समानुपातिक नतिजामा किन ढिलाइ ?

आयोगका सहायक प्रवक्ता कुलप्रसाद जीसीले डिजिटली इन्ट्री गरिएको मतलाई हार्डकपी अनुसार रूजु गर्ने कार्य करिब करिब सकिन थालेको बताएका छन् ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Why the delay in proportional results?

काठमाडौँ — समानुपातिकतर्फ निर्वाचन क्षेत्रबाट डिजिटल इन्ट्री गरेको मतलाई हार्ड कपी मगाएर रूजु गर्दा अन्तिम परिणाम निकाल्न केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको परिणाम तत्कालै डिजटली इन्ट्री गर्ने र त्यसको प्रमाणिक कपी आयोगमा पठाउनुपर्छ । आयोगका एकजना अधिकारीले भने ‘डिजिटली इन्ट्री भएका मत परिणामलाई हार्डकपी अनुसार रूजु गर्दा केही ढिलाई भएको हो ।’

सबैतिरको गणना सकिइसकेको र रूजुको काम पनि लगभग पूरा हुन लागेको उनले बताए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट डिजिटली इन्ट्री भएको र त्यहाँबाट आएको हार्डकपीमा सामान्य कैफियत देखिएकाले त्यसबारे बुझ्ने कार्य भइरहेको ती अधिकारीले बताए ।

त्यो स्पष्ट हुनासाथ समानुपातिकतर्फको नतिजा निकाल्ने तयारीमा आयोग रहेको उनले उल्लेख गरे । कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये १ करोड १३ लाख १२ हजार ४ सय ५५ जना मतदानमा सहभागी भएका छन् । त्यसमध्ये १ करोड ८ लाख ४९ हजार ८२ मत सदर छन् । त्यो सबैको गणना भइसकेको छ । तर आयोगको वेबसाइटमा १ करोड ८ लाख ३५ हजार २५ जनाको मत विवरण मात्रै सार्वजनिक गरिएको छ । १४ हजार सदर मतको विवरण अझै चढाउन बाँकी देखिन्छ ।

आयोगका सहायक प्रवक्ता कुलप्रसाद जीसीले डिजिटली इन्ट्री गरिएको मतलाई हार्डकपी अनुसार रूजु गर्ने कार्य करिब करिब सकिन थालेको बताएका छन् । उनले आज अबेरसम्म भए पनि समानुपातिकतर्फको नतिजा निकाल्ने तयारी रहेको बताए ।

कान्तिपुर

Link copied successfully