प्रधानमन्त्री कार्कीले स्वकीय सचिव श्रेष्ठलाई बनाइन् प्रकृति संरक्षण कोषको अध्यक्ष

प्रधानमन्त्री नियुक्त भएसँगै कार्कीले सर्वोच्चको सूचना प्रविधि महाशाखामा कार्यरत नासु श्रेष्ठलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन् । कार्की प्रधानन्यायाधीश हुँदा श्रेष्ठ पेशी व्यवस्थापनको जिम्मेवारीमा थिए ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki appoints personal secretary Shrestha as chairperson of Nature Conservation Fund

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरेकी छिन् । 

प्रधानमन्त्री एवं कोषका संरक्षक कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । श्रेष्ठ प्रधानमन्त्री कार्कीका स्वकीय सचिवसमेत हुन् । 

यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनीत गरिएको हो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ । सिन्धुलीका श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । 

प्रधानमन्त्री नियुक्त भएसँगै कार्कीले सर्वोच्चको सूचना प्रविधि महाशाखामा कार्यरत नासु श्रेष्ठलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन् । कार्की प्रधानन्यायाधीश हुँदा श्रेष्ठ पेशी व्यवस्थापनको जिम्मेवारीमा थिए । 

त्यही पुरानो चिनजान र विश्वासका आधारमा कार्कीले कम्प्युटर अपरेटर पदमा कार्यरत उनलाई २९ भदौमा प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन् । सचिवसरहको सेवा सुविधा पाउने प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त भएको चौथो दिन २ असोजमा श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिवसरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको स्वकीय सहसचिव नियुक्त गरेका थिए ।

जेन-जीलगायत विभिन्न पक्षबाट आलोचना भएपछि प्रधानमन्त्री कार्कीले सचिवालयको संख्या घटाएर ६ जना कायम गरेकी थिइन् । 

कान्तिपुर

Link copied successfully