अफवाह नफैलाउन र संवेदनशील सामग्री पोस्ट नगर्न यूएईका नेपालीलाई दूतावासको आग्रह

दूतावासले आइतबार जारी गरेको ‘एडभाइजरी-३’ मा यस्ता गतिविधि यूएईको कानुनविपरीत हुने भएकाले त्यसबाट टाढा रहन नेपालीहरूलाई सचेत गराइएको छ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Embassy urges Nepalis in UAE not to spread rumors and post sensitive content

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) मा विकसित सुरक्षा परिस्थितिकाबीच अबुधाबीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह फैलाउने, भ्रामक टिप्पणी गर्ने तथा सुरक्षा अवस्थाबारे भ्रम सिर्जना हुने फोटो र भिडियो पोस्ट नगर्न आग्रह गरेको छ।

दूतावासले आइतबार जारी गरेको ‘एडभाइजरी-३’ मा यस्ता गतिविधि यूएईको कानुनविपरीत हुने भएकाले त्यसबाट टाढा रहन नेपालीहरूलाई सचेत गराइएको छ। दूतावासका अनुसार यूएईको कानुनले बन्देज गरेका गैरकानुनी वा अनधिकृत कार्यमा संलग्न भएमा कम्तीमा १ देखि ३ वर्षसम्म जेल सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

दूतावासले यूएई सरकारले तोकेका सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न र आफूले प्राप्त गरेका आधिकारिक जानकारी साथीभाइ तथा समुदायमा पनि पुर्‍याउन अनुरोध गरेको छ। वर्तमान परिस्थितिको गाम्भीर्यतालाई बुझ्दै सुरक्षा अवस्थाबारे भ्रम फैलिने किसिमका तस्वीर वा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न तथा कुनै पनि सामग्री प्रसारण वा प्रचार नगर्न दूतावासले पुनः आग्रह गरेको छ।

त्यस्तै, हवाई सुरक्षा प्रणालीद्वारा निस्तेज पारिएका र जमिनमा झरेका अवशेष (डेब्रिस) को फोटो खिच्ने, नजिक जाने वा छुने जस्ता गतिविधि नगर्न पनि नेपाली समुदायलाई चेतावनी दिइएको छ।

अद्यावधिक जानकारीका लागि अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्यदूतावासको आधिकारिक फेसबुक पेज हेर्न दूतावासले आग्रह गरेको छ। साथै यूएईका आधिकारिक निकायहरूले जारी गर्ने सूचनामार्फत मात्र जानकारी लिन पनि नेपालीहरूलाई अनुरोध गरिएको छ।

कान्तिपुर

Link copied successfully