पुनर्वास क्षेत्रमा हाल नेपालका सबैजसो जिल्लाबाट आएका बासिन्दाको बसोबास छ । स्थानीयका अनुसार सुरुमा सुदूरपश्चिमको बझाङ, डोटी र धादिङको झर्लाङका बासिन्दालाई यहाँ जमिन दिएर राखिएको थियो ।
What you should know
कञ्चनपुर — फराकिला ग्राभेल सडक धमाधम कालोपत्र भएका छन् । बस्ती आसपासका फाँट गहुँ, उखु, मकैले हरिया देखिएका छन् । तोरी फुलेर पहेँलपुर भएका खेत हेर्दा गाउँबस्तीको दृश्य मनै लोभ्याउने देखिन्छ । उहिले रैथाने थारु समुदायको बस्तीबाहेक अहिलको पुनर्वास क्षेत्रमा घनाजंगल थियो ।
बस्ती बिस्तारका बखतको यहाँको उराठ अवस्था देखेका स्थानीय बासिन्दा अहिलेको गुल्जार पुनर्वास क्षेत्र देख्दा आफै चकित हुने गरेका छन् । विसं २०२८ मा ३ वर्षकै उमेरमा आमाबुवासँग स्याङ्जाबाट बसाइँ सरेर यहाँ पुगेका पुनर्वास नगरपालिकाका प्रमुख तोयानाथ शर्मा यहाँको अवस्था तुलना गर्दा आफै अचम्भित हुने गरेको बताउँछन् ।
उनलाई त्यतिबेला बस्ती बस्दाका धेरथोर कुरा थाहा छन् । आफैले देखेभोगेको भन्दा पनि आमाबुवा र अघिल्लो पुस्ताका स्थानीयबाट सुनेका कुराले उनी पुनर्वासको बस्ती बस्दाको अवस्थाबारे रामै्र जानकार छन्। ‘जताततै जंगल थियो, बिचफाँटा र दोदा नदी किनारमा थारु समुदायको कहीँकतै मात्रै बसोबास थियो,’ शर्माले भने, ‘जब राजा महेन्द्रले देशका विभिन्न क्षेत्रबाट पहिरोलगायतका विपद्का कारण विस्थापित हुन पुगेकाहरुलाई यहाँ ल्याउने कुरा आयो, त्यसपछि अन्य ठाउँका पनि आउन थाले ।’ उनको परिवार पनि त्यहीँ सुनेर स्याङ्जाबाट यहाँ आइपुगेको हो ।
शर्माका अनुसार सुरुमा धादिङको झर्लाङबाट सुक्खा पहिरोका कारण विस्थापित भएका परिवार यहाँ आएका हुन् । उनीहरु बसेको क्षेत्रको नाम ‘च’ गाउँ दिइयो । त्यसपछि अन्य क्षेत्रबाट पनि बसोबासका लागि आउन थाले । त्यसपछि ‘क’ देखि ‘ङ’ सम्मका थप बस्ती बिस्तार भए । तिनीहरुको नाम अहिले पृथ्वी, सीता, भानु, जनक, त्रिभुवन, राम र अरनिको बस्तीलगायतका राष्ट्रिय विभूतिहश्रका नामबाट नामाकरण गरिएको छ ।
यस्तै २०२९ सालमा लमजुङबाट आएर हाल ‘ङ’ गाउँमा बसोबास गर्ने ८२ वर्षीय ठाकुर बराल ५ दशकअघि र हालको पुनर्वास क्षेत्रको अवस्थाबारे जानकारी भएका पाका व्यक्तिमध्ये एक हुन् । उनका अनुसार बसोवास सुरु हुनुअघि अहिलको पुनर्वास क्षेत्रमा सालको घना जंगल थियो । ‘सीमा क्षेत्रमा चोरडाँकाको त्रास हुन्थ्यो, पुराना थारुगाउँ पुनर्वास क्षेत्र भन्दा टाढा थिए,’ उनले भने, ‘अहिलको पुनर्वास क्षेत्र त्यसबखतको भन्दा आकाश जमिनको फरक छ ।’
उनका अनुसार त्यतिबेला नजिकैको धनगढी बजार पुग्न पनि निकै गाह्रो थियो । गर्मी असाध्यै हुने, सर्प बिच्छी र जंगली जनावरको त्रास बेग्लै । धनगढी आउजाउ गर्दा बर्षायाममा दोदा नदी वारपार गर्नै कठिन अवस्था थियो । पुल बनेपछि मात्रै सहज भएको उनले सुनाए । पुनर्वास क्षेत्रमा बसोबास सुरु भएका बेलादेखिको अवस्था सम्झदै बराल भन्छन्, ‘एकाध प्राइमरी स्कुल मात्र थिए । अहिले त गाउँबस्तीमा सरकारी र बोर्डिङ स्कुल धमाधम खुलेका छन् । हामीलाई पुनर्वास कम्पनीले ५ हजारमा १ कठ्ठा जग्गा वितरण गरेको हो ।’
अहिले जग्गाको मूल्य गाउँतिरै ९/१० लाख कठ्ठाको परेको छ भने बजार आसपासमा ७० लाख प्रतिकठ्ठा पुगेको छ । ‘सुरुमा कम्पनीले विश्व बैंकको कार्यक्रम अनुसार केही बस्तीमा १० परिवारको समूह बनाएर सामूहिक खेती गर्ने सुरु गर्यो,’ उनले भने, ‘३ वर्षसम्म यहाँ कपास खेती पनि भयो, कपासमा किरा बढी लाग्न थालेपछि बन्द भयो । हाल चना, मुसुरो, तोरी, उखु र केराखेतीको प्रचलन बढेको छ ।’ उनका अनुसार हालका वर्षमा वैदेशिक रोजगारीमा जाने बढेका छन् ।
सुरुमा यहाँ बसोबासका लागि आउनेलाई ३ विघा जमिन दिइएको थियो । त्यसपछि दोस्रोपटक आउनेलाई अढाई विघा र तेस्रोमा आउनेलाई डेढ विघा जमिन दिइयो । ‘मैले पनि सुरुमा १ बिघा जग्गा पाए, एक वर्षपछि २ बिघा थप जग्गा पाएको हुँ,’ स्थानीय ठाकुर बराल भन्छन् । बस्ती बसाउँदा सरकारले रासन समेत दिने गरेको थियो । विश्व बैंकको सहयोगमा उपलब्ध भएको मैदा, पिठो, अण्डा, पाउडर दुध र घिउलगायत दिने गरेको स्थानीय बताउँछन् ।
अहिलेको पुनर्वास नगरपालिका क्षेत्र मुलुककै व्यवस्थित बस्तीका रुपमा चिनिन्छ । विभिन्न कारणले विस्थापित भएकाहरुलाई यहाँ बसोबासको व्यवस्था मिलाउन पुनर्वास कम्पनी नै स्थापना गरिएको थियो । नेपाल पुनर्वास कम्पनीले नै योजनाबद्ध ढंगले बस्ती बिस्तारको काम सम्पन्न गरेको थियो । सुरुवातमा कम्पनीले जग्गा बिक्रीवितरण गरेको थियो भने २०३४ सालपछि बसोबास आयोगले सुकुम्वासीलाई पनि जग्गा वितरण गरेको थियो ।
पुनर्वास क्षेत्रमा हाल धेरै जिल्लाबाट आएका बासिन्दाको बसोबास छ । स्थानीयका अनुसार सुरुमा सुदूरपश्चिमको बझाङ, डोटी र धादिङको झर्लाङका बासिन्दालाई यहाँ जमिन दिएर राखिएको थियो । त्यतिबेला बाढी र पहिरो पीडितहरुलाई पहिलो प्राथमिकतामा राखिएको थियो भने सुकुम्बासीलाई दोस्रो र प्रवासी नेपालीलाई तेस्रो प्राथमिकतामा राखिएको थियो ।
२०२८ सालदेखि १३ वर्षसम्म पुनर्वास कम्पनीको योजना प्रमुख पदमा कार्यरत रहेका बुद्धिबहादुर बुढाथोकीका अनुसार राजा महेन्द्रले भूमिसुधार ऐन आउनुअघि नै २०२० फागुनमा नवलपरासीको दुम्कौलीमा नेपाल पुनर्वास कम्पनी प्राइभेट लिमिटेड स्थापना गरेर पुनर्वासको कार्यक्रम सुरु गराएका हुन् ।
बुढाथोकीका अनुसार भारतबाट हुन सक्ने सीमा अतिक्रमण रोक्नका लागि सीमा क्षेत्रमा इजरायली प्राविधिकको सहयोगमा व्यवस्थित बस्ती विकासको क्रम सुरु भएको हो । त्यहीँ योजना अनुसार पुनर्वास कम्पनी स्थापना गरेर कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास बस्ती विस्तार भएको हो ।
नेपाल पुनर्वास कम्पनी अहिले ग्रामीण आवास तथा बस्ती विकास हुँदै राष्ट्रिय आवास कम्पनीमा परिणत भएको छ । २०२७ मा पुनर्वास कम्पनीले १० हजार विघा जमिन प्राप्त गरेर पुनर्वासको कार्यक्रम सुरु गरेको थियो । कम्पनीले ३ हजार २७० परिवारलाई कृषिमा आधारित पुनर्वास कार्यक्रम अन्तरगत बसोबास गराएको थियो । कम्पनीले ४ कट्ठादेखि ३ विघाका दरले परासन क्षेत्रमा ८ हजार ३ सय २४ र लालझाडी क्षेत्रमा १ हजार १ सय ७२ विघा जमिन वितरण गरेको कम्पनीको ‘चिनारी’ विशेषांकमा उल्लेख गरिएको छ ।
पुनर्वासको मुख्य बजार टाउन र आईबीआरडी हो । टाउन पुनर्वास कम्पनीले नै स्थापना गरेको हो भने आईबीआरडी बजार रहेको क्षेत्र विश्व बैंकको ‘अन्तर्राष्ट्रिय पुनर्स्थापना कार्यक्रम र विकासका लागि बैंक’ (इण्टरनेसनल बैंक फर रि–कन्सट्रक्सन एण्ड डेभलपमेण्ट) का लागि छुट्याइएको जमिन हो । उक्त बैंक नआएपछि २०४६ तिर चिट्ठा प्रणालीबाट ५ हजारका दरले व्यवसाय सञ्चालनका लागि घरेडी वितरण गरिएको स्थानीय बताउँछन् ।
‘उहिलेको पुनर्वास धेरै फरक भइसकेको छ, गाउँगाउँका सडक पक्की भइसकेका छन्, केही पक्की हुने क्रममा छन्,’ पुनर्वासकै डिबी लामाले भने, ‘स्थानीय सरकार आएपछि सानातिना विकासका काम सहजै हुन थालेका छन् ।’ उनका अनुसार पुनर्वासमा मुलुकको सबै क्षेत्रबाट आएका बासिन्दाको बसोबास छ ।
यस क्षेत्रका बासिन्दाको मुख्य पेशा कृषि हो । धान, गहुँ र उखुसँगै तोरी र मकै यस क्षेत्रमा उत्पादन हुने मुख्यबाली हो । पुनर्वासमै चिनी मिल खुलेपछि कृषकहरु उखु खेतीमा आकर्षित भएका छन् । तरकारी उत्पादनमा पनि यहाँका स्थानीय आकर्षित छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण उक्त क्षेत्रबाट आउने वन्यजन्तुबाट बालीनाली जोगाउन भने स्थानीयले निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको छ ।
डोकेबजार हुँदै पुनर्वाससम्मै हुलाकी सडकले समेत यस क्षेत्रमा सडक सञ्जालको विकासलाई अझ सहज बनाएको छ । यसले कैलालीको धनगढी र कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आउजाउमा पनि सहजता ल्याएको छ । सुदूरपश्चिमको अस्थायी राजधानी कैलालीको धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास क्षेत्रका तत्कालीन कालिका, परासन, त्रिभुवनवस्ती र बाइसी बिचवाका गाविसका २ वडा गाभिएर २०७१ मा पुनर्वास नगरपालिका बनेको हो ।
