निर्वाचन सुरक्षा अग्निपरीक्षा थियो, सफल भयौं : महानिरीक्षक अर्याल 

निर्वाचन सुरक्षा तथा व्यवस्थापनमा खटिएका उच्च पदस्थ अधिकारीहरूलाई सोमबार सशस्त्र प्रहरी मुख्यालयमा सम्बोधन गर्दै महानिरीक्षक राजु अर्यालले भयरहित वातावरणमा निर्वाचन सुरक्षा व्यवस्थापन गरेर उत्कृष्ट जिम्मेवारी निर्वाह गरेकामा आभार व्यक्त गरे ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Election security was a test of strength, we succeeded: Inspector General Aryal

What you should know

काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षालाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनु अग्निपरीक्षा रहे पनि सफलतापूर्वक जिम्मेवारी पूरा गरी उत्तिर्ण भएको बताएका छन् । निर्वाचन सुरक्षा तथा व्यवस्थापनमा खटिएका उच्च पदस्थ अधिकारीहरूलाई सोमबार सशस्त्र प्रहरी मुख्यालयमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले भयरहित वातावरणमा निर्वाचन सुरक्षा व्यवस्थापन गरेर उत्कृष्ट जिम्मेवारी निर्वाह गरेकामा आभार व्यक्त गरे ।

मुख्यालयमा उपस्थित विभाग प्रमुख, निर्वाचन सुरक्षा अनुगमनमा खटिएका वरिष्ठ उपरीक्षक तथा उपरीक्षक र भर्चुअल माध्यमबाट सबै प्रदेशका बाहिनीपति, देशभरका कार्यालय प्रमुख तथा सबै तहका कर्मचारीहरुलाई महानिरीक्षक अर्यालले चुनौतीको सामना गरेर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गरेकामा धन्यवाद दिए ।

निर्वाचन सुरक्षित रुपमा सम्पन्न हुनुका पछाडि फौजहरूले निर्वाचन सुरक्षा व्यवस्थापनमा देखाएको दृढ अनुशासन, इमानदारिता र देशलाई परेको समयमा ज्यानको समेत प्रवाह नगरी जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने सोच र भावना हुनुपर्छ भन्ने तथ्य नै मूल कारण रहेको बताए । २१ फागुनको निर्वाचन र त्यसअघिको व्यवस्थापनमा सशस्त्र प्रहरीका करिब ३५ हजार जनशक्ति फिल्डमा खटिएका थिए । निर्वाचनमा दोस्रो सुरक्षा घेराका रुपमा सशस्त्रलाई तैनाथ गराइएको थियो । ‘२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा फौजको लागि अग्नि परीक्षा जस्तो भएको थियो तर सफलतापूर्वक सम्पन्न भएको छ, यस अवसरमा सशस्त्र प्रहरी कर्मचारीहरूको पेशागत दक्षताको समेत संगठनले उच्च मुल्यांकन गरेको छ ।’

त्यसक्रममा अर्यालले संगठनमा जुनसुकै दर्जाका कर्मचारीहरूले आचरण विपरित कुनै पनि कार्य नगर्न र संगठनको बर्दी लगाएर संगठनविरुद्ध हुने कुनै पनि कार्य सैह्य नहुने भन्दै सचेत पनि गराएका थिए । संगठनको तटस्थ छवि उच्च बनाउन संगठनमा कार्यरत कर्मचारीहरूको भूमिका उल्लेखनीय रहने उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully