घोराहीमा लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग महोत्सव सुरु

महोत्सव उद्घाटनअघि सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिएको थियो । घोराहीको लखन पार्कबाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी महोत्सव स्थल पुगेको थियो ।

फाल्गुन २८, २०८२

दुर्गालाल केसी

Lumbini Province-level Small and Cottage Industries Festival begins in Ghorahi

What you should know

दाङ —  

घोराहीमा बिहीबारदेखि ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२’ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजनामा भएको महोत्सव चैत १५ गतेसम्म सञ्चालन हुनेछ ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित महोत्सव आयोजना गरिएको हो । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गरेका थिए ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्री न्यौपानेले सरकार र निजी क्षेत्र मिलेर उद्यमशीलता विकासका काम गर्नुपर्ने धारणा व्यक्त गरे । घरेलु उत्पादनलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्नुपर्ने विचार व्यक्त गर्दै उनले आर्थिक रूपान्तरणका लागि युवाहरूलाई घरेलु तथा साना उद्योगमा सहभागी गराउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारी र नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले साना तथा घरेलु उद्योगहरूमा युवा आकर्षण बढाउन सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डीसी, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गणेशप्रसाद अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिका केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम लमहीका प्रमुख कोमल शाही, नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका पूर्वअध्यक्ष किरणकुमार रेग्मी लगायतले महोत्सवमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सव उद्घाटनअघि सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिएको थियो । घोराहीको लखन पार्कबाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी महोत्सव स्थल पुगेको थियो । झाँकीमा विभिन्न जातजाति, भेषभूषा, कला र संस्कृति समेटिएका थिए ।

महोत्सवमा स्थानीय कलाको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिता सञ्चालन हुनेछन् । महोत्सवमा कविता प्रतियोगिता, बाल चित्रकला प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने भएका छन् । यसैगरी हरेक दिन विषय विशेष कार्यक्रम सञ्चालन हुनेछन् । जसमा रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, कृषि तथा पशुपालन विशेष र स्थानीय कला संस्कृति तथा पर्यटन विशेष कार्यक्रम सञ्चालन हुनेछन् ।

यस्तै औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्षा तथा बालबालिका विशेष, उद्यामशीलता तथा सूचना प्रविधि विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रम पनि सञ्चालन हुने आयोजकले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully