झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका छन्
काठमाडौँ —
धेरैले चासो दिएको क्षेत्र झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका छन् । बिहीबार भएको मतदानको अन्तिम मतपरिणाम शनिबार बेलुका सार्वजनिक भएको हो, जहाँ ओलीभन्दा बालेन झन्डै ५० हजार मतान्तरले विजयी भएका हुन् ।
नेपाली संसदीय निर्वाचनको इतिहासमा पराजित हुने ओली पहिलो पूर्वप्रधानमन्त्री होइनन्, यसअघि धेरै पूर्वप्रधानमन्त्रीले पराजय भोग्नुपरेको छ । पदासीन प्रधानमन्त्री पनि पराजित भएका छन् । यहाँ निर्दलीय पञ्चायती व्यवस्थाअन्तर्गतका निर्वाचनलाई लिइएको छैन, बहुदलीय प्रतिस्पर्धा भएका संसदीय निर्वाचनमा सन्दर्भलाई मात्रै चर्चा गरिएको छ :
टंकप्रसाद आचार्य
माघ २०१२ मा प्रधानमन्त्री बनेका टंकप्रसाद आचार्य २०१५ को निर्वाचनमा काठमाडौं (क्षेत्र नम्बर ५) बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी चौथो बन्न पुगेका थिए । निर्वाचनमा विजयी भएका संयुक्त प्रजातन्त्र पार्टीका लोचनशमशेरले ८,७५५ मत पाएका थिए । पराजित हुनेहरूमध्ये कांग्रेसका सूर्यप्रसाद उपाध्यायले ५,७१७, नेपाल प्रजातान्त्रिक महासभाका रंगनाथ शर्माले ३,२६४ र नेपाल प्रजा परिषद्का टंकप्रसाद आचार्यले १,१४८ मत पाएका थिए ।
केआई सिंह
असार २०१४ मा प्रधानमन्त्री बनेका केआई सिंह २०१५ को पहिलो आमनिर्वाचनमा पराजित भएका थिए । सिंह संयुक्त प्रजातन्त्र पार्टीका तर्फबाट डोटी दक्षिण (क्षेत्र नम्बर ७१) मा उम्मेदवार बनेका थिए । तर, दोस्रो हुन पुगे । विजयी भएका कांग्रेस उम्मेदवार शिवराज पन्तले ७,२३६ मत पाउँदा पूर्वप्रधानमन्त्री सिंहले ३,९६६ मत मात्रै पाएका थिए ।
सूर्यबहादुर थापा
पञ्चायतकालमा सूर्यबहादुर थापा माघ २०२१ देखि चैत २०२५ सम्म मन्त्रिपरिषद् अध्यक्ष/प्रधानमन्त्री बनेका थिए । त्यस्तै, जेठ २०३६ देखि असार २०४० सम्म पनि प्रधानमन्त्री बनेका थिए । बहुदलकालमा पनि उनी २०५४ र २०६० मा प्रधानमन्त्री बनेका थिए । उनी बहुदलकालका निर्वाचनमा उनी फरकफरक पार्टीबाट निर्वाचनमा होमिएका थिए ।
२०४८ को निर्वाचनमा पूर्वप्रधानमन्त्री थापा धनकुटा–२ बाट पराजित भएका थिए । सो निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार गोपाल गुरागाईंले १७,७६३ मत पाउँदा राप्रपा (थापा) का उम्मेदवार थापाले ८,५०८ मत मात्रै पाएका थिए । २०५१ को निर्वाचनमा थापा धनकुटाबाट विजयी भए पनि सर्लाही–२ बाट भने पराजित भएका थिए । सर्लाही– २ मा विजयी भएकी कांग्रेसकी मीना मण्डलले १०,७९५ मत पाएकी थिइन् । पराजित भएका नेपाल सद्भावना पार्टीका राजेन्द्र महतोले १०,१७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर थापाले ९,७२६ मत पाएका थिए ।
२०५६ मा पनि थापा धनकुटाबाट विजयी भए तर सर्लाही–२ बाट पराजित भए । त्यहाँ त्यतिबेला नेपाल सद्भावना पार्टीका राजेन्द्र महतो विजयी भएका थिए । उनले १४,७५० मत पाएका थिए । पराजित भएका राप्रपाका सूर्यबहादुर थापाले भने १३,३६९ मत पाएका थिए । थापा पहिलो संविधानसभाको निर्वाचन, २०६४ मा धनकुटाबाटै पराजित भए । त्यतिबेला विजयी भएका माओवादीका हरिराज लिम्बूले १२,२९९ मत पाएका थिए । दोस्रो भएका एमालेका धर्मराज पौडेलले ११,२४८ र तेस्रो भएका राष्ट्रिय जनशक्ति पार्टीका सूर्यबहादुर थापाले ५,४३२ मत मात्रै पाएका थिए ।
कीर्तिनिधि विष्ट
कीर्तिनिधि विष्ट पञ्चायतकालमा प्रधानमन्त्री बनेका थिए । उनी चैत २०२५, वैशाख २०२८ र भदौ २०३४ मा प्रधानमन्त्री बनेका थिए । उनी २०४६ पछिका केही निर्वाचनमा होमिएका थिए ।
२०५१ को निर्वाचनमा पूर्वप्रधानमन्त्री कीर्तिनिधि काठमाडौं–३ बाट उम्मेदवार बनेका थिए । तर उनी चौथो बनेका थिए । त्यतिबेला सो क्षेत्रबाट एमालेका मनमोहन अधिकारी १५,६९२ पाएर विजयी भएका थिए । पराजित भएकाहरूमध्ये कांग्रेसका प्रकाशमान सिंहले ११,३७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयकुमार खड्काले ४,४५३ र राष्ट्रिय जनता परिषद्बाट उम्मेदवार बनेका कीर्तिनिधि विष्टले १,१८० मत पाएका थिए ।
विष्ट २०५६ मा पनि राष्ट्रिय जनता परिषद्बाट काठमाडौं–३ मा उम्मेदवार भएका थिए । त्यतिबेला पनि उनी पराजित भए । त्यतिबेला निर्वाचित हुने एमालेका ईश्वर पोखरेलले १५,९६५ मत पाएका थिए । कांग्रेस उम्मेदवार चिरञ्जीवीनिधि तिवारीले १४,५५२, मालेका कृष्णसुन्दर मल्लले २,८२९, नेमकिपाका आशालाल श्रेष्ठले ६४० र कीर्तिनिधि विष्टले ३६५ मत पाउँदै पराजित भएका थिए । २०५१ मा चौथो बनेका विष्ट २०५६ मा भने पाँचौँ बनेका थिए ।
लोकेन्द्रबहादुर चन्द
पञ्चायती व्यवस्थाको उत्तरार्धमा असार २०४० र चैत २०४६ मा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनेका थिए । उनी २०५३ र २०५९ मा पनि प्रधानमन्त्री बनेका थिए । बहुदलकालमा पनि उनी निर्वाचनमा होमिएका थिए । २०४८ को निर्वाचनमा बैतडीबाट उम्मेदवार बनेका थिए, पूर्वप्रधानमन्त्री चन्द । त्यतिबेला उनी कांग्रेस उम्मेदवार कृष्णकुमार जोशीसँग पराजित भएका थिए ।
जोशीले ११,१२८ मत पाउँदा राप्रपा (चन्द) का उम्मेदवार चन्दले ६,०६९ मत मात्रै पाउन सकेका थिए । २०५६ मा पनि चन्द बैतडीमै पराजित भएका थिए । बैतडी–१ मा त्यतिबेला कांग्रेसका नरेन्द्रबहादुर बम ११,३१३ मतसहित विजयी भएका थिए । एमालेका पृथ्वीराज अवस्तीले ९,९०१ र राप्रपा (चन्द) का लोकेन्द्रबहादुर चन्दले ७,५१७ मत ल्याएर पराजित भएका थिए ।
मरिचमान सिंह श्रेष्ठ
पञ्चायतकालको उत्तरार्धतिर असार २०४३ मा प्रधानमन्त्री भएका मरिचमान सिंह श्रेष्ठ २०४८ को आमनिर्वाचनमा सल्यान–२ बाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा कांग्रेसका छविप्रसाद देवकोटा १८,२६८ मत पाएर विजयी भएका थिए । त्यस्तै एमालेका ललितकुमार बस्नेतले ५,३६५ र स्वतन्त्र उम्मेदवार मरिचमान सिंह श्रेष्ठले ५,१९५ मत पाएर पराजित भएका थिए ।
कृष्णप्रसाद भट्टराई
२०४६ को जनआन्दोलन सफल भएपछि वैशाख २०४७ मा अन्तरिम सरकारको प्रधानमन्त्री बनेका थिए, कृष्णप्रसाद भट्टराई । आफ्नै नेतृत्वको सरकारले वैशाख २०४८ मा गराएको निर्वाचनमा भट्टराई नै पराजित भएका थिए । काठमाडौं–१ बाट उम्मेदवार भएका भट्टराई एमाले महासचिव मदनकुमार भण्डारीसँग पराजित भएका भएका थिए । भण्डारीले २७,३७२ मत पाउँदा भट्टराईले २६,६२१ मत मात्रै पाएका थिए ।
विजयी भएका भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि माघ २०५० मा काठमाडौं–१ मा उपनिर्वाचन भयो । त्यतिबेला भट्टराई पुनः प्रतिस्पर्धामा होमिए । एमालेबाट भने मदनपत्नी विद्या भण्डारी प्रतिस्पर्धामा थिइन् । भट्टराई फेरि पनि पराजित भए । भण्डारीले भट्टराईभन्दा १,८२९ बढी मत पाएकी थिइन् ।
पुष्पकमल दाहाल
साउन २०६५ मा प्रधानमन्त्री बनेका एनेकपा माओवादीका पुष्पकमल दाहाल २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० बाट पराजित भएका थिए । त्यहाँ विजयी भएका कांग्रेसका राजेन्द्रकुमार केसीले २०,३९२ मत पाएका थिए । पराजित हुनेहरूमध्ये एमालेका सुरेन्द्र मानन्धरले १३,६१९ र एनेकपा माओवादीका पुष्पकमल दाहालले १२,८५९ मत पाएका थिए । सिरहा–५ बाट पनि उम्मेदवार बनेका उनी त्यहाँबाट भने विजयी भएका थिए ।
माधवकुमार नेपाल
जेठ २०६६ मा प्रधानमन्त्री बनेका माधवकुमार नेपाल यस निर्वाचनमा रौतहट–१ बाट पराजित भएका छन् । सो क्षेत्रमा विजयी भएका रास्वपाका उम्मेदवार राजेशकुमार चौधरीले २८,९४६ मत पाएका छन् । त्यस्तै एमालेका अजयकुमार गुप्ताले १०,६९३,
कांग्रेसका अनिलकुमार झाले ८,५७४ र नेपाली कम्युनिस्ट पार्टीका माधवकुमार नेपालले ७,६६९ मत पाएका छन् ।
नेपाल २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पनि दुई निर्वाचन क्षेत्रहरू काठमाडौं–२ र रौतहट–६ बाट पराजित भएका थिए । तर त्यतिबेला उनी पूर्वप्रधानमन्त्रीको हैसियतमा थिएनन् । यद्यपि, पछि संविधानसभा सदस्य बन्दै उनी प्रधानमन्त्री बन्न सकेका थिए ।
झलनाथ खनाल
एमालेबाट माघ २०६७ मा प्रधानमन्त्री बनेका झलनाथ खनाल २०७० को दोस्रो संविधानसभा निर्वाचनमा इलाम-१ र सर्लाही-१ बाट उम्मेदवार बनेका थिए । उनी इलामबाट विजयी भए पनि सर्लाहीबाट भने पराजित भएका थिए । त्यतिबेला सर्लाही-१ बाट विजयी भएका एनेकपा माओवादीका शम्भुलाल श्रेष्ठले ९,४७६ मत पाएका थिए । पराजित भएका एमाले उम्मेदवार खनालले ८,७९१ मत पाएका थिए ।
खनाल २०७९ को निर्वाचनमा इलाम-१ बाट पराजित भएका थिए । यस निर्वाचनमा उनी नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका थिए । निर्वाचनमा एमालेका महेश बस्नेतले २५,७५३ मत पाउँदा पूर्वप्रधानमन्त्री खनालले २३,०८९ मत पाएका थिए ।
बाबुराम भट्टराई
भदौ २०६८ मा प्रधानमन्त्री निर्वाचित भएका बाबुराम भट्टराई २०७० को संविधानसभा निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा होमिएका थिए । गोरखा–१ बाट उनी विजयी भए । तर, रूपन्देही–४ बाट भने पराजित भए । रूपन्देही–४ मा एमालेका विष्णुप्रसाद पौडेल विजयी भएका थिए । उनले १९,५७७ मत पाएका थिए । त्यस्तै, कांग्रेसका सूर्यप्रसाद प्रधानले १३,६३२ र एनेकपा माओवादीका बाबुराम भट्टराईले ११,९३४ मत पाएका थिए ।
केपी शर्मा ओली
असोज २०७२, फागुन २०७४, वैशाख २०७८ र असार २०८१ गरी चार पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली यस पटकको निर्वाचनमा झापा–५ मा पराजित भएका छन् ।
अन्तिम मतपरिणाममा रास्वपाका बालेन्द्र शाहले ६८,३४८ मत पाउँदा पूर्वप्रधानमन्त्री ओलीले केवल १८,७३४ मत मात्रै पाएका छन् । हुन त ओली २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा झापा–७ बाट माओवादी उम्मेदवार विश्वदीप लिङ्देन लिम्बूसँग पराजित भएका थिए । तर त्यतिबेला उनीसँग पूर्वप्रधानमन्त्रीको हैसियत भने थिएन ।
