भरतपुरको डिभिजन सडक कार्यलयका डिभिजन प्रमुख नारायणप्रसाद लामिछानेले छिट्टोभन्दा छिटो ठेक्काका लागि सूचना निकाल्ने तयारी गरेको जानकारी दिए ।
What you should know
चितवन — गएको बर्खायाममा नारायणगढ-मुग्लिन सडकको तुइनखोलामा पहिरो खस्दा यात्रुहरुले निकै सास्ती पाए । हिउँदमा बिर्सदै गएको यो पहिरोको त्रास गएको हप्ता आएको हल्का वर्खासँगै फेरि सुरु भएको छ । गएको शुक्रबार साँझ बर्खासँगै तुइनखोलामा ढुङ्गा खस्न लाग्यो । सडक डिभिजनले मेशिनले ढुङ्गा हटाउनु पर्यो । शनिबार त्यहाँ उज्यालोका लागि बत्ती राख्ने काम भयो ।
रातको समयमा पहिरो या ढुङ्गा खस्दा टाढाबाट प्रष्टसँग देख्न सकियोस भनेर भरतपुरको डिभिजन सडक कार्यालयले त्यहाँ दुईवटा फ्लड लाइट राखेको छ । गएको बर्खायाममा लगातार ५८ घण्टासम्म बाटो रोकेको तुइनखोलाको पहिरो नियन्त्रणका लागि यो हिउँदमा के के काम भयो ? सडक कार्यालयका अधिकारीहरु बजेट प्रवन्ध भएको तर हालसम्म फिल्डमा काम सुरु नभएको बताउँछन् ।
‘२५ करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ । यो पुरै रकम तुइनखोलाको काममा मात्रै नलाग्न सक्छ । अन्यत्र पनि काम गर्नु छ’ भरतपुरको डिभिजन सडक कार्यलयका डिभिजन प्रमुख नारायणप्रसाद लामिछानेले भने । उनले छिट्टोभन्दा छिटो ठेक्काका लागि सूचना निकाल्ने तयारी कार्यालयले गरेको जानकारी दिए । दुई आर्थिक वर्षका लागि बजेट सुनिश्चित भएको छ । यो वर्ष नै सबै काम पूरा नहुने लामिछानेले बताए ।
नारायणगढ- मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी- पश्चिम भेगसँग जोड्ने मुख्य सडक हो । यो सडकको मुग्लिन नजिक तुइनखोलामा लगातार पहिरो खसेर पहाड नै पुरै नाङ्गो भएको छ । पहिरोको लम्बाइ १६५ मिटर छ । १०५ मिटरसम्म माथिबाट पहिरो खसेको छ । बखामा यो क्षेत्र उच्च जोखिम हुन्छ ।
यो ठाउँमा दुई वर्षअघि पहिरो खस्ने र लामो समय बाटो थुनिन सुरु भएको हो । डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले यो बर्खामा गएको असार तीन गतेबाट तुइनखोलामा पहिरो खस्न सुरु गरेको जानकारी दिए । त्यसयता पटक- पटक गरेर तुइनखोलाको पहिरोका कारण १८४ घण्टा बाटो अवरुद्ध भएको उनले बताए । सवैभन्दा ठूलो पहिरो असोज तीन र सात गते आएको थियो ।
असोज तीन गतेको पहिरोले लगातार ४६ घण्टा र सात गतेको पहिरोले लागातर ५८ घण्टा बाटो अवरुद्ध भएको इन्जिनियर घिमिरेले बताए । दैनिक १० हजारभन्दा बढी साना ठूला गाडी, बस र सामान ढुवानी गर्ने ट्रकहरु ओहरदोहर गर्ने यो सडक राजधानीको जीवन रेखा अर्थात लाइफ लाइन हो । यस्तो सडक लामो समय बन्द हुँदा यात्रुलाई हैरानी त हुन्छ नै राजधानीको आपूर्ती व्यवस्थामासमेत असर पर्दछ ।
लगातार पहिरो जाँदा पहाडको बाहिरी तह कमजोर छ । ठूला साना ढुङ्गा जुन सुकै बेला सडकमा बजारिन सक्ने र बर्खायाममा फेरि ठूलो पहिरो जाने खतरा छ । यसलाई रोक्न ‘रक एङ्गरिङ’ र ‘रक नेटिङ’ गर्नु पर्ने डिभिजन सडक कार्यालयका प्रमुख लामिछानेले बताए । सडक विभागको टोलीले तुइन खोलाको पहिरो नियन्त्रणका लागि गएको असोज २१ मा नै स्थलगत अध्ययन गरेको थियो ।
बाहिर देखिएका चट्टानहरु सडकमा नखसुन भनेर त्यस्ता चट्टानलाई छेडेर स्टीलको बलियो रड र कंक्रिट राखेर पहाडको कडा भागसँग जोड्ने विधिलाई एङ्करिङ भनिन्छ । त्यसै गरी साना ढुंगाहरुलाई तल झर्नबाट रोक्न धातुको विशेष खाले नेट अर्थात जालीले पहाडी पाखो ढाक्ने विधिलाई नेटिङ भनिन्छ । यी दुई काम गरेपछि मात्रै तुइनखोलाले समस्या नदिने प्राविधिकहरुको आँकलन छ ।
तुइन खोलाको पहिरो नियन्त्रणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्बाट सिफारिस भए अनुसार अर्थ मन्त्रालयले गएको पुसमा बजेट सहमति दिएको सडक कार्यालयका अधिकारीहरुले बताए । सडक विभाग हुँदै भरतपुरको डिभिजन सडक कार्यालयमा माघ २ मा यो जानकारी आएको थियो । जसमा २५ करोड रुपैयाँ दुई आर्थिक वर्षमा खर्च गर्नुपर्ने उल्लेख छ ।
यो जानकारीपछि सडक कार्यालयले खरिद गुरुयोजना बनाएर माघ २३ मा स्वीकृतिको लागि सडक विभागमा पठाएको थियो । विभाग हुँदै मन्त्रालयबाट खरिद गुरुयोजना स्वीकृत भएपछि ठेक्काका लागि सूचना प्रकाशित हुने डिभिजन सडक कार्यालयका प्रमुख नारायणप्रसाद लामिछानेले बताए ।
सूचना निस्केर ठेक्का सम्झौता गरी फिल्डमा काम सुरु गर्न दुई महिनासम्म लाग्न सक्दछ । चैत्रको सुरुमै ठेक्काका लागि सूचना निस्के पनि जेठमा काम सुरु हुन सक्छ । गत वर्ष असारदेखि नै पहिरो सुरु भएका कारण बर्खा सुरु नहुँदै काम सक्ने चाप छ । ‘रक एङ्करिङ’ र ‘रक नेटिङ’ गर्नुभन्दा अघि सजिलै झर्न सक्ने सम्भावना रहेका माटो, चट्टान र गेग्रानहरु पुरै झारेर सफा गर्नु पर्दछ ।
यसका लागि बाटो बन्द गरेर काम गर्नुपर्ने अवस्था पनि आउन सक्ने सडक कार्यालयका अधिकारीहरु बताउँछन् । नारायणगढ- मुग्लिन सडकको तुइन खोलामा मात्रै नभएर अन्य ठाउँमा पनि पहिरोको जोखिम यथावत छ । तुइनसँगै नाम्सीमा पहिरोको धेरै नै उच्च जोखिम छ । यसका साथै जलबिरे नजिक पनि माथिबाट ढुङ्गा झर्न सुरु भएको छ । सामान्यदेखि अति उच्च जोखिमका ५१ वटा ठाउँछन् ।
तुइन र नाम्सीको दुईवटा ठाउँ अति उच्च जोखिमग्रस्त क्षेत्र हुन् । २६ वटा मध्यम, १४ वटा सामान्य र नौ क्षेत्रमा पहिरोको उच्च जोखिम छ ।
