उम्मेदवारी खारेजीमा परेका रास्वपाका साहको रिट न्यायाधीश निरौलाकाे इजलासमा

साहले आफ्नो उम्मेदवार कायम रहनुपर्ने माग गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दिएका थिए ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Rashtriya Swayamsevak Sangh (RSP) candidate Sah's writ petition, whose candidacy was rejected, is before Judge Niraula's bench.

काठमाडौँ — निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा-१ का उम्मेदवार किशाेरी साहको  रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

साहले दिएको रिट न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । 

साहले आफ्नो उम्मेदवार कायम रहनुपर्ने माग गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दिएका थिए । ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचना केन्द्रको वेबसाइटमा उल्लेख भएपछि आयोगले उम्मेदवारी खारेज गरेकाे थियो । २१ फागुनको निर्वाचनभन्दा दुई दिनअघि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।  

धनुषा-१ मा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट राम पलटन साह, नेकपाबाट मातृकाप्रसाद यादवलगायत उम्मेदवार छन् । यहाँ मतगणना सम्पन्न भइसकेको पनि अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन आयोगले मत परिणाम सार्वजनिक नगर्न पत्राचार गरेको छ ।

कान्तिपुर

Link copied successfully