घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारमाथि दबाब दिन र्याली आयोजना गरिएको हो ।
काठमाडौँ — सुर्खेतकी इनिशा विकको बलात्कार तथा हत्या घटनाका दोषीलाई कानुनी दायरामा ल्याएर अधिकतम सजाय दिन माग गर्दै स्थानीयले शान्तिपूर्ण र्याली निकालेका छन् ।
घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारमाथि दबाब दिन र्याली आयोजना गरिएको हो । सञ्जीव विश्वकर्माको संयोजनमा आयोजित र्याली चन्द्रपुर नगरपालिकाको कार्यालय अगाडिबाट सुरु भएर चपुर त्रिकोणात्मक चोकसम्म मार्चपास गरिएको थियो ।
र्यालीमा सहभागीहरूले ‘सरकार कहिलेसम्म बलात्कार?’, ‘बलात्कारीलाई फाँसी दे’, ‘इनिशालाई न्याय दे’, ‘महिला अधिकारको रक्षा गर’ र ‘महिला हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
र्यालीपछि मेनचोकमा आयोजित कोणसभामा बोल्दै संयोजक विश्वकर्माले नेपालमा यसअघि पनि यस्ता घटनामा पीडितले समयमै न्याय नपाएको उदाहरण धेरै रहेको उल्लेख गरे । यस घटनामा पनि दोषी उम्कन नपाओस् भन्ने उद्देश्यले नागरिकस्तरबाट दबाब सिर्जना गर्न र्याली आयोजना गरिएको उनले बताए ।
'ढिलो न्याय दिनु भनेको अन्याय सरह हो,' उनले भने, 'त्यसैले घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषीलाई छिटो र कडा कारबाही गरिनुपर्छ ।'
विश्वकर्माले महिला दलित भएकै कारण बलात्कारको सिकार बन्ने होइन तर दलित समुदायबाट आएकी भएकाले न्याय प्रक्रियामा ढिलाइ हुने वा घटनालाई ढाकछोप गरिने हो कि भन्ने आशंका समाजमा पैदा हुन सक्ने भन्दै त्यसतर्फ पनि राज्य संवेदनशील हुनुपर्ने बताए ।
