इनिशा विक मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै सुर्खेतमा प्रदर्शन

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

फाल्गुन २७, २०८२

ज्योति कटुवाल

Inisha Bik's death case: Protest in Surkhet demanding an impartial investigation

काठमाडौँ — वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवारले सुर्खेतमा प्रदर्शन गरेका छन्।

‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित पीडित परिवार र आफन्तले खबरदारी र्‍याली निकाल्दै प्रदर्शन गरेका हुन्।

गत फागुन २३ गते शनिबार बिहान ‘प्रयोगात्मक छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनीसँगै रहेका वीरेन्द्रनगर–९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।

मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully