिटर उचाइँमा बाघ भेटिएको छ।
What you should know
लुम्बिनी — वनजंगलको स्वस्थ्य पारिस्थितिक प्रणालीको सूचक मानिने बाघको संख्या व्यवस्थापनबारे बहस भइरहँदा पाल्पा र अर्घाखाँचीमा तीन वटा बाघको अभिलेख भएको छ । यहाँ भेटिएका तीन वटै बाघ वयस्क छन् ।
त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागद्वारा पाल्पा र अर्घाखाँचीमा गरिएको क्यामरा ट्रयापमा बाघ परेपछि अभिलेख भएको हो । विभागद्वारा लुम्बिनी प्रदेशमा वन्यजन्तुको अवस्था पत्ता लगाउन भएकाे अध्ययनमा यी दुई जिल्लामा बाघ देखिएका हुन् ।
पाल्पाको माथागढी गाउँपालिकाको माथागढी किल्ला आसापास १ हजार १ सय १० मिटर उचाइँमा बाघ भेटिएको छ । त्यस्तै पाल्पाकै तिनाउ गाउँपालिकाको झुम्सा खोलामाथि डाँडा लगरभन्ने ठाउँको ५ सय ३६ मिटर उचाइँमा पनि बाघ क्यामरा ट्रयापमा परेको त्रिविका प्राध्यापक तथा अध्ययन टोली संयोजक डा. हरिप्रसाद शर्माले बताए ।
अर्घाखाँचीको शीतगंगा नगरपालिका रजियानजिकै पनि एउटा बाघ क्यामरा ट्रयापमा अभिलेख भएको छ । यहाँ ९ सय ३४ मिटर उचाइँमा बाघ भेटिएको हो । यहाँ भेटिएको बाघ बस्ती आसपासकै क्षेत्रमा मान्छे ओहरदोहर गर्ने बाटोमा भेटिएको छ ।
चुरे क्षेत्रका राष्ट्रिय वन, सामुदायिक वन र पहाडमा क्यामरा राखिएको थियो । वन्यजन्तु आउआउ गर्ने सम्भाव्य बाटो, नदीखोला किनार, दोबाटो फायरलाइनमा क्यामरा राखिएका थिए । डाँडाको बाटो भञ्जयाङ, गोरेटो ट्रयाक, नुन र पानीको स्रोत भएको ठाउँमा क्यामरा राखिएका थिए ।
पाल्पाका ४४ र अर्घाखाँचीमा ५० वटा क्यामरा ट्रयाप राखिएका थिए । करिब ८ सय वर्ग किलोमिटरमा ९४ क्यामरा जडान गरिएको थियो । पाँच/पाच वर्ग किलोमिटरको एउटा ग्रिड बनाएर २५ वर्ग किलोमिटरमा ४ वटा क्यामरा राखिएको थियो । एउटा क्यामरादेखि अर्को क्यामराको दुरी एक किलोमिटर फरकमा राखेर क्यामरा ट्रयाप गरिएको फिल्ड कोअर्डिनेटर बाचन प्रसाईले बताए ।
पाल्पामा माघ २९ र ३० तिर क्यामरा ट्रयाप राखेर ४ जना प्राविधिकको टोली अर्घाखाँची पुगेको थियो । अर्घाखाँचीमा फागुन ४ र ५ मा क्यामरा राखेर टोलीले अनुगमन गरेको थियो । दुबै ठाउँमा २१/२१ दिन वन क्षेत्रमा क्यामरा ट्रयाप गर्दा तीन वटा बाघ फेला परेको अर्का फिल्ड कोर्डिनेटर सागर खड्काले बताए । पाल्पामा क्यामरा निकालेर प्राविधिक टोली अर्घाखाँचीमा क्यामरा निकाल्न पुगेको छ ।
पाल्पाको माथागढीमा गत फागुन ३ र ४ मा दुई दिनको फरकमा रातको समयमा बाघ देखिएका हुन् । तर, ती एउटै हुन् वा फरक भन्ने छुटयाउने काम भइरहेको फिल्ड कोर्डिनेटर प्रसाईले बताए । त्यस्तै अर्घाखाँचीमा फागुन ३० मा दुई वटा क्यामरामा दुई वटा बाघ देखिए पनि एउटै बाघ दुई पटक देखिएको अनुमान गरिएको छ।
त्यस्तै शीतगंगामा एउटै क्यामरामा बाघसँगै चितुवा पनि क्यामरा ट्रयापमा परेको थियो । पाल्पामा राखिएको क्यामरा ट्रयापमा १८/१९ र अर्घाखाँचीमा १९/२० वटा चितुवा परेका छन् । चुरे क्षेत्र, पहाड र वन आसपास पाइएका बाघ रैथाने वा बाहिरबाट आएका हुन् भन्ने अनुसन्धान गर्न बाँकी छ । बाँके, दाङ, कपिलवस्तु, अर्घाखाँची र पाल्पासँग चुरे जोडिएको छ ।
क्यामरा ट्रयापिङपछिको नतिजाले वन्यजन्तुको अवस्था, वन व्यवस्थापन र संरक्षण नीति योजना बनाएर काम गर्न सहयोग पुग्ने डब्लुडब्लुएफ नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले बताए । वन्यजन्तुको बासस्थान र पर्यापर्यटनको विकासका योजना बनाएर अघि बढ्न सहयोग पुग्ने पनि उनले बताए । वन्यजन्तुको अबैध चोरीसिकार तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पनि यो अध्ययनले सहयोग पुग्ने संरक्षणकर्मी बताउँछन्।
नेपालमा निकुञ्ज र संरक्षित क्षेत्रमा अहिले बाघ गणना भइरहेको छ । गैरसंरक्षित क्षेत्रमा पनि यसरी बाघ अभिलेख हुनुले बाघको संख्या अझ बढ्ने देखिएको छ । तर, पछिल्लो समय मानव–बाघ द्वन्द्व बढ्दा समाजमा त्रास बढेको छ । यसलाई सबै पक्ष मिलेर समयमै समाधान गर्नेतर्फ लाग्नु पर्ने वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईले बताए ।
यसअघि सन् २०१८ मा पहिलो पटक रुपन्देही, कपिलवस्तु र पाल्पाको सीमा क्षेत्रमा बाघ देखिएको थियो । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास बोर्ड र राष्ट्रिय प्रकृति संरक्षण कोषले चुरे क्षेक्रमा जैविक विविधताबारे गरेको संयुत्त अध्ययनले कपिलवस्तुसँगै रूपन्देही र पाल्पामा पाटे बाघ रहेको देखाएको थियो ।
पोथी बाघ रूपन्देही र पाल्पाको सीमा क्षेत्रमा एक भन्दा बढी ठाउँमा देखिएको र त्यसभन्दा करिब ४० किलोमिटर पश्चिममा कपिलवस्तुको उत्तरी क्षेत्रमा भाले बाघ देखिएको अध्ययनमा सहभागी बाघ विशेषज्ञ डा. बाबुराम लामिछानेले बताए । कपिलवस्तुमा भने दोस्रो पटक २०८० पुसमा बुद्धभूमि नगरपालिकामा दुई वटा र विजयनगर गाउँपालिकामा एउटा बाघ क्यामरा ट्रयापमा परेको थियो ।
