दुबईमा रोकिएका नेपालीका लागि बुधबार राति उद्धार उडान

१२ दिनदेखि दुबई अनि काठमाडौंमा रोकिएका यात्रुहरुलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले बुधबार राति विशेष उद्धार उडान गर्ने भएको छ ।

फाल्गुन २६, २०८२

सुरज कुँवर

Rescue flight for Nepalis stranded in Dubai on Wednesday night

काठमाडौँ — अमेरिका र इजरायलले इरानका परमाणु केन्द्र, मिसायल संरचना र शीर्ष नेतृत्वलाई लक्षित गर्दै गरेको सैन्य कारबाहीपछि खाडी क्षेत्रको हवाई सुरक्षा अवस्था अस्थिर बन्यो । यही परिस्थितिका कारण १२ दिनदेखि दुबई अनि काठमाडौंमा रोकिएका यात्रुहरुलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले बुधबार राति विशेष उद्धार उडान गर्ने भएको छ । निगमका महाप्रबन्धक अमृतमान श्रेष्ठका अनुसार फागुन १६ मा इरानमा हमला हुनुअघि नै दुबई जानुपर्ने तथा दुबईबाट काठमाडौं फर्किनुपर्ने यात्रुहरुलाई लक्षित गर्दै बुधबार राति ११:१५ बजे वाइडबडी विमानमार्फत उद्धार उडान सञ्चालन गरिनेछ । 

निगमको विमान बुधबार दुबई पुगेर त्यहाँबाट स्थानीय समयअनुसार, बिहान ४ बजे काठमाडौं फर्किने तालिका तय गरेको छ । निगमका मार्केटिङ विभाग प्रमुख अनिल घिमिरेले उक्त उडानमा पहिल्यै टिकट लिइसकेका यात्रुहरुलाई प्राथमिकता दिइने जानकारी दिए । उनका अनुसार नयाँ टिकट बिक्री गरेर थप यात्रु राख्ने योजना निगमको  छैन । ‘इरानमा हमला भएपछि खाडी क्षेत्रका देशहरुले आफ्नो आकाशमा लगाएको प्रतिबन्धपछि निगम १२ औं दिनमा पहिलो उडान गर्न लागेको हो,’ घिमिरेले भने, ‘यो उडानका लागि अतिरिक्त बीमा (युद्ध जोखिम इन्सपरेन्स) व्यवस्था गरेर जहाज उडाइनेछ ।’

उडानमा सिटको उपलब्धताका आधारमा पहिले आउने यात्रुलाई प्राथमिकता दिइने निगमले जनाएको छ । बाँकी यात्रुलाई आगामी दिनमा सञ्चालन हुने उडानमा समायोजन गरिनेछ । साथै, टिकट रिसेड्युल गर्दा लाग्ने अतिरिक्त शुल्क यात्रुबाट नलिइने निगमले स्पष्ट पारेको छ ।

खाडी क्षेत्रमा जारी सुरक्षा असहजताका कारण उडान फेरि रद्द हुन सक्ने सम्भावना पनि निगमले औंल्याएको छ । यस्तो अवस्था आएमा निगमले कुनै पनि यात्रुका लागि आर्थिक वा अन्य दायित्व बहन गर्न नसक्ने जानकारी दिएको छ । सामान्य अवस्थामा निगमले मंगलबारबाहेक सातामा ६ दिन दुबई उडान सञ्चालन गर्दै आएको थियो । 

तर फागुन १६ मा इरानमा हमला भएपछि दुबईसँगै कतार र साउदी अरबको दमामतर्फका उडानहरूसमेत प्रभावित भएका छन् । 

निगमले मंगलबार १३ औं पटक सूचना जारी गर्दै यी उडानहरू स्थगित गरिसकेको छ । हाल निगमले दोहा सातामा पाँच दिन र दमाम सातामा दुई दिन उडान गर्दै आएको थियो ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully