दुबई खुल्यो, साउदी, कतार र कुवेतका नियमित उडान अझै अनिश्चित

खाडी क्षेत्रका उडानबाट एक सातामा ३ हजारभन्दा बढी यात्रु काठमाडौं आएका छन् ।

फाल्गुन २७, २०८२

सुरज कुँवर

Dubai reopens, regular flights to Saudi Arabia, Qatar, and Kuwait still uncertain

What you should know

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)का गन्तव्यहरूमा उडान क्रमशः सहज बन्दै गए पनि साउदी अरब, कतार र कुवेतका नियमित उडान अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । 

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा गरेको सैन्य हमलापछि खाडी क्षेत्रतर्फका केही उडान प्रभावित भएका थिए ।

अत्यधिक श्रमिक आवागमन हुने खाडी मुलुकतर्फ पछिल्ला आठ दिनमा ५ हजार ६८० यात्रु ओहोरदोहोर गरेका छन् । यी यात्रुहरू मुख्यतः यूएईका दुबई र शारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं हुँदै आएका–गएका उडानका यात्रु हुन् ।

विमानस्थलका अनुसार फागुन २० देखि २७ गतेसम्म एयर अरेबिया, फ्लाई दुबई र हिमालय एयरलाइन्सले सञ्चालन गरेका दुईतर्फी ४३ उडानमार्फत ३ हजार ६५२ यात्रु नेपाल आएका छन् भने २ हजार २८ यात्रु यूएईतर्फ प्रस्थान गरेका छन् ।

काठमाडौं विमानस्थलले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक सातामा नेपाल र प्रमुख खाडी गन्तव्यहरूबीच यात्रु आवागमन स्थिर देखिएको छ । यस अवधिमा कार्गो ढुवानी पनि भएको छ । विमानस्थलका अनुसार ८ सय ३२ किलोग्राम कार्गो नेपाल भित्रिएको छ भने ६ हजार ९ सय २१ किलोग्राम कार्गो निर्यात भएको छ ।

खाडी क्षेत्रको रुटका अधिकांश उडान फ्लाई दुबई, एयर अरेबिया र हिमालय एयरलाइन्सले सञ्चालन गरेका हुन् । विमानस्थलका अनुसार नियमित तालिकाअनुसार भएका यी उडानहरूले दुवै देशमा रोकिएका यात्रुलाई प्राथमिकताका आधारमा सेवा दिएका थिए ।

नेपालबाट वैदेशिक रोजगारी, व्यावसायिक यात्रा तथा पारिवारिक भ्रमणका कारण गल्फ गन्तव्यहरू अत्यन्त महत्त्वपूर्ण मानिन्छन् । तर, फागुन १६ मा इरानमा भएको हमलापछि कतार, साउदी अरब र कुवेततर्फका केही नियमित उडान अझै सञ्चालनमा आउन सकेका छैनन् ।

श्रम आप्रवासनका लागि नेपाल र खाडी क्षेत्रबीचको हवाई सम्पर्क अत्यन्त महत्त्वपूर्ण मानिन्छ । संयुक्त अरब इमिरेट्स लगायतका खाडी मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा दैनिक करिब ९० अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने गरेका छन् । सामान्य अवस्थामा खाडी मुलुकबाट मात्रै दुईतर्फी करिब २६ उडान दैनिक हुने गरेको विमानस्थलले जनाएको छ ।

हवाई अक्रामणपछि खाडी क्षेत्रका कतारसहित नौवटा देशले आफ्ना आकाशमा गैरसैनिक उडान रोक्दा कतार एयरवेजका दुईटा वाइडबडी विमान फागुन १६ पछि काठमाडौंमै रोकिए । तीमध्ये एउटा वाइडबडी विमानमा ३ सय यात्रु राखेर कतारले सोमबार एउटा जहाजलाई कतार नपठाई सिधैं काठमाडौंबाट लण्डन पठाइसक्यो । 

हाल कतारले निश्चित संख्यामा केही मुलुकहरुमा उडान खुला गरिसकेको छ । तर, नेपालमा अझै नियमित उडान हुने मिति सार्वजनिक गरीसकेको छैन । त्यसैगरी नेपाल वायुसेवा निगम र हिमाल एयरलायन्सले पनि युद्धसम्बन्धी बिमा गरेर रोकिएका यात्रुहरुका लागि दुबईमा उडान खोलेका छन् । तर, नियमित हुन अझै समय लाग्ने वायुसेवाका अधिकारीहरुले बताएका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully