राप्रपाको राजावादी एजेन्डालाई ‘रातो कार्ड’

प्रत्यक्षमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं पराजित भएका छन्

फाल्गुन २४, २०८२

गौरव पोखरेल

'Red card' for RPP's monarchist agenda

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डालाई मतदाताले ‘रातो कार्ड’ देखाएका छन् ।

निर्वाचन आयोगले शनिबार रातिसम्म सार्वजनिक गरेको प्रत्यक्षतर्फको मतपरिणाममा राप्रपाले एक सिट मात्र जितेको छ । पार्टी.का प्रवक्तासमेत रहेका ज्ञानबहादुर शाही जुम्ला–१ बाट निर्वाचित भएका हुन् । जबकि राप्रपाले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । मतगणना जारी रहेका क्षेत्रमा पनि राप्रपाका उम्मेदवारहरू अन्य प्रतिस्पर्धीभन्दा निकै पछाडि छन् ।

शाहीले १४ हजार ८ सय १६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले ११ हजार ६ सय ३५ मत ल्याए । भ्रष्टाचार र बेथितिविरुद्ध खरो अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा चर्चामा रहँदै राप्रपाको राजनीति थालेका उनी २०७९ सालमा समेत निर्वाचित भएका थिए । त्यो चुनावमा राप्रपाले प्रत्यक्ष र समानुपातिक दुवै गरी १४ सांसद पाएको थियो ।

तर, यसपालि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं पराजित भएका छन् । समानुपातिकतर्फ राप्रपा शनिबार बेलुकी १० बजेसम्म ३५ हजार ४६ मतसहित पाँचौं स्थानमा छ । २०७४ र २०७९ मा झापा क्षेत्र–३ बाट निरन्तर निर्वाचित पार्टी अध्यक्ष लिङ्देन पराजित भए । ०७४ चुनावमा नेकपा एमालेको साथ पाउँदा निर्वाचित हुने एक्लो राप्रपा सांसद बनेका लिङ्देनले ०७९ को निर्वाचनमा पनि एमालेसँग गठबन्धन गरेर चुनाव लडेका थिए । झापा–३ मा एमालेको समर्थन लिएर राप्रपाले झापा–५ मा ओलीलाई सघाउने गरेको थियो ।

यसपालिचाहिँ राप्रपाले एक्लै लड्ने निर्णय गरेको थियो । तर, रास्वपाका झापा सभापतिसमेत रहेका प्रकाश पाठकले २१ हजार ३ सय ८० मतान्तरले उनलाई हराए । लिङ्देनले १७ हजार २ सय ९४ मत ल्याउँदा पाठकले ३८ हजार ६ सय ७४ मत ल्याएका छन् । झापा–५ मा पनि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पराजित भए । ओलीले यसपालि पनि राप्रपाको साथ खोजेका थिए । तर, अन्तिममा गठबन्धन भएन ।

राप्रपाले आस गरेका स्वागत नेपालसमेत झापा–२ मा पराजित भएका छन् । २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी एमाले नेता देवराज घिमिरेसँग २ हजार २ सय ५६ मतले पराजित भएका थिए । त्यसबेला दोस्रो स्थानमा रहेका उनी यस पटक राप्रपाबाट चुनाव लड्दा चौथो स्थानमा खुम्चिएका छन् । पूर्वसभामुख इन्दिरा राना मगर ४८ हजार ४ सय ८५ मतले विजयी हुँदा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले ९ हजार २ सय २७, श्रम संस्कृति पार्टीका उम्मेदवार केशवकुमार भण्डारीले ६ हजार ६५, कांग्रेस उम्मेदवार सरिता प्रसाईंले ४ हजार ५ सय ९६ र राप्रपा उम्मेदवार नेपालले २ हजार ९ सय ९६ मत मात्र पाए ।

चुनावको पूर्वसन्ध्यामा १६ पुस २०८१ मा कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एकता गरेर पूर्वराजावादी एकै ठाउँमा रहेको सन्देश दिँदै चुनावमा भाग लिएको थियो । लिङ्देन राप्रपा अध्यक्ष चुनिएपछि पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थापा एकतासँगै राप्रपामा फर्केका थिए । एकतापछि काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका थापाले १ हजार ९ सय २२ मत मात्र प्राप्त गरेका छन् ।

रास्वपाका सस्मित पोखरेल ३० हजार ७ सय ३७ मतसहित निर्वाचित हुँदा कांग्रेस महामन्त्री प्रदीप पौडेल दोस्रो र एमाले नेता ईश्वर पोखरेल तेस्रो भए । थापा चौथो भएका छन् । उनको जमानतसमेत जफत भएको छ । पराजित भएपछि थापाले चुनावी परिणामबाट कत्ति पनि विचलित नभई आत्मसमीक्षा गरेर राप्रपा अघि बढ्नुपर्ने उनले भनेका छन् । ‘चुनावमा हार–जित हुन्छ, तर हिन्दु राष्ट्र र राजसंस्थाको महत्त्व नेपाल रहेसम्म सदैव जीवन्त रहन्छ,’ उनले भनेका छन् ।

राप्रपाकै वरिष्ठ नेता रवीन्द्र मिश्र पनि पराजित भएका छन् । काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना १५ हजार ४ सय ५५ मतसहित विजयी हुँदा कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ र राप्रपाका मिश्रले ३ हजार ९ सय ७२ मत ल्याएका थिए । जबकि, २०७९ को चुनावमा उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग १ सय २५ मतान्तरले पराजित भएका थिए । मिश्र २०७४ को चुनावमा पनि सिंहसँगै पराजित भएका थिए । चुनावमा पराजित भएलगत्तै मिश्रले ‘दलीय राजनीतिबाट तत्काललाई बिदा लिएको’ घोषणा गरेका छन् ।

‘देशभरि राजसंस्था पुनःस्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई संगठित र पुँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु,’ उनले विज्ञप्ति जारी गर्दै भने, ‘राजसंस्था पुनःस्थापना तथा सुशासनलगायतका मुद्दामा मेरा अडान यथावत् रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु ।’

राप्रपाले आस गरेकी उम्मेदवार कुन्तीदेवी पोखरेल (उपाध्याय) ले पनि काठमाडौं–२ मा जनताको विश्वास जित्न सकिनन् । रास्वपा उम्मेदवार सुनील केसी ३४ हजार २ सय ३८ मतसहित विजयी हुँदा कुन्तीदेवी ५ हजार २ सय १० मतसहित तेस्रो स्थानमा रहिन् । रास्वपाले उम्मेदवार बनाएका केसी राप्रपाका पूर्वप्रदेश सांसद हुन् । बालेन्द्र शाहसहितको समूह रास्वपा प्रवेश गरेपछि उनी पनि त्यतै गएका थिए । र, बालेनको कोटाबाट उनी उम्मेदवार बनेका थिए ।

राप्रपाका उपाध्यक्ष एवं पूर्वसांसद ध्रुवबहादुर प्रधान पनि नवलपरासी पश्चिमको क्षेत्र नं. २ बाट पराजित भए । रास्वपाका उम्मेदवार नरेन्द्र गुप्ता ३७ हजार ६ सय ९८ मतसहित निर्वाचित हुँदा कांग्रेस उम्मेदवार भीमबहादुर थापा दोस्रो, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र यादव तेस्रो र प्रधान चौथो भएका छन् ।

२०६२–६३ को आन्दोलनपछि भएका ५ वटा निर्वाचनमा राप्रपाले सधैं उतारचढाव भाग्दै आएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ बताउँछन् । ‘कहिले तल कहिले माथि भइरहेको छ, तर त्यो भनेको हाम्रो एजेन्डालाई नै जनताले अनुमोदन गरेनन् भन्ने होइन,’ उनले भने, ‘जनतामा राजसंस्था चाहिन्छ भन्ने मान्यता झन् बढ्दै गएको छ, त्यो विगतमा विभिन्न स्वरूपमा सडकमा देखिएको पनि छ ।’

निर्वाचनमा अपेक्षित नतिजा प्राप्त नभए पनि राजसंस्था पुनःस्थापना नभई देशमा दीर्घकालीन शान्ति र स्थिरता हुन सक्दैन भन्ने आफूहरूको मान्यता कायमै रहेको तथा यो माग निरन्तर उठाइरहने श्रेष्ठले बताए । ‘यसपालि हाम्रो जनमतलाई प्रभावित पार्न धेरै पक्ष सक्रिय भएको सूचना पनि पाएका थियौं,’ श्रेष्ठले थपे, ‘यद्यपि चुनावको परिणामले गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौं, पार्टीमा यसबारे गहिरो अध्ययन, विश्लेषण र समीक्षा गरेर अघि बढ्छौं ।’

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully