शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

स्वचालित क्यामेरा र प्राविधिक टोलीको सहकार्यमा शुक्लाफाँटामा बाघको संख्या, वासस्थान र आहारा प्रजातिको अध्ययन सुरु गरिएको छ।

फाल्गुन २७, २०८२

भवानी भट्ट

Tiger census begins in Shukla-Laljhadi-Jogbuda complex

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा राष्ट्रिय बाघ गणना सुरु भएको छ । मंगलबारदेखि क्यामेरा ट्र्यापिङ विधिबाट शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु गरिएको हो ।

चितवन–पर्सा कम्प्लेक्सबाट सुरु भएर तीन महिनापछि शुक्लाफाँटामा गणना सुरु भएको हो । मंगलबार जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले स्वचालित क्यामेरा अन गरेर बाघ गणनाको शुभारम्भ गरेका हुन् ।

‘आजै (मंगलबार) देखि क्यामेरा राख्ने र प्राविधिकहरूलाई तालिम दिने काम सुरु भएको छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुगमन तथा मूल्याङ्कन अधिकृत मनोज ऐरले भने, ‘कम्तीमा एकै पटक क्यामेराहरू १५ दिन फिल्डमा राखिनेछन् ।’ उनका अनुसार क्यामेरा जडान गर्ने र निकाल्ने दिन सहित लगाएर २० दिन हाराहारी फिल्डमा काम गरिनेछ ।

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा २ गुणा २ किलोमिटरका २ सय ६० वटा ग्रीड निर्माण गरिएका छन् । बाघ ओहोरदोहोर गर्ने क्षेत्रको पहिचान गरेर ग्रीड निर्माण गरिएका हुन् । हरेक ग्रीडमा एक जोडी स्वचालित क्यामेराहरू जडान गरिनेछ । उक्त क्यामेरा कम्तीमा १५ दिनसम्म राखिनेछ । ती क्यामेराहरूले कैद गरेका तस्बिरहरूको विश्लेषण गरेर बाघको संख्या पहिचान गरिनेछ ।

स्वचालित क्यामेराहरू बाटोको दुवैतर्फ २० सेन्टिमिटरको उचाइमा जडान गरिनेछन् । उक्त बीचमा जुनसुकै जीवजन्तु हिँडेमा पनि क्यामेराले फोटो खिच्नेछ । हरेक क्यामेरालाई २/३ दिनमा अनुगमन गरिनेछ । क्यामेराले कैद गरेका तस्बिरहरू पनि संकलन गरिनेछ ।

‘बाघको संख्या सँगै उसको वासस्थान र विचरण गर्ने क्षेत्रको पनि अहिले पहिचान गरिनेछ,’ राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमका तथ्यांक विश्लेषक समेत रहेका ऐरले भने, ‘यसले बाघको वासस्थान व्यवस्थापनसँग मानव र बाघको द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्नेछ ।’ उनका अनुसार यसरी गरिने अध्ययनलाई अकुपेन्सी सर्वे भनिन्छ ।

यसका लागि १५ गुणा १५ किलोमिटरका ग्रीड निर्माण गरिन्छन् । हरेक ग्रीडमा प्राविधिकहरूले हिँडेर र स्वचालित क्यामेरा जडान गरेर अध्ययन र अनुगमन गर्नेछन् । उनका अनुसार अकुपेन्सी सर्वेका लागि २४ ग्रीड निर्माण गरिएका छन् । ‘बाघको विचरण हुने क्षेत्र र आहारा प्रजातिको अवस्था अध्ययन गर्न सके सम्भावित द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्छ,’ ऐरले भने, ‘गणनामा हरेक वर्ष एउटै बाघ परिरहेको छ वा विगतमा परेको बाघ परेको छैन वा बाघले वासस्थान कसरी परिवर्तन गरिरहेको छ, सबै कुरा यसले देखाउँछ ।’

बाघ गणना र अकुपेन्सी सर्वे सँगै आहारा प्रजातिको पनि अध्ययन गरिनेछ । यसअघि गरिएको अध्ययन अनुसार शुक्लाफाँटा प्रति वर्ग किलोमिटर आहारा प्रजातिको घनत्व १ सय ४६ हाराहारी छ । जुन नेपालका संरक्षित क्षेत्रमा सबैभन्दा बढी हो ।

शुक्लाफाँटामा क्यामेरा ट्र्यापिङ विधिबाट २००९ देखि बाघ गणना सुरु भएको हो । हरेक ४/४ वर्षमा राष्ट्रिय बाघ गणना हुने भए पनि कम संख्या भएको र जोखिम भएको क्षेत्रमा हरेक वर्ष गणना गर्ने योजना अनुसार शुक्लाफाँटामा पनि नियमित रूपमा बाघ गणना हुँदै आएको छ । २०२२ को राष्ट्रिय गणनामा यहाँ बाघको संख्या ३६ पुगेको छ । गत वर्ष निकुञ्ज कार्यालयले गरेको गणना अनुसार उक्त संख्या बढेर ४३ पुगेको छ ।

२००९ मा पहिलो पटक क्यामेरा ट्र्यापिङ विधिबाट बाघ गणना सुरु गर्दा यहाँ बाघको संख्या ८ थियो । अहिले झन्डै ५ गुणाले बढेको छ । बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व पनि बढ्ने आशंका गरिएको छ । केही वर्षयता बाघ बस्तीमै पस्ने गरेका घटनाले स्थानीयमा डरत्रास पनि उत्पन्न भएको छ । बाघको संख्या वृद्धिसँगै द्वन्द्व न्यूनीकरणमा पनि काम गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

‘बाघको संख्या वृद्धि भएपछि वासस्थान व्यवस्थापन र आहारा प्रजातिको वृद्धि गर्नेमा विशेष जोड दिनुपर्छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालले भने, ‘अहिले विभागले पनि समयानुकूल नीतिहरू परिमार्जन गरिरहेको छ, ऐन–कानुनहरू पनि परिमार्जनको तयारी भइरहेको छ ।’ उनले सरोकारवाला सबै निकायले मानव–वन्यजन्तु दुवैको सहअस्तित्व कायम हुने गरी काम गर्नुपर्ने बताए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully