पूर्वप्रधानमन्त्रीहरू जसले संसदीय निर्वाचन हारे

झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका छन् 

फाल्गुन २४, २०८२

किशोर दहाल

Former Prime Ministers Who Lost Parliamentary Elections

काठमाडौँ —  

धेरैले चासो दिएको क्षेत्र झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका छन् । बिहीबार भएको मतदानको अन्तिम मतपरिणाम शनिबार बेलुका सार्वजनिक भएको हो, जहाँ ओलीभन्दा बालेन झन्डै ५० हजार मतान्तरले विजयी भएका हुन् ।

नेपाली संसदीय निर्वाचनको इतिहासमा पराजित हुने ओली पहिलो पूर्वप्रधानमन्त्री होइनन्, यसअघि धेरै पूर्वप्रधानमन्त्रीले पराजय भोग्नुपरेको छ । पदासीन प्रधानमन्त्री पनि पराजित भएका छन् । यहाँ निर्दलीय पञ्चायती व्यवस्थाअन्तर्गतका निर्वाचनलाई लिइएको छैन, बहुदलीय प्रतिस्पर्धा भएका संसदीय निर्वाचनमा सन्दर्भलाई मात्रै चर्चा गरिएको छ : 

टंकप्रसाद आचार्य

माघ २०१२ मा प्रधानमन्त्री बनेका टंकप्रसाद आचार्य २०१५ को निर्वाचनमा काठमाडौं (क्षेत्र नम्बर ५) बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी चौथो बन्न पुगेका थिए । निर्वाचनमा विजयी भएका संयुक्त प्रजातन्त्र पार्टीका लोचनशमशेरले ८,७५५ मत पाएका थिए । पराजित हुनेहरूमध्ये कांग्रेसका सूर्यप्रसाद उपाध्यायले ५,७१७, नेपाल प्रजातान्त्रिक महासभाका रंगनाथ शर्माले ३,२६४ र नेपाल प्रजा परिषद्का टंकप्रसाद आचार्यले १,१४८ मत पाएका थिए ।

केआई सिंह

असार २०१४ मा प्रधानमन्त्री बनेका केआई सिंह २०१५ को पहिलो आमनिर्वाचनमा पराजित भएका थिए । सिंह संयुक्त प्रजातन्त्र पार्टीका तर्फबाट डोटी दक्षिण (क्षेत्र नम्बर ७१) मा उम्मेदवार बनेका थिए । तर, दोस्रो हुन पुगे । विजयी भएका कांग्रेस उम्मेदवार शिवराज पन्तले ७,२३६ मत पाउँदा पूर्वप्रधानमन्त्री सिंहले ३,९६६ मत मात्रै पाएका थिए ।

सूर्यबहादुर थापा

पञ्चायतकालमा सूर्यबहादुर थापा माघ २०२१ देखि चैत २०२५ सम्म मन्त्रिपरिषद् अध्यक्ष/प्रधानमन्त्री बनेका थिए । त्यस्तै, जेठ २०३६ देखि असार २०४० सम्म पनि प्रधानमन्त्री बनेका थिए । बहुदलकालमा पनि उनी २०५४ र २०६० मा प्रधानमन्त्री बनेका थिए । उनी बहुदलकालका निर्वाचनमा उनी फरकफरक पार्टीबाट निर्वाचनमा होमिएका थिए ।

२०४८ को निर्वाचनमा पूर्वप्रधानमन्त्री थापा धनकुटा–२ बाट पराजित भएका थिए । सो निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार गोपाल गुरागाईंले १७,७६३ मत पाउँदा राप्रपा (थापा) का उम्मेदवार थापाले ८,५०८ मत मात्रै पाएका थिए । २०५१ को निर्वाचनमा थापा धनकुटाबाट विजयी भए पनि सर्लाही–२ बाट भने पराजित भएका थिए । सर्लाही– २ मा विजयी भएकी कांग्रेसकी मीना मण्डलले १०,७९५ मत पाएकी थिइन् । पराजित भएका नेपाल सद्भावना पार्टीका राजेन्द्र महतोले १०,१७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर थापाले ९,७२६ मत पाएका थिए ।

२०५६ मा पनि थापा धनकुटाबाट विजयी भए तर सर्लाही–२ बाट पराजित भए । त्यहाँ त्यतिबेला नेपाल सद्भावना पार्टीका राजेन्द्र महतो विजयी भएका थिए । उनले १४,७५० मत पाएका थिए । पराजित भएका राप्रपाका सूर्यबहादुर थापाले भने १३,३६९ मत पाएका थिए । थापा पहिलो संविधानसभाको निर्वाचन, २०६४ मा धनकुटाबाटै पराजित भए । त्यतिबेला विजयी भएका माओवादीका हरिराज लिम्बूले १२,२९९ मत पाएका थिए । दोस्रो भएका एमालेका धर्मराज पौडेलले ११,२४८ र तेस्रो भएका राष्ट्रिय जनशक्ति पार्टीका सूर्यबहादुर थापाले ५,४३२ मत मात्रै पाएका थिए ।

कीर्तिनिधि विष्ट

कीर्तिनिधि विष्ट पञ्चायतकालमा प्रधानमन्त्री बनेका थिए । उनी चैत २०२५, वैशाख २०२८ र भदौ २०३४ मा प्रधानमन्त्री बनेका थिए । उनी २०४६ पछिका केही निर्वाचनमा होमिएका थिए ।

२०५१ को निर्वाचनमा पूर्वप्रधानमन्त्री कीर्तिनिधि काठमाडौं–३ बाट उम्मेदवार बनेका थिए । तर उनी चौथो बनेका थिए । त्यतिबेला सो क्षेत्रबाट एमालेका मनमोहन अधिकारी १५,६९२ पाएर विजयी भएका थिए । पराजित भएकाहरूमध्ये कांग्रेसका प्रकाशमान सिंहले ११,३७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयकुमार खड्काले ४,४५३ र राष्ट्रिय जनता परिषद्बाट उम्मेदवार बनेका कीर्तिनिधि विष्टले १,१८० मत पाएका थिए ।

विष्ट २०५६ मा पनि राष्ट्रिय जनता परिषद्बाट काठमाडौं–३ मा उम्मेदवार भएका थिए । त्यतिबेला पनि उनी पराजित भए । त्यतिबेला निर्वाचित हुने एमालेका ईश्वर पोखरेलले १५,९६५ मत पाएका थिए । कांग्रेस उम्मेदवार चिरञ्जीवीनिधि तिवारीले १४,५५२, मालेका कृष्णसुन्दर मल्लले २,८२९, नेमकिपाका आशालाल श्रेष्ठले ६४० र कीर्तिनिधि विष्टले ३६५ मत पाउँदै पराजित भएका थिए । २०५१ मा चौथो बनेका विष्ट २०५६ मा भने पाँचौँ बनेका थिए ।

लोकेन्द्रबहादुर चन्द

पञ्चायती व्यवस्थाको उत्तरार्धमा असार २०४० र चैत २०४६ मा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनेका थिए । उनी २०५३ र २०५९ मा पनि प्रधानमन्त्री बनेका थिए । बहुदलकालमा पनि उनी निर्वाचनमा होमिएका थिए । २०४८ को निर्वाचनमा बैतडीबाट उम्मेदवार बनेका थिए, पूर्वप्रधानमन्त्री चन्द । त्यतिबेला उनी कांग्रेस उम्मेदवार कृष्णकुमार जोशीसँग पराजित भएका थिए । 

जोशीले ११,१२८ मत पाउँदा राप्रपा (चन्द) का उम्मेदवार चन्दले ६,०६९ मत मात्रै पाउन सकेका थिए । २०५६ मा पनि चन्द बैतडीमै पराजित भएका थिए । बैतडी–१ मा त्यतिबेला कांग्रेसका नरेन्द्रबहादुर बम ११,३१३ मतसहित विजयी भएका थिए । एमालेका पृथ्वीराज अवस्तीले ९,९०१ र राप्रपा (चन्द) का लोकेन्द्रबहादुर चन्दले ७,५१७ मत ल्याएर पराजित भएका थिए ।

मरिचमान सिंह श्रेष्ठ

पञ्चायतकालको उत्तरार्धतिर असार २०४३ मा प्रधानमन्त्री भएका मरिचमान सिंह श्रेष्ठ २०४८ को आमनिर्वाचनमा सल्यान–२ बाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा कांग्रेसका छविप्रसाद देवकोटा १८,२६८ मत पाएर विजयी भएका थिए । त्यस्तै एमालेका ललितकुमार बस्नेतले ५,३६५ र स्वतन्त्र उम्मेदवार मरिचमान सिंह श्रेष्ठले ५,१९५ मत पाएर पराजित भएका थिए ।

कृष्णप्रसाद भट्टराई

२०४६ को जनआन्दोलन सफल भएपछि वैशाख २०४७ मा अन्तरिम सरकारको प्रधानमन्त्री बनेका थिए, कृष्णप्रसाद भट्टराई । आफ्नै नेतृत्वको सरकारले वैशाख २०४८ मा गराएको निर्वाचनमा भट्टराई नै पराजित भएका थिए । काठमाडौं–१ बाट उम्मेदवार भएका भट्टराई एमाले महासचिव मदनकुमार भण्डारीसँग पराजित भएका भएका थिए । भण्डारीले २७,३७२ मत पाउँदा भट्टराईले २६,६२१ मत मात्रै पाएका थिए ।

विजयी भएका भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि माघ २०५० मा काठमाडौं–१ मा उपनिर्वाचन भयो । त्यतिबेला भट्टराई पुनः प्रतिस्पर्धामा होमिए । एमालेबाट भने मदनपत्नी विद्या भण्डारी प्रतिस्पर्धामा थिइन् । भट्टराई फेरि पनि पराजित भए । भण्डारीले भट्टराईभन्दा १,८२९ बढी मत पाएकी थिइन् । 

पुष्पकमल दाहाल

साउन २०६५ मा प्रधानमन्त्री बनेका एनेकपा माओवादीका पुष्पकमल दाहाल २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० बाट पराजित भएका थिए । त्यहाँ विजयी भएका कांग्रेसका राजेन्द्रकुमार केसीले २०,३९२ मत पाएका थिए । पराजित हुनेहरूमध्ये एमालेका सुरेन्द्र मानन्धरले १३,६१९ र एनेकपा माओवादीका पुष्पकमल दाहालले १२,८५९ मत पाएका थिए । सिरहा–५ बाट पनि उम्मेदवार बनेका उनी त्यहाँबाट भने विजयी भएका थिए ।

माधवकुमार नेपाल

जेठ २०६६ मा प्रधानमन्त्री बनेका माधवकुमार नेपाल यस निर्वाचनमा रौतहट–१ बाट पराजित भएका छन् । सो क्षेत्रमा विजयी भएका रास्वपाका उम्मेदवार राजेशकुमार चौधरीले २८,९४६ मत पाएका छन् । त्यस्तै एमालेका अजयकुमार गुप्ताले १०,६९३, 

कांग्रेसका अनिलकुमार झाले ८,५७४ र नेपाली कम्युनिस्ट पार्टीका माधवकुमार नेपालले ७,६६९ मत पाएका छन् ।

नेपाल २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पनि दुई निर्वाचन क्षेत्रहरू काठमाडौं–२ र रौतहट–६ बाट पराजित भएका थिए । तर त्यतिबेला उनी पूर्वप्रधानमन्त्रीको हैसियतमा थिएनन् । यद्यपि, पछि संविधानसभा सदस्य बन्दै उनी प्रधानमन्त्री बन्न सकेका थिए ।

झलनाथ खनाल

एमालेबाट माघ २०६७ मा प्रधानमन्त्री बनेका झलनाथ खनाल  २०७० को दोस्रो संविधानसभा निर्वाचनमा इलाम-१ र सर्लाही-१ बाट उम्मेदवार बनेका थिए । उनी इलामबाट विजयी भए पनि सर्लाहीबाट भने पराजित भएका थिए । त्यतिबेला सर्लाही-१ बाट विजयी भएका एनेकपा माओवादीका शम्भुलाल श्रेष्ठले ९,४७६ मत पाएका थिए । पराजित भएका एमाले उम्मेदवार खनालले ८,७९१ मत पाएका थिए ।

खनाल २०७९ को निर्वाचनमा इलाम-१ बाट पराजित भएका थिए । यस निर्वाचनमा उनी नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका थिए । निर्वाचनमा एमालेका महेश बस्नेतले २५,७५३ मत पाउँदा पूर्वप्रधानमन्त्री खनालले २३,०८९ मत पाएका थिए ।

बाबुराम भट्टराई

भदौ २०६८ मा प्रधानमन्त्री निर्वाचित भएका बाबुराम भट्टराई २०७० को संविधानसभा निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा होमिएका थिए । गोरखा–१ बाट उनी विजयी भए । तर, रूपन्देही–४ बाट भने पराजित भए । रूपन्देही–४ मा एमालेका विष्णुप्रसाद पौडेल विजयी भएका थिए । उनले १९,५७७ मत पाएका थिए । त्यस्तै, कांग्रेसका सूर्यप्रसाद प्रधानले १३,६३२ र एनेकपा माओवादीका बाबुराम भट्टराईले ११,९३४ मत पाएका थिए ।

केपी शर्मा ओली

असोज २०७२, फागुन २०७४, वैशाख २०७८ र असार २०८१ गरी चार पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली यस पटकको निर्वाचनमा झापा–५ मा पराजित भएका छन् ।

अन्तिम मतपरिणाममा रास्वपाका बालेन्द्र शाहले ६८,३४८ मत पाउँदा पूर्वप्रधानमन्त्री ओलीले केवल १८,७३४ मत मात्रै पाएका छन् । हुन त ओली २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा झापा–७ बाट माओवादी उम्मेदवार विश्वदीप लिङ्देन लिम्बूसँग पराजित भएका थिए । तर त्यतिबेला उनीसँग पूर्वप्रधानमन्त्रीको हैसियत भने थिएन ।

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully