राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालको कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिहरू अपांगता भएका छन्
काठमाडौँ — संविधानले सबै नागरिकलाई मतदानमा सहभागी हुने सुनिश्चित गरे पनि अपांगता भएका व्यक्तिहरूले भने निर्वाचनमा मतदान गर्न विभिन्न अवरोध भोग्ने गरेका छन् । मतदान केन्द्रसम्म पुग्ने कठिनाइ, भौतिक संरचनाको अभाव, मतपत्रको प्रयोगमा समस्या र आवश्यक सहयोगको कमीका कारण हरेकजसो चुनावमा उनीहरूले सास्ती भोग्नुपर्ने अवस्था छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि अपांगता भएकाहरूले मतदानका लागि ठूलो सास्ती व्यहोर्नुपर्यो । अपांगतामैत्री नभएका कारण कतिपयले त मतदानस्थलसम्म पुगे पनि भौतिक संरचनाका कारण मतदानबाटै वञ्चित हुनुपर्यो ।
ओखलढुंगाका ५२ वर्षीय रुद्रबहादुर थापा शारीरिक अपांगता भएका व्यक्ति हुन् । उनी सामान्य रूपमा हिँड्न र उठ्न सक्दैनन् । उनको हिँडाइ बच्चाले बामे सर्दै हिँडेजस्तो छ । दैनिक जीवनका धेरैजसो काममा उनी अरूको सहयोगमा निर्भर छन् । उनका दाजु हर्कबहादुर थापा नै उनका मुख्य सहयोगी हुन् ।
बिहीबार सम्पन्न निर्वाचनमा मतदान गर्न जाँदा उनले ठूलो सास्ती भोग्नुपरेको अनुभव सुनाए । जिल्लास्थित चिशंखुगढी गाउँपालिका–२ स्थित कालिका माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रसम्म उनलाई दुई जनाको सहयोगमा बोकेर लानुपरेको थियो । उनका दाजु हर्कका अनुसार घरबाट करिब ५० मिटरको दूरीमा रहेको गाडी चढ्ने स्थानसम्म उनलाई बोकेर नै लैजानुपरेको थियो ।
त्यसपछि मात्र उनी मतदान केन्द्रसम्म पुगे । तर, मतदान केन्द्रभित्र भौतिक संरचना अपांगतामैत्री नभएकाले उनलाई बोकेर नै मतदानस्थलसम्म लैजानुपर्यो । ‘भोट हाल्ने अधिकार सबैलाई छ भनिन्छ, तर अपांगता भएका व्यक्तिहरूका लागि सहज वातावरण छैन । मतदानस्थलसम्म साँघुरा बाटा र असहज प्रवेशद्वार हुँदा बोकेर बुथसम्म पुर्याउन पनि समस्या हुन्छ, उनले भने । यसअघि पनि मतदान गर्दा यस्तै समस्या भोगेको उनले सुनाए । गाडी नपुगेको समयमा डोकोमा बोकेर आफूलाई मतदानस्थलसम्म पुर्याइएको उनले बताए ।
राष्ट्रिय अपांगता महासंघ कोशी प्रदेश सचिव गोपालमान थापाको अनुभव पनि रुद्रबहादुरको भन्दा फरक छैन । गोपालमानले पनि चिशंखुगढी गाउँपालिका–२ स्थित कालिका माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमै मतदान गरे ।
उनका अनुसार सामान्य अवस्थामा मतदान केन्द्रसम्म पुग्न उनलाई करिब एक घण्टा लाग्छ । निर्वाचनका दिन सवारीसाधन सञ्चालनमा प्रतिबन्ध हुने भएकाले अपांगता भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म ल्याउने र लैजाने व्यवस्था दलीय सहमतिमार्फत गरिएको थियो ।
त्यसले केही हदसम्म सहज भएको उनले बताए । तर मतदान केन्द्रको भौतिक संरचना भने अझै अपांगतामैत्री नभएको उनको गुनासो छ । कतिपय स्थानमा भर्याङ, उचाइ र साँघुरा बाटा भएकाले अपांगता भएका व्यक्तिहरूलाई सहज रूपमा आवतजावत गर्न कठिन हुने उनले बताए ।
उनले भने, ‘मतदान केन्दहरू अझै पनि अपांगतामैत्री देखिँदैन, ह्विलचेयर प्रयोग गर्ने साथीहरूका लागि त झन् समस्या हुन्छ,’, उनले भने, ‘मतपेटिका पनि प्रायः अग्लो स्थानमा राखिने भएकाले होचा कद भएका वा शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई समस्या हुने गरेको छ ।’
गोपालमानका अनुसार दृष्टिविहीन मतदाताहरूका लागि पनि मतदान प्रक्रिया सहज छैन । मतपत्र ब्रेललिपिमा उपलब्ध नहुँदा दृष्टिविहीन व्यक्तिहरूलाई मतदान गर्दा अरूको सहयोग लिनुपर्ने बाध्यता रहेको उनले बताए । यदि मतपत्र ब्रेललिपिमा वा कुनै इलेक्ट्रोनिक प्रणालीमार्फत उपलब्ध गराइए दृष्टिविहीन मतदाताहरूलाई धेरै सहज हुने उनको धारणा छ ।
कञ्चनपुरका दृष्टिविहीन हरि नेपालीले पनि यस पटकको निर्वाचनमा मताधिकार प्रयोग गरेका छन् । उनले कञ्चनपुर क्षेत्र–२ अन्तर्गतको मतदान केन्द्रबाट मतदान गरे । मतदान गर्न उनी छिमेकीको सहयोगमा गाडी चढेर मतदानस्थलसम्म पुगेका थिए ।
मतदान प्रक्रिया पूरा गर्न भने उनले श्रीमतीको सहयोग लिनुपरेको थियो । हरिका अनुसार उनी हरेक निर्वाचनमा श्रीमतीकै सहयोगमा मतदान गर्दै आएका छन् । दृष्टिविहीन भएकाले आफैंले मतदान गर्न नसक्ने हुँदा विश्वास गर्ने व्यक्तिको सहयोग लिनुपर्ने उनलाई बाध्यता छ । उनले भने, ‘आफ्नो भोट आफैँ हाल्न पाए हुन्थ्यो नि दृष्टिविहीनका लागि आफ्नै विवेकले भोट हाल्न सक्ने व्यवस्था छैन, आफूले हाल्नु र अरूले हालिदिनुमा धेरै फरक पर्छ नि ।’
मतदान गोप्य हुने व्यवस्था भए पनि दृष्टिविहीन व्यक्तिहरूका लागि त्यो पूर्ण रूपमा लागू हुन नसकेको उनको अनुभव छ । अरू व्यक्तिको सहयोग लिनुपर्दा मत गोप्य रहन्छ कि रहँदैन भन्ने चिन्ता पनि हुने गरेको उनले बताए । हरि प्रविधि प्रयोग गर्न सक्ने व्यक्ति हुन् ।
उनी मोबाइल फोन चलाउन सक्छन् र सामाजिक सञ्जालसमेत प्रयोग गर्छन् । उनले चुनावी गतिविधि र उम्मेदवारलाई नजिकबाट नियालिरहेका हुन्छन् । मतदान प्रक्रिया भने अझै आफूजस्ता दृष्टिविहीन व्यक्तिहरूका लागि सहज नभएको उनको गुनासो छ । मतपत्र ब्रेललिपिमा नभएको वा दृष्टिविहीनमैत्री प्रविधि उपलब्ध नभएकाले आफूले गोप्य राख्दै मतदान गर्न सक्दैनन् ।
कालीकोटका अर्का शारीरिक अपांगता भएका मनराज कठायतले पनि साथीहरूको सहयोगमा मतदान गरेका छन् । उनी कालीकोट जिल्लाको महाबै गाउँपालिकास्थित श्री कालिका उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेका थिए ।
बैसाखी टेकेर हिँड्ने उनी भौगोलिक बनावटका कारण मतदान केन्द्रसम्म पुग्न समय लागेको बताए । पहाडी भूगोल र बाटोको अवस्थाका कारण मतदानस्थलसम्म पुग्न केही कठिनाइ भए पनि साथीहरूको सहयोगले आफूले मतदान गर्न सकेको उनले बताए । कठायतका अनुसार ग्रामीण क्षेत्रमा बस्ने शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि मतदान केन्द्रसम्म पुग्नु नै सबैभन्दा ठूलो चुनौती हुने गरेको छ ।
उनले भने, ‘बाटो, दूरी र यातायातको सीमितताका कारण मतदान गर्न जाने प्रक्रिया नै धेरैका लागि कठिन हुन्छ । यसका लागि सहजीकरण कहिल्यै पनि हुन सकेको छैन साथीहरूको सहयोग भए मात्रै आफूजस्ता व्यक्तिहरूले मतदान गर्न सक्ने अवस्था छ ।’
राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालको कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिहरू अपांगता भएका छन् । तीमध्ये ५४.२ प्रतिशत पुरुष र ४५.८ प्रतिशत महिला छन् । जनगणनाले १२ प्रकारका अपांगतालाई समेटेको छ ।
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ११ ले अपांगता भएका व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बन्ने र कसैको सहायता लिएर वा नलिईकन स्वतन्त्रतापूर्वक, भयरहित वातावरणमा मत खसाल्ने तथा राजनीतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गरेको छ ।
निर्वाचन आयोगले हरेक निर्वाचनमा मतदान केन्द्रहरूलाई महिला, ज्येष्ठ नागरिक तथा अपांगतामैत्री बनाइएको दाबी गरे पनि व्यवहारमा भने त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको अपांगता अधिकारकर्मीहरूको भनाइ छ ।
नेपाल अपांग महिला महासंघकी महासचिव देवकुमारी पराजुलीले स्याङ्जा जिल्ला वालिङ नगरपालिका–१२ स्थित जनप्रिय माध्यमिक बिद्यालयबाट मतदान गरिन् ।
ह्विलचेयर, बैसाखी टेक्न नपर्ने उनका लागि मतदान केन्द्र सहज थियो । उक्त मतदान केन्द्रमा ३ जना अपांगता भएका मतदाता पुगे पनि दुई जना भने आउन नसकेको उनले बताइन् । ‘शारीरिक अपांगता भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म ल्याउने अवस्था नभएकाले धेरै अपांगता भएका व्यक्तिहरू मतदानबाट वञ्चित हुनुपर्ने अवस्था छ ।’
पराजुलीका अनुसार निर्वाचन आयोगले अपांगता भएका व्यक्तिहरूलाई सहज रूपमा निर्वाचनमा सहभागी गराउने प्रतिबद्धता जनाए पनि संरचनागत पक्षमा पर्याप्त ध्यान दिन नसकेको बताइन् ।
उनले भनिन्, ‘उपयुक्त भौतिक संरचनाको अभावका कारण धेरै अपांगता भएका व्यक्तिहरू मतदानबाट वञ्चित हुनुपरेको अवस्था छ मतदानस्थलसम्म पुग्न नसक्ने धेरै अपांगता भएका व्यक्तिहरू मतदानबाट वञ्चित छन्, उनीहरूको मतदानको अधिकार प्रयोग गर्न सकिएको छैन ।’
उनका अनुसार अपांगतामैत्री संरचना, सहज पहुँच भएका मतदान केन्द्र दृष्टिविहीनमैत्री मतपत्र तथा सहायक प्रविधिको व्यवस्था भए मात्रै अपांगता भएका व्यक्तिहरूको वास्तविक सहभागिता सुनिश्चित नहुने बताइन् ।
साहित्यकार झमकले मतदान गर्न पाइनन्
धनकुटा– साहित्यकार झमक घिमिरेले यस पटक मतदान गर्न पाइनन् । केही वर्षदेखि स्वास्थ्य समस्या जटिल बन्दै गएकाले ४५ वर्षीया उनी चिकित्सकको निगरानीमा धनकुटा–६ कचिंडेस्थित निवासमा आराम गरिरहेकी छन् ।
घरबाट सवारीसाधनमा १० मिनेटको दूरीमा रहेको रामप्रसाद पोखरेल आँखा अस्पतालस्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रमा समेत उनी पुग्न सकिनन् । यसअघिका चुनावमा झमकले देब्रे खुट्टाको औंलाले मतपत्रमा आफैं स्वस्तिक छाप लगाउने गर्थिन् । यस पटकको निर्वाचनमा आमा आशाले मात्र अटोबाट मतदान केन्द्रसम्म पुगेर अपराह्न ३ बजे मतदान गरिन् ।
उनको साथमा झमकले मतदान गर्न जाने तयारीका साथ सवारीसाधन मगाए पनि सम्भव नभएको बहिनी मौसमीले बताइन् । मदन पुरस्कार प्राप्त पुस्तक ‘जीवन काँडा कि फूल’ की लेखक झमकका डेढ दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् ।
