बालिकाको पेटमा डेढ महिनाको गर्भ, बलात्कार आरोपमा आफन्त नै पक्राउ

गत माघ १३ गते बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको जाहेरी परेपछि आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए ।

चैत्र ३, २०८२

तुलाराम पाण्डे

Girl's 1.5-month-old pregnancy, relative arrested on rape charges

What you should know

कालीकोट — गणित सुधार्न भन्दै पढाइका लागि साथीको घरमा आउजाउ गर्थिन् । घरमा आएका बेला साथीका बुवाले के खायौ ? कसो गर्‍यौ भनेर चासो दिन्थे । गाउँकै ती पुरुष नाताले उनका हजुरबुवा पर्छन् । भेट्यो कि केही समस्या परे भन्नु है भन्थे । कहिलेकाहीँ सुटुक्क पैसा पनि दिन्थे । औधी माया देखाउँथे । गत पुसमा केही सामान आवश्यक परेमा किन्नु है भनेर ५ सय रुपैयाँ दिएका थिए । 

साथीकी आमा छोरा–छोरी पढाउन गत तिहारदेखि काठमाडौंमा छन् । घरमा पत्नी नभएका ती पुरुषको मनमा पाप पलाएको उनलाई पत्तै भएन । आफ्ना आमा–बुवा घरमा नभएकाले अभिभावक जस्तो ठानिन् । नियमित आउजाउ भइरहेको थियो । तर, गत माघ १२ मा खाना पाक्न ढिलो भएकाले उनी साथीको घर गइनन् । अर्को दिन साँझ जाँदा हिजो किन आइनौ भनेर सोधी खोजी गरे । ‘तिमी नआउँदा त मलाई नियास्रो लाग्छ भने,’ बालिकाले सुनाइन्,‘ त्यसदिन साँझ ९ बजेसम्म पढ्यौं । अनि साथी र म सवा ९ बजेतिर भुइँमा ओछ्यान लगाएर सुत्यौं ।’ 

साथीका बुवा छुट्टै सुतेका थिए । तर, राति १० बजेतिर एक्कासि सुतेको ठाउँमा आएर जबरजस्ती गर्न थालेको उनले सुनाइन् । ‘कराउन खोजेँ । मुख थुनेर जबरजस्ती गरे,’ उनले भनिन्, ‘अनि बाहिर लगेर ५ सय दिए । कसैलाई नभन्नु, भन्यौ भने मारी दिन्छु, नभने माया गर्छु भने ।’ जिल्लाकी १३ वर्षीया बालिकाका अनुसार माघ १४ को बिहान साथी चर्पी गएका बेला पनि जबरजस्ती गरेको सुनाइन् । रास्कोट–१ का ५३ वर्षीयले जबरजस्तीकरणी गरेर गर्भवती बनाएको खुलेको छ ।

गत माघ १३ मा घरमा आएका बेला बालिकालाई ललाइफकाइ बलात्कार गरेर गर्भवती बनाएको जाहेरी परेपछि फागुन २७ मा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए । ‘छोरीसँग घरमा आएका बेला पैसा दिएर बलात्कार गरेको बुझिएको छ,’ उनले भने ‘जन्मदर्तामा बालिकाको उमेर १० वर्ष उल्लेख छ ।’ तर, वास्तविक उमेर १३/१४ वर्षजस्तो देखिने खत्रीले बताए । उनका अनुसार बालिकाका बुवा दोस्रो विवाह गरेर भारतको बैंग्लोर गएका छन् । त्यसपछि आमाले पनि दोस्रो बिहे गरिन् । बालिका घरमा हजुरआमासित बस्दै आएकी छन् । 

आरोपितकी छोरी र पीडित बालिका सँगै पढ्ने भएकाले साथीको घरमा आउजाउ भइरहन्थ्यो । डीएसपी खत्रीले बालिकाले भने अनुसार पीडकले बलात्कार गरेपछि कसैलाई भने मारी दिने धम्की दिएका थिए । आरोपित व्यक्तिले पहिलो पटक ५, दोस्रो पटक ५ र तेस्रो पटक २ सय रुपैयाँ दिएको बालिकाले बयानमा उल्लेख गरेकी छन् । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गणेश ज्ञवालीले ललाइफकाइ करणी गरेको देखिएको बताए । ‘आरोपितले पनि स्वीकार गरिसकेका छन्,’ उनले थपे, ‘जोखिममा रहेकी बालिकाको अवस्थाको फाइदा उठाएको देखिन्छ ।’ 

फागुनमा महिनावारी नभएपछि सोधीखोजी गर्दा जबरजस्ती करणीमा परेको खुलेको बालिकाकी फुपूले बताइन् । त्यसपछि इलाका प्रहरी कार्यालय रास्कोटबाट खटिएका प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । फागुन २८ मा जाहेरी परेको हो ।

पक्राउ गरेर जिल्ला प्रहरीको हिरासतमा राखिएका आरोपीमाथि अनुसन्धानका लागि १२ दिनको म्याद थप गरिएको छ । मान्मस्थित सेफ हाउसको संरक्षणमा राखिएकी बालिकालाई अहिले जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा राखिएको छ ।

ओसीएमसीमा उनलाई आवश्यक उपचार, काउन्सिलिङ र कानुनी सहायताका लागि राखिएको प्रहरीले जनाएको छ । बालिकाको पेटमा डेढ महिनाको गर्भ रहेको ओसीएमसीकी सिनियर अनमि तथा काउन्सिलर दुर्गा शाहीले बताइन् । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully