समानुपातिकतर्फ पनि मधेशकेन्द्रित दलहरू निकै पछि छन् । कुल ११० सिट रहेको समानुपातिकतर्फ सिट हासिल गर्न कुल सदर मतको ३ प्रतिशत कटाउनुपर्ने कानुनी व्यवस्था छ ।
काठमाडौँ — नयाँ प्रतिनिधिसभामा मधेशकेन्द्रित राजनीतिक दलको प्रतिनिधित्वको सम्भावना न्यून देखिएको छ ।
प्रत्यक्षतर्फका १ सय ६५ सिटमध्ये मधेशकेन्द्रित राजनीतिक दलहरू जसपा नेपाल, जनमत वा राष्ट्रिय मुक्ति पार्टी नेपालका कुनै पनि उम्मेदवार जित्ने स्थितिमा छैनन् । समानुपातिकतर्फको नतिजा पनि ती दलको पक्षमा देखिँदैन ।
मधेशका मुद्दा उठाएर २०४८ देखि उदाएका मधेशकेन्द्रित राजनीतिक दलको उपस्थिति त्यसयताका सबै संसद्मा रहँदै आएको थियो । तर यस पटक ती दल चुनावी प्रतिस्पर्धामा निकै पछि देखिएका छन् ।
मधेशका कुल ३२ सिटमध्ये शनिबार रातिसम्मको मतपरिणामअनुसार रास्वपाले ११ सिट जितिसकेको छ भने १९ सिटमा रास्वपाकै उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिएका छन् । नेकपा धनुषा–१ मा र कांग्रेस रौतहट–२ मा अगाडि छन् ।
जसपा नेपाल मधेशका चार निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा रही प्रतिस्पर्धामा छ । अन्य सबै निर्वाचन क्षेत्रमा पाँचौं र छैटौं स्थानमा छ । सीके राउत नेतृत्वको जनमत पार्टी मधेशका सबै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा नै छैन ।
समानुपातिकतर्फ पनि मधेशकेन्द्रित दलहरू निकै पछि छन् । कुल ११० सिट रहेको समानुपातिकतर्फ सिट हासिल गर्न कुल सदर मतको ३ प्रतिशत कटाउनुपर्ने कानुनी व्यवस्था छ । शनिबार रातिसम्मको मतगणनामा समानुपातिकतर्फ ६ लाख ३५ हजार ३ सय ८१ मत गणना हुँदा जसपाले २ हजार ४ सय ४५ तथा जनमतले १ हजार ८ सय ११ मत ल्याएको छ । राष्ट्रिय मुक्ति पार्टीको १ हजार ७ सय ४४ मत छ ।
सप्तरी–३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रास्वपाका उम्मेदवार अमरकान्त चौधरीभन्दा १० हजारभन्दा बढी मतले पछाडि छन् । ०७९ को चुनावबाट संसदीय राजनीतिमा प्रवेश गरेका जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ मा तेस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका रास्वपाका रामजी यादवभन्दा ७ हजारभन्दा बढी मतले पछाडि छन् ।
०७९ को चुनावमा सप्तरी–२ मा राउत र उपेन्द्रबीच प्रतिस्पर्धा भएको थियो । उपेन्द्रलाई हराएकाले राउतको राजनीतिक उचाइ बढेको थियो भने जनमत मधेशमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको थियो । त्यतिबेला राउतले १५ हजारको फराकिलो अन्तरले यादवमाथि जित हात पारेका थिए । त्यहींबाट राउतको संसदीय यात्रा प्रारम्भ भएको थियो । तर, तीन वर्षमै उनी र जनमत पार्टी खुम्चिनुपरेको छ ।
०६३ माघमा भएको मधेश विद्रोहको नेतृत्व गरी राष्ट्रिय राजनीतिमा स्थापित भएका यादव ०६४ र ०७० को पहिलो तथा दोस्रो संविधानसभा चुनाव तथा ०७४ को प्रतिनिधिसभा चुनावमा लगातार विजयी भएका थिए । ०७९ मा राउतसँग हारेपछि यादव उपनिर्वाचनमा बारा–२ बाट चुनाव जितेर संसद्मा पुगेका थिए ।
यादवको नेतृत्वमा मधेशी जनअधिकार फोरमले ०६४ को संविधानसभामा प्रत्यक्षतर्फका २ सय ४० मध्ये ३० सिट र समानुपातिकतर्फ २२ गरी ५२ सिट जितेको थियो । मन्त्रिपरिषद्मा मनोनीत हुने २६ मध्ये २ जना सहित पहिलो संविधानसभामा फोरमको ५४ सिट थियो । त्यसको १८ वर्ष पछाडि भएको चुनावमा यादवले नेतृत्व गरेको जसपा नेपालको सिट संख्या शून्य हुने स्थितिमा पुगेको छ ।
जसपा नेपालले चुनावको मुखैमा महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकीकरण गरेको थियो । अन्य मधेशवादी नेताहरूको समूहलाई पनि पार्टीमा मिसाएको थियो । तर, देशैभर देखिएको रास्वपाको लहरले मधेशकेन्द्रित दलको एकीकरण पनि सार्थक सावित हुन सकेन ।
पञ्चायतकालदेखि निरन्तर चुनाव जित्दै आएका र पटकपटक मन्त्री भएका जसपा नेपालका नेता शरतसिंह भण्डारी पनि पराजित भएका छन् । भण्डारी महोत्तरी–२ मा रास्वपाका दीपककुमार साहसँग २२ हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन् । राष्ट्रिय सभामा निर्वाचित भएपछि ठाकुरले महोत्तरी–३ मा छोरी मीनाक्षी ठाकुरलाई टिकट दिएका थिए । जारी मतगणनामा यो निर्वाचनमा रास्वपाका उज्ज्वलकुमार झा अग्रस्थानमा रहँदा मीनाक्षी निकै पछि छिन् ।
०४८ सालमा सद्भावना पार्टीबाट राजनीति थालेका हृदयेश त्रिपाठीदेखि राजेन्द्र महतोसम्मको उपस्थिति यसपालि संसद्मा हुने छैनन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट जसपा उम्मेदवार हृदयेश त्रिपाठी रास्वपाका विक्रम खनालभन्दा १५ हजार बढी मतले पछाडि छन् । सद्भावना, राजपा, जसपा र लोसपा हुँदै राष्ट्रिय मुक्ति पार्टी नेपालको नेतृत्व गरिरहेका महतोले सर्लाही–२ मा चौथो स्थान ल्याएका छन् । रास्वपाका रबिन महतोले ४२ हजार ५ सय १२ मत ल्याउँदा महतोले ५ हजार ९ सय ९२ मत ल्याएका छन् ।
पुराना राजनीतिक दलहरू कांग्रेस, एमाले, नेकपा होऊन् वा जसपा, जनमत, मतदाताले यी सबै दललाई हेर्ने दृष्टिकोणमा समानता देखिएको राजनीतिक विश्लेषक तुलानारायण साह बताउँछन् । ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वा मधेशका लागि लड्नुभयो, ठीक छ तर अब एक पटक नयाँलाई मौका दिउँ भने धारणा देखियो,’ उनले भने, ‘मतदाताले नयाँ पार्टी र नयाँ अनुहार खोजे । सिंगो नेपालले त्यही खोज्दा मधेशले पनि त्यही गरेको छ ।’
यसपालि मधेशमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको प्रभाव देखिएको उनको भनाइ छ । काठमाडौंको मेयर हुँदा शाहले राम्रो काम गरेको, उनी इमानदार र निडर नेता रहेको भन्ने छाप मतदातामा परेको र त्यसअनुसार मतपरिणाम देखिएको साहले बताए ।
०४८ को चुनावमा गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना क्षेत्रीय मुद्दा बोक्ने र समग्र मधेशको आवाज बोल्ने पार्टीका रूपमा स्थापित हुँदै पहिलो पटक संसद् प्रवेश गरेको थियो । त्यतिबेला ६ सिट जितेर सद्भावनाले राष्ट्रिय पार्टीको मान्यता पाएको थियो । त्यसअघि मधेशकै मुद्दा उठाएर जन्मिएको तराई कांग्रेसले ०१५ को चुनावमा एक सिट पनि जितेको थिएन । त्यसको ३० वर्ष पछाडि संसद्मा प्रवेश गरेको मधेश मुद्दा उठाउने राजनीतिक दलहरू अहिले ३४ वर्ष पछाडि बढारिन पुगेका छन् ।
सद्भावनाले ०५१ मा ३ र ०५६ मा ५ सिट जितेको थियो । ०६३ को मधेश विद्रोह, ०६४ को दोस्रो मधेश आन्दोलन पछाडि भएको पहिलो संविधानसभा निर्वाचनमा मधेशकेन्द्रित दलहरू राजनीतिक शक्तिका रूपमा उदाएका थिए । कांग्रेस त्यागेर ठाकुरले १३ पुस ०६४ मा तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।
पहिलो संविधानसभामा मनोनीत १ सहित तमलोपाको २१ र सद्भावनाको ९ सिट थियो । तर, सत्तामा जाने विषयमा फोरम, तमलोपा र सद्भावनामा विभाजन आएपछि ०७० को दोस्रो संविधानसभा निर्वाचनबाटै ती दलहरू खुम्चिन पुगेका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा फोरमको १५, तमलोपाको ११ र सद्भावनाको ६ सिट थियो ।
०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादीसहितको वाम गठबन्धनले ऐतिहासिक जित हात पारेको थियो । प्रतिनिधिसभाको २ सय ७५ सिटमध्ये वाम गठबन्धनले १ सय ७४ सिट जितेको थियो । वाम गठबन्धनको पक्षमा चुनावी नतिजा आइरहेका बेला मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) ले १७ र जसपाले १६ सिट जितेका थिए ।
६ वटा मधेशकेन्द्रित दलबीच एकीकरण भएर राजपा बनेकाले नतिजा निकाल्न सफल भएको थियो । तर एकता लामो समय टिकेन । ०७९ मा जसपा १२, जनमत ६ र लोसपमा ४ सिटमा खुम्चिन पुगेका थिए ।
