ट्रम्प-पुटिनबीच फोनवार्ता, इरान र युक्रेनबारे छलफल

फोनमा ट्रम्पले रुस–युक्रेनबीचको लडाइँ अन्त्य गरी दीर्घकालीन समाधान निकाल्न वाशिङ्टन इच्छुक रहेको बताए । पुटिनले पनि युक्रेन सम्बन्धी शान्ति पहलमा ट्रम्प प्रशासनले गरेको मध्यस्थता लागि आभार व्यक्त गरे ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

Trump-Putin phone call, discuss Iran and Ukraine

काठमाडौँ — रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । झन्डै एक घण्टा लामो फोनवार्ता अन्तर्राष्ट्रिय घटनाक्रमबारे केन्द्रित रहेको क्रेमलिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले पत्रकारलाई जानकारी दिए ।

इरानमा भइरहेको युद्ध र रुस–युक्रेन द्वन्द्व समाधानका विषयमा छलफल भएको थियो । उशाकोभले दुई राष्ट्राध्यक्षबीचको संवाद ‘व्यावसायिक, खुला र रचनात्मक’ भएको उल्लेख गर्दै दुवैले आगामी दिनमा पनि नियमित सम्पर्क जारी राख्ने इच्छा व्यक्त गरेको बताए ।

फोनमा ट्रम्पले रुस–युक्रेनबीचको लडाइँ अन्त्य गरी दीर्घकालीन समाधान निकाल्न वाशिङ्टन इच्छुक रहेको बताए । पुटिनले पनि युक्रेन सम्बन्धी शान्ति पहलमा ट्रम्प प्रशासनले गरेको  मध्यस्थता लागि आभार व्यक्त गरे ।

पुटिनले पछिल्ला दिनमा पश्चिम एशियाका नेताहरू र इरानी राष्ट्रपति मासुद पेझेश्कियनसँग भएका आफ्ना कुराकानीबारे ट्रम्पलाई जानकारी गराए । 

ट्रम्पले सोमबार पत्रकार सम्मेलनमा पुटिनसँग निकै राम्रो फोनवार्ता भएको बताएका छन् ।  गत डिसम्ेबरपछि दुई देशका नेताहरुबीच पहिलोपटक फोनवार्ता भएको हो । 

सोमबारै, पुटिनले मध्यपूर्वको लामो संघर्षले विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर गर्ने चेतावनी दिएका छन् । विशेषगरी हर्मजको घाँटीमा देखिएको अवरोधले खाडी क्षेत्रको तेल उत्पादन रोकिन सक्ने र विश्व बाजारमा मुल्य वृद्धि हुने उनले बताए । विकसित घटनाक्रमका बाबजुद रुसले आफ्ना साझेदार देशहरूलाई तेल र ग्यास आपूर्ति जारी राख्ने उनले बताए । 

रूसले अमेरिका र इजरायलले इरानमाथि चलाइरहेको आक्रमणको पनि आलोचना गरेको छ । पुटिनले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेइलाइ बधाई दिएका छन् । उनले इरानलाई सधैं रुसको समर्थन रहने बताए ।

यसअघि उनले सर्वोच्च नेता आयतुल्लाह खामेनेइलाई रुसी जनताले एक उत्कृष्ट राज्य सञ्चालकका रुपमा संझने बताएका थिए । त्यस्तै, अमेरिका–इजरायलले उनको अवैध हत्या गरेर जघन्य अपराध गरेको बताएका थिए । 

कान्तिपुर

Link copied successfully