लेबनानमा नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा आक्रमण, सैनिक सुरक्षित

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस भन्छन्, ‘शान्ति सैनिक र उनीहरूका बेसमा हुने आक्रमण पूर्ण रूपमा अस्वीकार्य छ र यस्तो कार्य तुरुन्त रोकिनुपर्छ’ 

चैत्र १, २०८२

गौरव पोखरेल

Nepali peacekeepers' battalion headquarters attacked in Lebanon, soldiers safe

काठमाडौँ — राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको छ । राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस लेबनानको भ्रमणमा रहेका बेला यो घटना भएको हो ।

राष्ट्रसंघले ‘सेक्युरिटी लेभल–३’ लागू गराएपछि ‘यूएन प्रोटोकल’ अनुसार एक साताअघिबाटै नेपाली सेना बंकरमा बस्न थालेको थियो । सुरक्षा अवस्थाअनुसार राष्ट्रसंघले यो ‘प्रोटोकल’ परिवर्तन गर्छ ।  नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार शुक्रबार बेलुकी नेपाली शान्ति सैनिक रहेको मैस अल–जाबालमा एक्कासि ‘केही विस्फोट’ भएको हो । ‘दक्षिण लेबनानको बटालियन हेडक्वार्टरको एक घरमा क्षति पुगेको छ, त्यहाँ भएका व्यक्तिगत सामानसमेत नष्ट भएका छन्,’ उनले भने, ‘तर, कुनै मानवीय क्षति भएको छैन, सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् ।’  

लेबनानमा ५ सय ४० जना नेपाली सैनिक र १३ जना स्टाफ अधिकृत कार्यरत छन् । तीमध्ये आक्रमण भएको ठाउँमा कति थिए भन्ने स्पष्ट भएको छैन । ‘बटालियन हेडक्वार्टरमा सैनिकहरूको आउजाउ भइरहन्छ, शुक्रबार साँझ सबै बंकरमा हुनुहुन्थ्यो,’ प्रवक्ता बस्नेतले भने । अहिले लेबनानको शान्ति मिसनमा नेपाली सेनाका उपरथी मानबहादुर महरा ‘डेपुटी फोर्स’ कमान्डर छन् ।

राष्ट्रसंघले ‘सेक्युरिटी लेभल–३’ लागू गराएपछि ‘यूएन प्रोटोकल’ अनुसार एक साताअघिबाटै नेपाली सेना बंकरमा बस्न थालेको थियो । सुरक्षा अवस्थाअनुसार राष्ट्रसंघले यो ‘प्रोटोकल’ परिवर्तन गर्छ । 

‘बाहिरको अवस्थाअनुसार यूएन हेडक्वार्टरले सुरक्षा प्रोटोकल १, २ र ३ मा छुट्याउँछ, त्यसमा के गर्न पाइने/नपाइने भन्ने मापदण्ड छन्,’ नेपाली सेनाका अर्का एक उच्च अधिकारीले भने, ‘त्यसअनुसार ३ नम्बरमा हुँदा फौज बाहिर निस्किन पाउँदैन, २ मा हुँदा तोकिएअनुसार निश्चित अवधिका लागि बाहिर हिँड्न मात्र पाइन्छ ।’ दुवै अवस्थामा ‘अपरेसनल’ गतिविधि भने ठप्प रहन्छ ।

विस्फोट कताबाट भएको हो भन्ने विषयमा राष्ट्रसंघले अनुसन्धान गरिरहेको सैनिक प्रवक्ता बस्नेतले बताए । मध्यपूर्वका गतिविधिलाई प्राथमिकता दिने दुबईको ‘द नेसनल’ ले लेबनानको सरकारी समाचार एजेन्सीमा इजरायलले त्यो आक्रमण गरेको आरोप लगाइएको उल्लेख गरेको छ, तर राष्ट्रसंघले अहिलेसम्म कसैलाई दोषी ठहर गरेको छैन ।

 ‘घटनाबारे अनुसन्धान सुरु गरेका छौं, शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न सबै पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं,’ युनिफिलको वक्तव्यमा भनिएको छ । गत साता दक्षिण लेबनानको कौजाह सहरमा रहेको पोस्टमा आक्रमण हुँदा घानाका तीन शान्ति सैनिकसमेत घाइते भएका थिए । त्यो आक्रमण कसले गरेको भन्ने स्पष्ट नभए पनि लेबनानका राष्ट्रपति जोसेफ आउनले त्यसका लागि इजरायल जिम्मेवार रहेको बताएका थिए । 

लेबनानको स्वास्थ्य मन्त्रालयअन्तर्गत आपत्कालीन ‘अपरेसन सेन्टर’ले शुक्रबार बेलुकी सार्वजनिक गरेको विवरणअनुसार १८ फागुनदेखि इजरायलले सुरु गरेको आक्रमणपछि शुक्रबारसम्म ७ सय ७३ जनाको ज्यान गएको छ भने १ हजार ९ सय ३३ घाइते भएका छन् । राष्ट्रसंघका महासचिव गुटेरसले घानाका घाइते सैनिकलाई शुक्रबार भेटेर अवस्थाबारे जानकारी लिएका थिए । ‘शान्ति सैनिक र उनीहरूका बेसमा हुने आक्रमण पूर्ण रूपमा अस्वीकार्य छ र यस्तो कार्य तुरुन्त रोकिनुपर्छ,’ उनले भने । करिब एक वर्षअघि लेबनान र इजरायलबीच भएको युद्धविराम सम्झौताले पूर्ण रूपमा हिंसा अन्त्य गर्न नसकेको समेत उनले उल्लेख गरेका छन् । त्यसपछि हिजबुल्लाह र इजरायली सेना दुवैले युद्धविराम सर्तको उल्लंघन गरेको उनको भनाइ छ ।  

यसअघि इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले १५ असोज २०८१ मा लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहलाई समाप्त पार्न भन्दै स्थल कारबाही थालेको थियो । त्यसबेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन चेतावनीसमेत दिएका थिए । तर, राष्ट्रसंघले शान्ति स्थापनाका लागि खटिएको सैनिक फिर्ता नहुने जवाफ दिएको थियो । त्यसबेला हवाई आक्रमणमा श्रीलंकाका दुई शान्ति सैनिक घाइते भएका थिए । राष्ट्रसंघको निर्देशनअनुसार लेबनानको सीमा क्षेत्रमा शान्ति स्थापनार्थ नेपाली सेना सन् १९७८ देखि खटिँदै आएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयअन्तर्गत आपत्कालीन ‘अपरेसन सेन्टर’ले शुक्रबार बेलुकी सार्वजनिक गरेको विवरणअनुसार १८ फागुनदेखि इजरायलले सुरु गरेको आक्रमणपछि शुक्रबारसम्म ७ सय ७३ जनाको ज्यान गएको छ भने १ हजार ९ सय ३३ घाइते भएका छन् । 

यसअघि ३ फागुन २०८१ मा लेबनानको मिसनमा दुईवर्षे जिम्मेवारी पूरा गरेर स्वदेश फर्किने क्रममा नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल आक्रमणमा परेका थिए । जिम्मेवारी पूरा गरेर स्वदेश फर्किने क्रममा राति उनको गाडीलाई प्रदर्शनकारीले रोकेर दुर्व्यवहार गरेका थिए भने गाडीमा आगजनी गरेका थिए । त्यसक्रममा उनको टाउकोमा चोट लागेको थियो । गाडीमा रहेका चार नेपाली शान्ति सैनिकलाई पछि लेबनानी सेनाले अस्पताल लगेको थियो । पछि त्यो घटनामा संलग्न रहेको आरोपमा लेबनानले २५ जनालाई नियन्त्रणमा लिएको थियो ।

लेबनानबाहेक नेपाली शान्ति सैनिक खटिएको सिरियामा पनि कहिलेकाहीं नेपाली सैनिक बंकरमा बस्ने गरेका छन् । ‘त्यहाँ पनि यूएनको प्रोटोकलअनुसार फरकफरक अवस्थामा टोली रहन्छ,’ एक सैनिक अधिकारीले भने । नेपाल लामो समय शान्ति मिसनमा सैनिक पठाउनेमध्ये पहिलो नम्बरमा थियो, अहिले ४ हजार ४ सय ९७ सैनिकको उपस्थितिसहित विश्वकै दोस्रो स्थानमा रहेको छ ।

पहिलोमा रहेको रुवान्डाले ४ हजार ८ सय ४८ शान्ति सैनिक खटाएको छ । त्यसपछि क्रमशः बंगलादेशबाट २ हजार ३ सय २७, भारतबाट ४ हजार २ सय ६७, पाकिस्तानबाट २ हजार ४ सय १४, इन्डोनेसियाबाट २ हजार ८४, घानाबाट २ हजार २७, चीनबाट १ हजार ६ सय ६२ सैनिक शान्ति मिसनमा खटिएका छन् । 

सुरक्षा निकायमा राष्ट्रसंघको मिसनमा जाने विषयलाई आकर्षक अवसर मान्ने गरिन्छ । तर, पछिल्लो समय यूएनले नै बजेट कटौती गरेपछि मिसनमा जानेको संख्या निरन्तर घट्दो छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully