विशेष महाधिवेशनबाट पुराना नेता विस्थापित गरेर नेतृत्वमा आएका थापालाई निर्वाचन परिणामले ठुलो धक्का लागेको छ ।
काठमाडौँ — काठमाडौं : कांग्रेस सभापति गगन थापा जोखिमतिर धकेलिएका छन् । सर्लाही ४ मा थापा रास्वपाका उम्मेदवार अमरेशसिंह भन्दा ४ हजार ४ सय ३१ मतले पछाडि छन् । सिंहले ११ हजार ३ सय ८३ मत ल्याउंदा थापाले ६ हजार ९ सय ५२ मत ल्याएका छन् ।
तर, अहिले सम्म आधा मत पनि गणना भइसकेको छैन । यस निर्वाचन क्षेत्रमा १ लाख २१ हजार १२ मतदाता मध्ये ७७ हजार ९ सय ३१ मत खसेको थियो ।
विशेष महाधिवेशनबाट पुराना नेता विस्थापित गरेर नेतृत्वमा आएका थापालाई निर्वाचन परिणामले ठुलो धक्का लागेको छ ।
पार्टीको नीति र नेतृत्व बदलेपनि निर्वाचनमा कांग्रेसलाई मतदाताले विश्वास गरेको देखिएन । कांग्रेसले अहिले सम्म ५ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ भने १० निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।
आफ्नै नेतृत्वमा निर्वाचन हॉक्दा पनि कांग्रेसको लज्जास्पद पराजयबाट थापा रक्षात्मक स्थितिमा पुगेका छन् । निर्वाचनको मुखमा बिशेष महाधिवेशन गरेर नेतृत्व बदल्नुको औचित्व माथि पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले प्रश्न उठाउन थालेका छन् ।
उपसभापति विश्वप्रकाश शर्माले भने पूर्व सभापति पक्षधर नेताहरुले उठाएका प्रश्नहरुप्रति लक्षित गर्दै शुक्राबार नै एक भिडियो सन्देश जारी गरेका थिए । लामो समयदेखि सत्तामुखी चरित्र र आम नागरिकको अपेक्षा बमोजिम परिवर्तन हुन नखोज्नुको परिणाम यसपटक देखिएको प्रतिक्रिया उनले दिएका छन् ।
उनले विगतको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिका र त्यसलगत्तैको संसदीय निर्वाचनमो छोटो समयमा रास्वपाले प्राप्त गरेको संख्यालाई नेतृत्वले नजर अन्दाज गरेर सत्तामुखी मात्रै बन्न खोज्दा नागरिकमा निराशा बढाएको बताएका छन । त्यहि निराशाले जेनजी व्रिदोह भएको उनको ठम्याई छ ।
विशेष महाधिवेशनले नीति र नेतृत्व बदल्नसाथ थापालाई भावी प्रधानमन्त्रीको निर्णय गराएर कांग्रेस निर्वाचनमा होमिएको थियो ।
