प्रहरीमाथि आक्रमण हुँदा गोली चल्यो, प्रहरी सहायक निरीक्षक र युवक घाइते

सहायक निरीक्षक तामाङमाथि सनिस तितुङलगायत युवकले वियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरेर घाइते बनाएका थिए भने प्रहरीले आत्मरक्षाका लागि चलाएको पेस्तोलको गोली लागेर तितुङ घाइते भएका थिए ।

फाल्गुन २८, २०८२

प्रताप विष्ट

Shots fired during attack on police, police assistant inspector and youth injured

हेटौंडा — मकवानपुरको मनहरीमा प्रहरीमाथि सांघातिक आक्रमणपश्चात आत्मरक्षाका लागि प्रहरीले गोली प्रहार गर्दा एक युवक घाइते भएका छन् । उक्त घटनामा प्रहरी सहायक निरीक्षक दिलवहादुर तामाङ र हेटौंडा उपमहानगरपालिका–१२ हातीगौडाका १९ वर्षीय सनिस तितुङ घाइते भएका छन् ।

सहायक निरीक्षक तामाङमाथि सनिस तितुङलगायत युवकले वियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरेर घाइते बनाएका थिए भने प्रहरीले आत्मरक्षाका लागि चलाएको पेस्तोलको गोली लागेर तितुङ  घाइते भएका थिए ।

दुवै जना घाइतेको  हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीस्थित एक वृद्धाको घरमा लागु औषधसेवनको साथै झैझगडा गरिरहेको जानकारी पाएपछि पदमपोखरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली मकरी पुगेको थियो ।

प्रहरी टोली पुगेर सोधपुछ गर्ने क्रममा तितुङलगायत युवकहरुले प्रसनि तामाङको दुवै हातमा बियरको बोतल, बन्चरो, र खुकुरी प्रहार गरी घाइते बनाएका थिए । तामाङले तत्काल आत्मरक्षाका पेस्तोलबाट १ राउण्ड फायर खोलेका थिए । 

तामाङले प्रहार गरेको गोली लागेर तितुङको पेटको दाहिने साईडमा गोली लागेर घाइते भएका थिए । उक्त घटनास्थलमा बुधबार राति नै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटी नेतृत्वमा गएको थप प्रहरी टोलीले घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका– १२ रमनटारका २४ वर्षीय  सन्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका जिम्बा, थिङ र घाइते व्यक्ति विगतमा लागुऔषध, ज्यान मार्ने उद्योग र चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ । मकरीस्थित एक वृद्धाको घरमा घाइते र पक्राउ परेका युवकहरु लागुऔषध सेवन गरेर झगडा गरेर गाउँमा नै होहल्ला गरेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully