सोमबारको हावाहुरीले धेरै ठाउँमा भौतिक क्षति, केही स्थानमा विद्युत् अवरुद्ध

केही ठाउँमा पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएका छन् भने केही ठाउँमा राजमार्गमा समेत समस्या उत्पन्न भएको छ ।

चैत्र ३, २०८२

विनोद घिमिरे, डम्बरसिंह राई, नवराज श्रेष्ठ

Monday's storm caused physical damage in many places, power outages in some places

रामेछाप, धनकुटा र खोटाङ — सोमबार साँझ आएको हावाहुरीसहितको वर्षा र चट्याङका कारण देशका केही जिल्लामा ठूलो भौतिक क्षति भएको छ । केही ठाउँमा पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएका छन् भने केही ठाउँमा राजमार्गमा समेत समस्या उत्पन्न भएको छ । 

सोमबारको हावा हुरीसहितको वर्षाले रामेछापमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार साँझ करिब ६ बजेदेखि अवरुद्ध भएको विद्युत् सेवा सोमबार बिहानसम्म पनि सुचारु हुन सकेको छैन । स्थानीयका अनुसार आइतबार आएको हावाहुरी पछिल्लो करिब १० वर्षयताकै सबैभन्दा ठूलो भएको बताइएको छ । 

मन्थलीका बासिन्दाले २०७२ सालपछि यति शक्तिशाली हावाहुरी पहिलो पटक आएको बताएका छन् । हावाहुरीका कारण खिम्ती र सिन्धुलीबाट मन्थली सब–स्टेशनमा आउने दुवै ३३ केभी प्रसारण लाइन अवरुद्ध भएपछि जिल्लाभर विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ।

वितरण केन्द्रले जारी गरेको सूचनामा हावाहुरी, वर्षा र चट्याङका कारण विभिन्न स्थानमा विद्युत् लाइनमा समस्या आएको उल्लेख गरिएको छ। अहिले प्राधिकरणका कर्मचारीहरू सम्भावित खराबी (फल्ट) खोज्न फिल्डमा खटिएका छन् र सकेसम्म छिटो विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार हावाहुरीका कारण कतै रुख तथा हाँगाबिँगा लाइनमा खसेको, बाहिरी वस्तु उडेर तारमा अड्किएको, तार चुँडिएको वा पोल ढलेको हुन सक्ने भएकाले पूर्ण निरीक्षण नगरी लाइन सञ्चालन गर्दा जोखिम हुन सक्छ ।

त्यस्तै चट्याङका कारण कसैको घरको मिटर वा वायरिङमा क्षति पुगेको आशङ्का भएमा तुरुन्त मेन स्विच बन्द गरेर सुरक्षित रहन नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले उपभोक्तालाई आग्रह गरेको छ

अवरुद्ध राजमार्ग सञ्चालन

यस्तै सोमबार राति आएको आँधीहुरीसहितको वर्षाले धनकुटामा रुख ढल्दा अवरुद्ध भएको राजमार्ग मंगलबार बिहान सञ्चालना आएको छ । रुख ढल्दा अवरुद्ध भएको कोशी राजमार्ग अहिले बिहान ८ बजेबाट सञ्चालनमा आएको छ । सलेरीस्थित नेपाली सेनाको भीमदल गणले बाटो खुलाएको हो ।

आँधीहुरीका कारण सरकारी कार्यालय र निजी घरमा समेत क्षति पुगेको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सदरमुकामस्थित डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद अस्पताल, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय तथा सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्म ब्यारेकमा क्षति पुगेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार हावाहुरीका कारण विभिन्न स्थानमा भवनका छाना उडेको र संरचनामा क्षति पुगेको छ । धनकुटा नगरपालिका–५ बालमन्दिर क्षेत्रमा एक दर्जनभन्दा बढी घरका छाना उडाएको स्थानीयले बताएका छन् । यस्तै साप्ताहिक रूपमा बिहीबार हाट लाग्ने बिहीबारे हटियामा ठूला रुख ढलेर पसल कबलमा क्षति पुगेको छ ।

खोटाङमा पनि विद्युत अवरुद्ध

सोमबारको हावाहुरीका कारण खोटाङमा पनि विद्युत् अवरुद्ध भएको छ । उदयपुरको जलजलेबाट ल्याइएको ३३ केभी प्रसारण लाइन र सोलुबाट जोडिएको ३३ केभी प्रसारण लाइन बिग्रिदा सोमबार साझदेखि विद्युत् अवरुद्भ  हुँदा करिब ३० हजार परिवार प्रभावित बनेका छन् । 

नेपाल विद्युत् प्राधिकरणका प्राविधिक प्रमुख रामबबहादुर श्रेष्ठले अहिलेसम्म कहाँ बिग्रियो भन्ने नै पत्ता लगाउन नसकिएको बताए । ‘अहिलेसम्म कहाँ बिग्रृयो भन्ने नै पत्ता लागेको छैन, ठूलै क्षति भयो जस्तो छ।’

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

डम्बरसिंह

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully