काठमाडौंको वायु अस्वस्थ

बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

फाल्गुन २६, २०८२

उपेन्द्रराज पाण्डेय

Kathmandu's air is unhealthy

काठमाडौँ — काठमाडौं उपत्यकामा पछिल्लो साता वातावरणीय प्रदूषणको तह बढेको छ । प्रदूषणका कारण काठमाडौं उपत्यकाको आकाशसमेत धुम्मिएको छ । वायु प्रदूषण मापन गर्ने सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ले काठमाडौंको वायु मानव स्वास्थ्यका लागि हानिकारक देखाएको हो ।

वायुको गुणस्तर मापन गर्ने आईक्यू एयरका अनुसार वायुको त्यस्तो सूचकांकको तह काठमाडौंको वायुमा उच्च छ । मंगलबार बिहान काठमाडौंको एक्यूआई १९८ मापन गरिएको छ । सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई अस्वस्थ मानिन्छ । एक्यूआई १५० देखि २०० हुँदा संवेदनशील मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन् । २०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । ३०१ देखि ५०० सम्मले आपत्कालीन अवस्था जनाउँछ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । तर काठमाडौंको हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटरमा ९६ रहेको छ । हावामा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–सना कण नै पीएम २.५ हुन् ।

यिनमा सल्फेट, नाइट्रेट्स, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् । सजिलैसँग फोक्सोमा पनि पुग्ने भएकाले यी कण स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सवारीसाधन, उद्योग, कृषि, निर्माण, घाँस, दाउरा बाल्दा यस्ता कण निस्कन्छन् । यही पीएम २.५ का आधारमा एक्यूआई मान निकालिन्छ । 

मौसमविद्हरूका अनुसार लामो समय पानी नपरेकै कारण प्रदूषण बढेको हो । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेल अझै केही दिन आकाश यस्तै हुने बताउँछिन् । कान्तिपुरसँग उनले भनिन्, ‘अझै २/३ दिन काठमाडौंको आकाश धुम्मिन सक्छ । खासै ठूलो पानी परेको छैन । तल्लो वायुमण्डलमा जलवाष्पयुक्त कण आएको छ तर ठूलै वर्षा गराउने खालको छैन ।’ धूलोका कणहरू आकाशमा रहेको उनले बताइन् । 

Kathmandu's air is unhealthy

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा प्रदूषण उच्च तहमा पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पुराना गाडीले वायु प्रदूषण बढाउने, वनमा डढेलो, उद्योगधन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धूलोधूवाँका कारणले प्रदूषण बढेको उल्लेख गरेका छन् । अझै एक हप्ता काठमाडौंमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ । 

उच्च प्रदूषणका कारण बाटोमा हिँड्ने सर्वसाधारणले आँखा पोल्ने, घाँटी खसखस गर्ने र श्वासप्रश्वासमा भारीपन महसुस भएको गुनासो गरिरहेका छन् । चिकित्सकहरूका अनुसार यस्तो हावाले विशेषगरी बालबालिका, वृद्धवृद्धा र दम, निमोनिया जस्ता श्वासप्रश्वासका बिरामीहरूलाई गम्भीर असर पुर्‍याउँछ । 

यसैबीच स्वास्थ्य मन्त्रालयले पनि वायु प्रदूषणबाट बच्न सचेतना अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् । उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरेका छन् । 

मन्त्रालयका प्रवक्ता बुढाथोकीले दीर्घरोगी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कनसमेत अनुरोध गरेका छन् । वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । त्यस्तै मन्त्रालयले बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन पनि आग्रह गरेको छ ।

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully