खाँदबारी नगरपालिकालाई १६औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

खाँदबारी नगरपालिकाले प्रतियोगिताभर सानदार प्रदर्शन गर्दै कुल ३३ स्वर्ण, १७ रजत र ४ कास्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो।

चैत्र १, २०८२

दीपेन्द्र शाक्य

Khandbari Municipality wins 16th President's Running Shield title

संखुवासभा — सभापोखरी गाउँपालिकाको बाह्रबिसेमा शनिबार साँझ सम्पन्न  १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खाँदबारी नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ।

खाँदबारी नगरपालिकाले प्रतियोगिताभर सानदार प्रदर्शन गर्दै कुल ३३ स्वर्ण, १७ रजत र ४ कास्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो। विभिन्न विधामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेपछि खाँदबारीले सहज रूपमा शिल्ड आफ्नो पोल्टामा पार्न सफल भयो।

प्रतियोगितामा आयोजक क्षेत्रकै सभापोखरी गाउँपालिका दोस्रो स्थानमा रह्यो। सभापोखरीका खेलाडीहरूले पनि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै १९ स्वर्ण, १९ रजत र १३ कास्य पदक जिते। स्वर्ण पदकमा केही पछि परे पनि सभापोखरीले अधिकांश खेलमा कडा चुनौती प्रस्तुत गरेको थियो।

त्यसैगरी धर्मदेवी नगरपालिका तेस्रो स्थानमा सीमित भयो। धर्मदेवीले प्रतियोगितामा ३ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै समग्रमा तेस्रो स्थान सुरक्षित गर्‍यो। अन्य स्थानीय तहका खेलाडीहरूले पनि उत्साहजनक सहभागिता जनाएका थिए।

जिल्ला स्तरको यस प्रतिष्ठित प्रतियोगितामा संखुवासभाका १० स्थानीय तहका खेलाडीहरू सहभागी भएका थिए। एथलेटिक्स, भलिबल, कबड्डीलगायतका विभिन्न खेलहरूमा विद्यार्थी खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताले जिल्लाका विद्यालयस्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिका भने स्वर्ण पदकविहीन बने। ती स्थानीय तहका खेलाडीहरूले केही विधामा राम्रो प्रयास गरे पनि स्वर्ण पदक जित्न सफल हुन सकेनन्।

प्रतियोगिता जिल्ला खेलकुद विकास समिति संखुवासभाको आयोजनामा सम्पन्न भएको हो। आयोजकका अनुसार प्रतियोगिताले जिल्लामा खेलकुद विकास, विद्यार्थीमा अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

 उत्कृष्ट खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार पार्ने विश्वास गरिएको छ।

दीपेन्द्र

Link copied successfully