हिंसारहित निर्वाचन

देशभर करिब ६० प्रतिशत मत खस्दा कुनै केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नदेखिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाए । ‘सबै केन्द्रमा शान्तिपूर्ण हिसाबले चुनाव भयो,’ उनले भने ।

फाल्गुन २२, २०८२

गौरव पोखरेल

Violence-free elections

काठमाडौँ — अनेक संशयबीच बिहीबार प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

जेन–जी आन्दोलनका बेला लुटिएका कतिपय हतियार र कैदीबन्दी अझै बाहिरै रहनु, प्रहरीको कमजोर मनोबललगायत कारण चुनाव शान्तिपूर्ण हुनेमा शंका गरिएको थियो । तर, बिहीबार देशभर छिटपुटबाहेक तनावका कुनै घटना भएनन् । कहीँकतै मतदान स्थगन हुने अवस्थासमेत बनेन ।

प्रधानमन्त्री सुशीला कार्कीको अभिलाषाबमोजिम एक थोपा पनि रगत नबगी निर्वाचन भएको गृहमन्त्री ओमप्रकाश अर्याल बताउँछन् । ‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको छ,’ उनले भने, ‘यो निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवं नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।’

देशभर करिब ६० प्रतिशत मत खस्दा कुनै केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नदेखिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाए । ‘सबै केन्द्रमा शान्तिपूर्ण हिसाबले चुनाव भयो,’ उनले भने ।

जेन–जी आन्दोलनपछि फरक परिस्थितिमा भएको चुनावमा विगतका निर्वाचनमा जति पनि घटना नभएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेको भनाइ छ । ‘चुनावमा अलिअलि ठेलाठेल हुनु सामान्य हो । तर विगतमा जस्तो निर्वाचन नै स्थगन हुने किसिमका गतिविधि भएनन्,’ उनले भने, ‘यो राम्रो तयारी र संयुक्त समन्वयको परिणाम हो ।’

तनावको परिस्थिति सिर्जना हुन खोजेका ठाउँमा तत्काल सबै संयन्त्रको समन्वयमा निस्तेज पार्ने काम गरिएको काफ्लेले जनाए । निर्वाचनका बेला काठमाडौं उपत्यकाका २ सहित १५ ठाउँमा शंकास्पद वस्तु फेला परेका थिए । तर नेपाली सेनाको बम डिस्पोजल टोलीले तिनलाई निष्क्रिय पार्‍यो ।

कुनै किसिमका अप्रिय घटना नहोऊन् भनेर सेनाले देशभर ८ सय बम डिस्पोजल टोली परिचालन गरेको थियो ।

‘कुनै पनि खबर प्राप्त हुनासाथ तुरुन्त गएर सुरक्षित ढंगले डिस्पोजसँगै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने हिसाबले सेना तैनाथ गरिएको थियो,’ सैनिक प्रवक्ता राजाराम बस्नेतले भने, ‘सेनाले डिस्पोज गरेकामध्ये प्रायः तर्साउनलाई राखिएका बम जस्तो देखिने वस्तु मात्र थिए ।’ निर्वाचनका दिन सर्लाही–४ मा सामान्य विवाद भएको थियो, यद्यपि केहीबेरमै मतदान पुनः सुरु भयो । बलरा–४ स्थित श्री प्राथमिक विद्यालयमा पार्टीका प्रतिनिधिबीच विवाद भएपछि स्थितिलाई साम्य पार्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र प्रहरी प्रमुख योगेन्द्रकुमार खड्का आफैं त्यहाँ बस्नुपरेको थियो ।

बिहीबार बेलुकीसम्ममा हरेकजसो चुनावमा विस्फोट वा राजनीतिक झडपका घटना हुने मधेश प्रदेशमा अरू कुनै अप्रिय घटना भएनन् । ‘तराईमा चुनाव हुँदा दुई–चार ठाउँमा गोली चल्नु सामान्य हुन्थ्यो,’ नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) पीताम्बर अधिकारीले भने, ‘तर यसपालि निर्वाचनको पूर्वसन्ध्यामा होली हुँदासमेत त्यस्तो घटना भएन ।’

प्रदेश कमान्ड पोस्ट बनाएर सबै सुरक्षा संयन्त्रको संयुक्त परिचालन र समन्वयका कारण मधेश शान्त भएको प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाले बताए । ‘निर्वाचनलाई बिथोल्ने किसिमले गतिविधि गर्न सक्ने समूहलाई पहिल्यै निगरानी गरेर हलचल गर्न नसक्ने अवस्था बनाइएको थियो,’ उनले भने, ‘चुनावका बेलासमेत कुनै गतिविधि हुन सक्ने संकेत देखिनेबित्तिकै कडा कदम चाल्ने तयारी थियो । सशक्त तयारीकै कारण कुनै घटना हुन पाएन ।’ लाठीचार्जसमेत नभई चुनाव भएको यो एउटा विशिष्ट निर्वाचन भएको थपलियाको भनाइ छ ।

विगतका निर्वाचनमा बुथ कब्जा र राजनीतिक झडपका चर्चा हुँदै आएको दोलखामा समेत गम्भीर घटना भएनन् । दोलखामा २०४८ सालयताको चुनावमा सधैं हिंसात्मक घटना हुँदै आएको थियो । २०४८ देखि २०५६ सम्म कांग्रेस, एमाले नै त्यस्ता गतिविधिमा संलग्न देखिएका थिए भने २०६४ सालमा माओवादीसमेत त्यसमा जोडियो । त्यही संवेदनशीलतालाई ख्याल गरेर प्रहरीले यसपालि दोलखामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरलाई खटाएको थियो ।

तामाकोशी गाउँपालिकाको मालु मतदानस्थलमा मतपत्रको ठेली खोस्ने प्रयास त भयो । तर प्रहरीले एक राउन्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लियो । केहीबेरपछि फेरि राजनीतिक सहमति गरेर मतदान सुरु भयो ।

उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको गोली आकस्मिक रूपमा पड्किएको थियो । त्यस क्रममा कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा तीन मत खसेको मतपेटिकामा सामान्य क्षति पुगेको थियो । मतपेटिका परिवर्तन गरेर फेरि मतदान सुरु गरिएको थियो ।

यसपालि कुनै अप्रिय घटना नभई निर्वाचन सम्पन्न हुनुको कारण मतदातामा देखिएको उत्साह पनि हुन सक्ने सुरक्षा विश्लेषक बताउँछन् । ‘जेन–जी आन्दोलनपछि परिवर्तन हुनुपर्छ भन्ने मत पनि आमजनतामा देखिएको थियो । त्यस्तोमा मतदाता आफैं पनि शान्तिपूर्वक मत हाल्ने काममा सहभागी भए,’ पूर्वडीआईजी अधिकारी भन्छन् ।

मतगणनालाई समेत सुरक्षित बनाउन विशेष सतर्कता अपनाइएको प्रहरी अधिकृत बताउँछन् । नेपाली सेनाले चुनावपूर्वको अवस्थामा सामाजिक सञ्जाल निगरानीमा सहयोग गर्नेबाहेक मतपत्र छपाइको सुरक्षा, ढुवानी र महत्त्वपूर्ण संरचना सुरक्षामा काम गरेको थियो । सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरीपछि तेस्रो घेरामा बसेर काम गरेको थियो । निर्वाचन अधिकृत, स्थानीय प्रशासन र अरू सुरक्षा निकायको समन्वयमा पनि खटिएको प्रवक्ता बस्नेतको भनाइ छ ।

‘विभिन्न बेस बनाएर संयुक्त गस्ती गरियो, निर्वाचनपछि पुनः मतपेटिका ढुवानी, मतगणनास्थलको सुरक्षाको काममा सेनाले सघाइरहेको छ,’ प्रवक्ता बस्नेतले भने, ‘सेनाबाट मात्र चुनावमा ७९ हजार सुरक्षाकर्मी खटिएका थिए ।’ अधिकृतहरूका अनुसार कुनै अप्रिय गतिविधि नहोस् भनेर १ सय ६५ निर्वाचन क्षेत्रमै सेना र सशस्त्रका एक–एक अस्थायी बेस राखिएको थियो । सेनालाई सोही बेसमार्फत लामो दूरी, मध्यम दूरी र छोटो दूरी गरी तीन भागमा पैदल गस्ती, स्ट्राइकिङ फोर्स, मोबाइल गस्तीलगायतका लागि खटाइएको थियो ।

निर्वाचन आयोगले देशभर ११ हजार ९ सय १ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकेको थियो । तीमध्ये ४ हजार १ सय १४ मतदानस्थल अति संवेदनशील सूचीमा थिए । देशभर ४ हजार ४ सय ४२ संवेदनशील र २ हजार ८ सय ४५ मतदानस्थललाई सामान्य सुरक्षा चुनौती भएको स्थलका रूपमा वर्गीकरण गरिएको थियो । संवेदनशीलताका आधारमा सुरक्षाकर्मीलाई खटाइएको थियो ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully