रवि–बालेनलाई भारत,भूटानबाट बधाई, नयाँ सरकारसँग मिलेर काम गर्न बंगलादेश इच्छुक

बंगलादेशका प्रधानमन्त्री तरिक रहमानले शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

India, Bhutan congratulate Ravi-Balen, Bangladesh willing to work with new government

काठमाडौँ — नेपालमा मतगणना जारी रहदाँ दुई-तिहाई मतनजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई छिमेकी देशहरुले बधाई दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका हुन् । उनले एक्समार्फत यसको जानकारी दिएका छन् । 

‘रास्वपा अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग न्यानो टेलिफोन वार्ता भएको छ । उहाँहरुलाई रास्वपाले हात पारेको चुनावी विजयका लागि बधाई दिएको छु । नयाँ सरकारलाई मेरो शुभकामना सन्देश दिएको छु र नयाँ सरकारसँग आपसी समृद्धी, प्रगति र दुई देशको हितका लागि मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । मलाई आशा छ, हाम्रो संयुक्त प्रयासले नेपाल र भारतको सम्बन्ध नयाँ उचाईमा पुग्नेछ,’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

रास्वपा सभापति रवि लामिछानेले नेपाली जनताको लोकतान्त्रिक म्यान्डेटको सम्मान गरेकोमा मोदीको सराहना गरेका छन् ।

उनले रास्वपा र नेपाल सरकारले पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध विकास गर्ने प्रतिबद्ध व्यक्त गरेका छन् । त्यस्तै, ‘विकास कूटनीति’ लाई प्राथमिकतामा राख्ने बताएका छन् ।

भूटानका प्रधानमन्त्री छिरिङ तोग्बेले पनि रवि र बालेनलाई बधाई दिएका छन् । ‘नेपालको आम निर्वाचनमा विजय हासिल गरेकामा बालेन शाह र रवि लामिछानेलाई बधाई छ । यस निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा म नेपाली जनतालाई पनि धन्यवाद् दिन चाहन्छु,’ तोग्बेले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । उनले नेपालको दुई देशको मित्रतालाई गहिरो बनाउन नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । 

बंगलादेशका प्रधानमन्त्री तरिक रहमानले शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । उनले दुई देशको लामो मित्रता र सहकार्यलाई अगाडि बढाउन नयाँ सरकारसँग नजिक रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

यसअघि निर्वाचन सम्पन्न भएपछि नेपाललाई अमेरिका, भारत र चीनले बधाई दिएका थिए । 

पाकिस्तानले पनि नेपाललाई निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएको छ । पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक दारले पठाएको सन्देशमा नेपालको नयाँ  सरकारसँग नजिकको सहकार्य गर्न चाहेको उल्लेख छ ।

कान्तिपुर

Link copied successfully